खोकना—तेल उत्पादनको जीवित परम्परा

सबल दाहाल
ललितपुर जिल्लाको दक्षिण भागमा अवस्थित खोकना बस्ती नेपाली साँस्कृतिक सम्पदा र परम्परागत कुटीर उद्योगको जीवित नमूना हो । विशेषतः तोरीको तेल उत्पादनका लागि प्रसिद्ध खोकनालाई जीवित संग्रहालय पनि भनिन्छ । यहाँको तेल उत्पादन परम्परा, संस्कृति र ऐतिहासिक महत्वले खोकनालाई विशेष बनाएको छ ।
नेवार समुदायको बाहुल्यता रहेको खोकना ऐतिहासिक रूपमा बौद्ध धर्मावलम्बीहरूको बस्तीका रूपमा चिनिन्छ । खोकनाको विशेषता भनेको यहाँको परम्परागत तोरीको तेल उत्पादन प्रणाली हो । यसले आज पनि स्थानीय समुदायको जीवनधारालाई जोगाइ राखेको छ । पहिले खोकनाको फाँटभरि तोरीको बाली लहलहाउँथ्यो । आज ती खेतहरू मानवीय बसोबासले छोपिँदै गएका छन् । यद्यपि खोकनाले आफ्नो मौलिक पेसालाई भने जीवित राखेको छ । यहाँ मानिसहरुको जीवनशैलीमा मध्यकालीन परम्परा र संस्कृति झल्किन्छ । खोकनालाई युनेस्कोद्वारा विश्व सम्पदाको सूचीमा सूचिकृत गर्ने प्रस्ताव गरेको थियो ।
खोकनामा तोरीको तेल उत्पादन पेसा मात्र होइन, यो संस्कृति हो । यहाँका साना पारिवारिक इकाइहरूले कुटीर उद्योगको शैलीमा परापूर्वकालदेखि तेल उत्पादन गर्दै आएका हुन् । अहिले प्रविधिको विकासले आधुनिक तेल मिलहरु सञ्चालनमा आए पनि खोकनाबासीहरुले परम्परागत प्रविधिबाट तेल उत्पादन गर्न रुचाउँछन् र अधिकांशले पुरानै परम्परालाई धानिरहेका छन् । यहाँका स्थानीयहरूले अझै पनि गण भनिने काठका मेसिनहरू प्रयोग गर्छन् ।
खोकना खाने तेल भनेपछि यो काठमाडौं उपत्यकामा प्रख्यात छ । पहिले पहिले तोरी खेती निकै राम्रो हुने भएकाले परापूर्वकालदेखि नै खोकनामा तेल उत्पादन गरिँदै आएको हो । अहिले पनि खोकनावासीको मुख्य पेसा भनेकै तेल व्यवसाय हो । तोरीको तेल यहाँ खानामा लागि मात्र नभई सांस्कृतिक र धार्मिक प्रयोजनका लागि पनि महत्वपूर्ण मानिन्छ ।
तोरी भुटेर र नभुटेर दुई किसिमबाट खोकनावासीले तेल उत्पादन गर्दछन् । भुटेको र नभुटेको तोरीको तेलको बास्ना र स्वाद फरक हुन्छ । भुटेको तेलको बास्ना कडा हुन्छ । भुटेको तोरीको तेलको बास्ना र स्वादका कारण यहाँको तेल लोकप्रिय बनेको हो ।
तेल निकाल्न शुरुमा तोरीलाई सफा गरिन्छ । यसपछि मेसिनमा राखेर तोरी फुटाइन्छ । त्यसबाट तोरीको पिना तयार गरिन्छ । त्यसलाई हाडीमा राखेर भुटिन्छ । उक्त तोरीको पिठोलाई परम्परागत मेसिनमा राखिन्छ र पेलेर तेल निकालिन्छ । त्यहाँबाट तेल निकालिसकेपछि बाँकी रहेको पिनालाई पुनः आधुनिक मेसिनमा हालिन्छ र थप तेल निकालिन्छ । परम्परागत मेशिनमा राखेर निकालेको जस्तो आधुनिक मेसिनबाट उत्पादन भएको तेल गुणस्तरीय हुँदैन । निकालिएको तेललाई साना प्लास्टिकका बोतलहरूमा भरेर अँध्यारो कोठामा सुरक्षित गरिन्छ ।
खोकनामा मानिसको बस्ती विस्तारका कारण तेलका लागि खोकनाको तोरी अहिले पर्याप्त छैन । तोरी खेती पनि घट्दै गएकोले अहिले देशभित्र र विदेशबाट समेत तोरी आयत गरिन्छ । यहाँ युक्रेनबाट समेत तोरी आयत गरी तेल उत्पादन गरिने मिल संचालकहरु बताउँछन् । तर अहिलेको रसिया युक्रेन युद्धले यहाँ उत्पादनमा प्रभाव पारेको उनीहरुको भनाइ छ ।
खोकनामा अहिले १५ देखि २० वटा यस्ता मेसिनहरू व्यावसायिक रुपमा सञ्चालनमा रहँदै आएकोमा २०७२ सालको महाभूकम्पका कारण जीर्ण भएका सामुदायिक मिलहरुलाई पुरानै मौलिक शैलीमा निर्माण गर्ने काम अहिले भइरहेको छ । चार वटा सामुदायिक मिलमध्ये एउटा हालसालै सञ्चालनमा आएको र दुइटा पनि चाँडै सञ्चालनमा आउने ललितपुर महानगरपालिकाका वडा नं २१ का वडा अध्यक्ष तथा खोकनावासी रवीन्द्र महर्जन बताउँछन् । उनले सम्भवत यसै सालबाट चार वटै मिलहरु सञ्चालनमा ल्याउने गरी वडाले काम गरिरहेको दावी गरे ।
‘शताब्दिऔं अगाडि समुदायबाट कसैसँग एक मोहर त कसैसँग एक पैसा जम्मा गरी मिल संचालनमा ल्याएको स्मरण गर्दछन् । सामुदायिक मिलहरुलाई स्थानीयवासीहरुले आलोपालो गरेर चलाउने गर्छन् । यसले सामूदायिक एकता र समुदायको आर्थिक उत्थानमा सहयोग पु-याएको छ’, अध्यक्ष महर्जन बताउँछन ।
यहाँको तेल अचेल मानाको चार सय रुपियाँले विक्री हुने बताइन्छ ।
पहिले पहिले खोकनाको तेल बेच्न यहाँका स्थानीय मानिस उपत्यकाका विभिन्न ठाउँका पुग्ने गर्थे भने अहिले ग्राहक मिलमै आइपुग्ने कालिका तेल मिलका सञ्चालक रत्नसिंह डङ्गोलले बताए । यहाँको तेल काठमाडौँका विभिन्न सहरका पसलहरूमा वेच्नको लागि लगिन्छ ।
यहाँ माघे संक्रान्तिमा युवाहरूको टाउकोमा तोरी तेल लगाएर आशीर्वाद दिने चलन अझै यहाँ जीवित छ । बच्चा जन्मेपछि आमाबुबा र शिशुलाई तेल लगाउने प्रचलन, दियामा बाल्ने परम्परा र परम्परागत खाना पकाउने अभ्यासले यो तेललाई अझ विशेष बनाएको छ ।
खोकना नेपालको पहिलो विजुलीको पहुँच पुगेको वस्ती पनि हो । फर्पिङ जलविद्युत आयोजनाबाट सिधै यहाँ विजुली लगिएको हो । फर्पिङ जल विद्युत आयोजना दक्षिण एशियाकै दोश्रो र नेपालको पहिलो जलविद्युत आयोजना हो । खोकनावासी शिद्धिलाल महर्जनको घरमा नेपालमा पहिलो पटक विजुली बालिएको इतिहास यथावत छ ।
परम्परागत तोरीको तेल उत्पादनलाई जोगाउँदै, नेपालमै पहिलो पटक विद्युत् बालिएको ऐतिहासिक स्मृति बोकेर र स्थानीय सीप, एकता र पुनर्निर्माणको गतिलाई सशक्त बनाउँदै खोकनाले देखाएको बाटो विकास र संस्कृतिको सहयात्रा कसरी सम्भव हुन्छ भन्ने कुराको प्रेरक प्रमाण हो । यस्ता प्रयासहरूलाई निरन्तरता दिन सकिएमा खोकनाले स्थानीय नेतृत्वमार्फत राष्ट्रिय स्तरमै आत्मनिर्भरता र पहिचानको नक्सा कोर्न सक्ने क्षमता राख्दछ ।
क्याटेगोरी : पालिका
प्रतिक्रिया