Techie IT
Samayabaddha
शुक्रबार, २७ चैत्र, २०८२

विप्लवद्वारा जुम्लामा स्याउ रोपन कार्यक्रम उद्घाटन


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ ले जुम्लामा स्याउ रोपन कार्यक्रमको उद्घाटन गरेका छन् । नेकपाको केन्द्रीय कार्यालयको आयोजनामा आइतबार जुम्लाको हिमा गाउँपालिका ७ धौलापानीमा करिब १४ हजार वर्गमिटर जमिनमा ३५ सय बिरुवाको स्याउ रोपेर उद्घाटन गरिएको हो ।

स्याउ रोपन कार्यक्रमको उद्घाटन गर्दै राजनीतिक क्रान्तिसँगै आर्थिक क्रान्तिलाई नजोडेसम्म देशको स्वाधीनता र आत्मनिर्भर सम्भव नहुने विप्लवको तर्क थियो । उनले पहिला नेता र कार्यकर्तालाई कृषि उत्पादनमा जोड्ने र त्यसपछि देशभरका जनतालाई कृषि क्रान्तिमा जोडेर देशलाई आत्मनिर्भर बनाउने योजना रहेको समेत बताए ।

विप्लवले हावापानी र मौसमअनुसारको फलफूल बालीनाली उत्पादन गरिरहेको बताउँदै भने– ‘अहिले हाम्रा नेता कार्यकर्तालाई देशैभर खानकै लागि कहिँ कतै माग्नुपर्ने अवस्था छैन, देशैभर सबै नेता कार्यकर्ता उत्पादनमा लागेका छौँ ।’

महासचिव विप्लवले जगा उपलब्ध गराउने हिमा गाउँपालिका ७ धांचुगाउँकि कृष्ण कौडा शाहीलाई धन्यवाद समेत दिए । उनले भने– ‘उहाँ शहीद परिवार पनि हुनुहुन्छ, उहाँले हामीलाई जग्गा उपलब्ध गराउनुभयो, विशेष धन्यवाद छ ।’ धौलापानीमा स्याउ रोपेर भोलि १२ गते बिहान कालिकोटको तिलागुफा नगरपालिका फोहिईमा स्याउ रोप्न जाने कार्यक्रम रहेको विप्लवका प्रचार विभाग सदस्य प्रकाश डुम्रेले बताए ।

 


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट