Techie IT
Samayabaddha
मंगलबार, ५ फागुन, २०८२

क्रान्तिकारी र त्यागी महिला साहित्यकारको प्रतीक योगमाया


निरंकुश–जहानियाँ राणाशासनको अन्त्यसहित समाजमा समान व्यवस्था लागू गर्न कैयौं नेपाली वीर योद्धाहरूले आफ्नो जीवनको आहुति दिए । उनीहरूलाई अहिले पनि हामी ‘सहिद’ का नाममा सम्मान गर्छाैं, पूज्छौं । त्यही पंक्तिमा रहेको एउटा अग्रणी व्यक्तित्वको नाम हो– योगमाया न्यौपाने । उनले पनि राणाशासनको विरोध मात्र गरिनन्, अशिक्षित नेपाली समाजलाई संगठित गरी अन्याय–अत्याचार, दमन–शोषणविरुद्ध मार्न र मर्नसमेत तयार भइन् । तर, विडम्वना यस्ती सामाजिक अभियन्ता, आन्दोलनकर्ता तथा वीरंगनाको नाम इतिहासमा रहेपनि राज्यबाट भने उपेक्षा गरिएको छ, ओझेलमा पारिएको छ, अझै उचित सम्मान दिइएको छैन ।

योगमायाको जन्म विक्रम सम्वत् १९२४ मा पूर्वी नेपालको भोजपुर जिल्लाको नेपालेडाँडा, सिम्ले (हालको षडानन्द नगरपालिका–१) मा श्रीलाल न्यौपाने र चन्द्रकलाको सुपुत्रीको रुपमा भएको हो । समाजमा विद्यमान विकृतिहरू चिर्नमा नै उनको जिन्दगी बित्यो । त्यति बेलाको त्यो सत्य घटना आज दन्त्यकथा झैँ लाग्छ । समाजको त्यही कठोर शासनप्रति विद्रोहको चरम स्वर उराल्ने क्रममा योगमायाले वि. सं. १९९८ असार २२ गते शनिबारका दिन आफ्ना अनन्य भक्तहरूसमेतलाई समेटेर जलसमाधि लिइन् । त्यो घटनाको छाप अझै पनि पूर्वी नेपाल र राणाकालिन आन्दोलनको इतिहासमा आलै छ ।

योगमाया नेपाली साहित्यमा पनि क्रान्तिकारी नारीहरूकी प्रतीक थिइन् । बूढी औँठाको ल्याप्चेका भरमा आफ्नो हस्ताक्षर दिने उनी जे देख्यो त्यही फरर भन्न सक्ने, जे भेट्यो त्यही विषयमा कविताबाट बोल्न सक्ने र जे सुन्यो त्यही विषयलाई कविताबाटै बिट मार्न सक्ने नै आशु कवयित्री थिइन् । योगमाया त्यस्तो समयमा जन्मिएकी थिइन् जुन बेला नारीले रजस्वला हुनुअघि नै वैवाहिक जीवनमा बाँधिनु पर्दथ्यो । त्यसैअनुरूप उनलाई पाँच वर्षकै उमेरमा बुबा–आमाले कन्यादान दिएका थिए । योगमायाको विवाह सात वर्षीय रामहरि कोइरालासँग भएको थियो । तर, अफसोच विवाह भएको दुई वर्षपछि रामहरिको निधन भयो । सात वर्षीया योगमायाका लागि रामहरिको मरण कुनै पीडादायक विषयसूची पनि बन्न सकेन । कारण उनको उमेर काँचो थियो, र त शोकबोध नै भएन । त्यसैले उनी फेरि आफ्नै बालक्रीडामा मिसिन थालिन् ।

दिनहरू बित्दै जाँदा योगमायामाथि अनेक सामाजिक कुसंस्कारका वज्र चौतर्फी ठोक्किन थाले । यतिसम्म कि समाजबाट प्रहार भएका अपमान, घृणा र तिरस्कारका पीडाले उनको शरीर भरिन पुग्यो । अलच्छिनी र पोइटोकुइको लाञ्छनाले शरीर भारी भइसक्दा उनी १७ वर्षमा टेकिन् । अति भएपछि गाउँकै प्रजापति डोटेल जैसीसँग भागेर उनी भारतको आसाम पुगिन् । यी दम्पतीबाट एउटी छोरी नैनकलाको जन्म भयो । केही वर्षपछि योगमायाले आफ्ना गाउँमा पुराण लाग्ने खवर सुनिन् । त्यसपछि डोटेल दम्पती छोरी च्यापेर पुराणस्थल पुगे । जनकलाल शर्माको ‘जोसमनी सन्त परम्परा र नेपाली साहित्य’ नामक ग्रन्थमा उल्लेख भएअनुसार पुराणको प्रसंग थियो– ‘परस्त्री वा परपुरुष गमन गर्नाले भविष्यमा रौरवीय नर्कको यातना भोग्नुपर्छ ।’ यत्तिकैमा पुराणको अर्को प्रसंग आयो– ‘यदि अज्ञानवश कसैले यस्तो अपराध गरेको रहेछ र ज्ञान प्राप्त भएपछि त्यो अपराध त्याग्यो भने त्यसको प्रायश्चित्त हुन्छ ।’ योगमायाले मन दिएर नै पुराणका सबै पाठ सुनिन् । पुराणको कथाले योगमायाको मन दस चिरा भयो । त्यसपछि उनले आफ्ना पति प्रजापति डोटेलसँग यसबारे छलफल गरिन् । अनि उनीहरूले एक आपसमा छुट्टिएर अलग–अलग बस्ने निर्णय लिए । त्यसबेला छोरी नैनकलाचाहिँ योगमायासँगै बस्ने सहमति भयो ।

उसो त योगमाया आफ्नो हृदयान्तरको विस्फोट पोख्न कहिल्यै छाडिनन् । त्यसैले उनमा कविता प्रस्फुटन हुन थाल्यो । नैनकलाले पनि आमाका शब्द एकएक गमेर आफ्नो मनमस्तिष्कको कम्प्युटरमा राख्न थालिन् । वास्तवमा योगमाया जति कविता वाचन गर्थिन्, नैनकला त्यति नै कण्ठस्थ पार्थिन् । यद्यपि योगमाया र नैनकला दुवै निरक्षर थिए । यस्तयस्तैमा एकपटक योगमाया स्वर्गद्वारी पुगिन् । त्यसताका स्वर्गद्वारीका चैतन्य महाप्रभु अभयानन्द द्वितीयले त्यहाँ प्रसिद्धि पाइरहेका रहेछन् । योगमाया पनि महाप्रभुका कृत्यबाट सुरुमा नै आल्हादित बनिन् । त्यही परिणतिले उनी महाप्रभुका साथ सत्संगमा समर्पित भइन् । योगमायाको आचरणले महाप्रभु पनि प्रसन्न बने । त्यसैले योगमाया चैतन्य महाप्रभुबाट दीक्षित पनि भइन् । अनेक साधना गरेर योगमायाले वर्षौं वर्ष गुफामा नै बसेर साधना गरिन् । जाडो दिनमा आधा महिनासम्म अरुण नदीमा कम्मरसम्म डुबाएर साधनारत भइन् उनी । गर्मी महिनामा धुनी जगाएर आगाको रापसँगै आफ्नो साधना प्रधानकर्म पनि गरिन् । उनलाई न जाडो हुन्थ्यो न त गर्मी नै । वास्तवमा एउटा विशेष ईश्वरीय शक्ति नै प्राप्त गरेकी थिइन् योगमायाले ।

यसरी योगमाया एकातिर धार्मिक नसामा डुबेकी थिइन् भने अर्कातिर राणा शासनले जनमनमा आतंकित पारेको सामाजिक स्थितिबाट पनि फुत्कन सकिनन् । सतीप्रथा हटाइयोस, जातभातको रीतिरिवाज हटाइयोस, जनताले न्याय निसाफ पाऊन् र शोषणरहित समाजको सिर्जना होस् भन्नेजस्ता माग राख्दै उनी सामाजिक परिर्वनका लागि साँस्कृतिक आन्दोलनको विगुल फुक्न थाल्लिन् । यही क्रममा न्याय माग गर्दै पैदल हिँडेर काठमाडौंसम्म आइन् । त्यतिबेला श्री ३ जुद्धशमशेरले योगमायाका मागहरू पूरा गर्ने वचन पनि दिए । तर, क्रमशः श्री ३ आनाकानीमा नै रुमल्लिन थाले योगमायाको समय–सान्र्दभिक जायज सामाजिक मागका कारण श्री ३ को मन नै धमिलिँदै थियो । त्यसैले न्याय दिने देखावटी वचन दिई अनेक प्रपञ्च रचेर उनलाई दण्ड दिने अभिप्रायले विभिन्न कदम चाल्न थालियो । तर, श्री ३ हार खाए । र, योगमायाको जित भयो । त्यतिबेला योगमायाले जुद्धशमशेरको बेलाका दरबारिया विद्वानहरूसँगको शास्त्रार्थमा विजय हासिल गरेकी थिइन् । स्वर्गद्वारीका चैतन्य महाप्रभुको शिक्षा, दीक्षा र ज्ञान योगमायाको मन, मस्तिष्क र विवेकको ढुकुटीमा शक्तिको स्वरूप भएर बसेको थियो । त्यसैले उनलाई हराउने पण्डितहरू बिरलै पाइन्थे । त्यसबेला उनको बैद्धिक शक्ति देखेर जुद्धशमशेर तीन छक्कै परेका थिए ।

त्यसो त योगमाया काठमाडौंबाट भोजपुर दिङ्लाको मझुवा बेंसीस्थित आफ्ना आश्रममा फर्केपछि त झन् विद्रोही भइन् । त्यही विद्रोहको परिणाम उनी कविता बोल्दै जान्थिन्, छोरी नैनकला आमाका ती शब्द कण्ठ पार्दथिन् । दिङ्ला पुगेपछि योगमाया चैतन्य महाप्रभुको कर्तृत्व र व्यक्तित्वको प्रचारमा लागिन् । साथै दिङ्लामा चैतन्य महाप्रभु अभयानन्दले गरे झैँ विशाल यज्ञ गर्न जुटिन् उनी । यसका साथसाथै कठिन योगसाधनामा लागिन् र धाराप्रवाह प्रवचन तथा कविता वाचन गर्न थालिन् । परिणाम त १९९७ सालमा भोजपुरको दिङ्लामा ठूलो यज्ञको आयोजना गरिएको थियो । त्यहाँ श्रद्धालुहरूको ठूलो भीड लागेको थियो । यज्ञ पनि सदाको भन्दा भिन्न थियो । योगमायाले त्यहाँ उपस्थित सबै चेलाचेलीहरूलाई भनिन्– ‘अब भक्तहरूले बाँच्ने युग छैन । अतः यसै यज्ञको समाप्तिका दिन पूर्णाहुतिका रूपमा यज्ञकुण्डमा प्रवेश गरेर अग्नि समाधि लिनुपर्छ ।’ योगमायाको घोषणा अनुसार त्यसै बेला २ सय ४० जना उनका भक्तहरूले यज्ञकुण्डमा हामफाली प्राण त्याग्ने निर्णय गरे । यज्ञकुण्डमा ज्यान अर्पण गर्न जुर्मुराएका योगमायाका अनुयायीका चर्चाले भोजपुर हल्लियो । त्यो खबर धनकुटामा रहेका राणाका कारिन्दा माधवशमशेरका कानमा पनि पुग्यो । परिणामस्वरूप राणाका निर्देशनमा सेनाले त्यो यज्ञकुण्ड आफ्नो नियन्त्रणमा लियो । साथै योगमायाका हातगोडामा नेल ठोकियो । अनि योगमायालगायत उनका भक्त र अनुयायीहरूलाई सरासर जेल चलान गरियो । महिला जति ३ महिना जेल बसे भने पुरुषहरू चाहिँ साढे दुई वर्षसम्म कैदी भए । त्यस काण्डले पण्डित प्रेमनारायण पनि अठार महिना जेल कोचिए ।

यस अर्थमा राणाका सिपाहीको बन्देजका कारण योगमाया यज्ञकुण्डमा हाम फाल्न पाउनुभएन । त्यसपछि आफ्ना भक्तहरूलाई पछि लगाएर उनी अरुण नदी पुगिन् । र, अरुण किनाराबाहिर मझुवाबेसीमा एक कुटी बाँधेर बस्न थालिन् । एउटी भाइबुहारी गंगा न्यौपानेचाहिँ उनको  पक्का भक्त थिइन् । गंगा प्रेमनारायण (योगमायाका भक्त) कै दिदी थिइन् । गंगा पनि योगमायासँगै बस्थिन् । अरुण नदीको किनारामा उभिएर फेरि योगमायाले भनिन्– ‘हामीलाई अग्नि प्रवेशमा सरकारले बाधा गर्यो । तर, आजको दिन अग्निको अभावमा जल समाधि लिनु पनि उत्तिकै लाभदायी हुनेछ । अतः इच्छा हुनेले मेरो अनुकरण गर्नू ।’ त्यसपछि योगमाया उर्लंदो अरुणको भेलमा हाम फालिन् । अनि उनका अनुयायीहरू पनि क्रमशः जल समाधिमा सहभागी हुँदै गए । हुँदाहुँदै जलसमाधि लिने नारीपुरुषको संख्या ६८ पुगिसकेको थियो । त्यसपछि त्यहाँ कतिले हाम्फाले र कति घर फर्के ? त्यसको एकिन तथ्यांक अहिलेसम्म पाइएको छैन ।

हुन पनि योगमायाको धार्मिक कार्यशैली नै आकर्षक थियो । उनी धुनी बालेर, रुद्राक्षको माला लगाएर, बिगुतको तीन धर्के टीका लगाएर र झाँक्रो फिजाएर आफ्नो आसनमा बस्थिन् । साथै उनको छेउमा ५÷६ फिट उचाइको त्रिशूल ठड्याइन्थ्यो । त्यहीँ बसेर उनी आँखा चिम्लेर धारा प्रवाह धार्मिक र सामाजिक प्रवचन दिन्थिन् । उनको त्यो साहस देखेर सेवकहरू भक्तमा रूपान्तरित भए । हरे राम प्रभुका नाउँले परिचित स्वामी पं. प्रेमनारायणले चारैतिर डुलेर योगमायालाई औतारी शक्तिमाताको नामले प्रचार गरे । स्वामी प्रेमनारायणले योगमायाका नालीबेली पूर्वी पहाडका रनबन पुर्याए । काठमाडौं उपत्यकामा पनि योगमायाको यथेष्ट प्रचार गरियो । त्यतिमात्र होइन, योगमायाका भक्त, चेलाहरू पं. कविप्रसाद गौतम र लोचननिधि तिवारीले पनि उनलाई शक्तिमाताका रूपमा स्थापित गराए । योगमायाले जीवनमा आफूप्रति खप्टिएका प्रत्येक वचनको स्मरण गरिरहिन् । उनले नारीप्रतिको भेदभावका विषयमा विरचित पुराणका कथाहरूको पनि खुलेर नै आलोचना गरिरहिन् । नारीलाई पशुवत् व्यवहार गरेर रचिएका धार्मिक कथाहरू योगमायाका भावनाका शत्रु थिए । लोग्नेमान्छेले जति श्रीमती राखे पनि हुने र स्वास्नीमान्छेले चाहिँ अर्को पुरुषसँग बिहे गर्दैमा ऊ समाजबाट बहिष्कृत हुनुपर्ने जस्ता असमान र भेदभावपूर्ण प्रचलनले उनको मन रन्थनिएको थियो । यस्तै बाहुन पुरुषले पानी नचल्ने जात ल्याए पनि जात नजाने र बाहुन स्त्रीले चाहिँ आफूखुसी बाहुनैसँगै बिहे गर्दा पनि जुनीभरि बिटुली हुनुपर्ने अवस्थाको उनले घोर निन्दा र भत्र्सना गरिन् ।


क्याटेगोरी : साहित्य

प्रतिक्रिया


ताजा अपडेट