Techie IT
Samayabaddha
सोमबार, ४ जेठ, २०८३

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो, प्रति ब्यारल ९२ डलरमा ब्रेन्ट


काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ। विश्व बजारमा ब्रेन्ट क्रुडको मूल्य करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलरमा झरेको छ। त्यसैगरी अमेरिकामा कारोबार हुने डब्लुटिआई क्रुडको मूल्य पनि करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलर पुगेको छ।

विश्लेषकहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै अन्त्य हुन सक्ने संकेत गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको हो। ट्रम्पले मध्यपूर्वको बढ्दो तनावबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि कुराकानी गरेको जनाइएको छ।

यसैबीच ट्रम्पले इरानलाई होर्मुज स्ट्रेटमा तेल ढुवानी अवरुद्ध नगर्न चेतावनी दिएका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मार्फत उनले इरानले उक्त समुद्री मार्गमा अवरोध सिर्जना गरे अमेरिकाले अहिलेसम्मको आक्रमणभन्दा २० गुणा शक्तिशाली जवाफी कदम चाल्ने चेतावनी दिएका हुन्।

बीबीसीका अनुसार विश्वभर ढुवानी हुने कुल तेलमध्ये करिब २० प्रतिशत तेल यही समुद्री मार्ग हुँदै ओसारपसार हुने गर्दछ। इजरायल–इरान बीचको तनावका कारण केही समय उक्त क्षेत्रमा समुद्री आवागमन प्रभावित हुँदा विश्व बजारमा तेलको मूल्यमा तीव्र उतारचढाव देखिँदै आएको छ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय

प्रतिक्रिया


ताजा अपडेट