Techie IT
Samayabaddha
आईतबार, १ चैत्र, २०८२

मध्यपूर्व युद्धको १५औँ दिन : आक्रमण तीव्र, तेलको मूल्य फेरि १०० डलर माथि


काठमाडौं । मध्यपूर्व क्षेत्रमा जारी युद्ध १५औँ दिनमा प्रवेश गर्दा आक्रमण झन् तीव्र बनेको छ । इजरायल, इरान तथा क्षेत्रीय सशस्त्र समूहबीच मिसाइल, ड्रोन र रकेट आक्रमण बढ्दै जाँदा मानवीय तथा आर्थिक सङ्कट गहिरिँदै गएको छ ।

दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जना स्वास्थ्यकर्मीको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । लेबनानमा हालसम्म युद्धका कारण ७ सय ७३ भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

यसबीच हिजबुल्लाह समूहले इजरायलको उत्तरी क्षेत्रमा मानवरहित विमान तथा रकेट आक्रमण गरेको दाबी गरेको छ । त्यस्तै इरानले पनि इजरायलमाथि क्षेप्यास्त्र प्रहारलाई निरन्तरता दिएको बताइएको छ ।

खाडी क्षेत्रमा पनि तनाव बढेको छ । बहराइनले युद्ध सुरु भएयता १ सय २४ वटा क्षेप्यास्त्र र २ सय ३ वटा मानवरहित विमान अवरोध गरेको जनाएको छ । कतार, साउदी अरब, कुवेत र संयुक्त अरब इमिरेट्सले पनि आफ्ना क्षेत्रमा भएका आक्रमण विफल पारिएको बताएका छन् ।

यसैबीच अमेरिकी सेनाले इरानको रणनीतिक खार्ग टापुमा आक्रमण गरेपछि विश्व ऊर्जा बजारमा ठूलो असर पर्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि प्रतिव्यारेल १०० डलरभन्दा माथि पुगेको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दक्षिणी लेबनानका पीडितका लागि झण्डै ३० करोड डलर बराबरको आपतकालीन सहायता कार्यक्रम घोषणा गर्दै युद्धरत पक्षसँग तत्काल युद्धविराम गर्न आग्रह गरेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय


प्रतिक्रिया


ताजा अपडेट