Techie IT
Samayabaddha
शुक्रबार, १९ वैशाख, २०८२

भारतीय विमानमा बम राखिएको धम्की बढ्दै


भारतीय विमानसेवामा बम राखिएको धम्कीको सङ्ख्या बढ्दा विमान गन्तव्यमा पुग्नु अघि नै अवतरण गराउनुपर्ने बाध्यतासँगै उडान तालिका अस्तव्यस्त भएको छ । गएको हप्ता मात्रै कम्तीमा ९० वटा धम्कीहरू प्राप्त भएका थिए ।

जसका कारण विमान ‘डाइभर्ट’ गर्नु परेको, उडानहरू रद्द भएका र यात्रामा ढिला भएको भारतको संघीय नागरिक उड्डयन मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । तर पछि जाँच तथा छानविन गर्दा ती धम्कीहरु नक्कली भएको पुष्टि भएको छ ।

यसअघि गएको जुन महिनामा एकैदिन ४१ वटा विमानस्थलहरूले बम राखिएका धम्कीहरू इमेलमार्फत् प्राप्त गरेका थिए । आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुने गरी भारतीय विमानसेवाहरूलाई लक्ष्य गरेर भइरहेका धम्की भारतीय हवाइ क्षेत्रको सुरक्षा र बलियो सञ्चालन क्षमतालाई कमजोर पर्ने प्रयास स्वरुप भएका देखिएको भारतका संघीय नागरिक उड्डयनमन्त्री किन्जरापु राम मोहन नायडूले बताउनुभएको बीबीसीले जनाएको छ ।

भारतमा झन्डै सात सयवटा व्यावसायिक यात्रुवाहक विमानहरू छन् । विमान आकाशमा नै उडिरहेको अवस्थामा बम भएको सूचना वा धम्की पाएमा त्यसलाई सबैभन्दा नजिकको विमानस्थलमा अवतरण गराउनैपर्ने हुन्छ । कुनै अवस्थामा त्यस्ता विमानलाई लडाकु जेटहरूले सुरक्षा दिएर अगुवाइ गर्दै लैजाने पनि हुन्छ ।

डाइभर्ट गरिएको विमान अवतरण गरिसकेपछि यात्रुहरूलाई ओरालिन्छ र त्यसमा रहेका सबै ब्यागेज, कार्गो र खानपिनको व्यवस्था भएको केटरिङमा पनि खानतलासी गरिन्छ । त्यो काम गरिसक्न केही घन्टा लाग्छ । यसले उडानमा ढिलाई हुन्छ । यी सबै कुराले खर्च र उडान व्यवस्थामाथि ठूलो भार पर्न जान्छ । उडानमा ढिलाइ हुँदा उडान रद्द हुने र त्यसले उडान तालिकमा भद्रगोल हुने उड्ययनबिज्ञहरु बताउँछन् ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


ताजा अपडेट