केआईआईटीमा नेपाली छात्राको मृत्यु प्रकरणबारे परराष्ट्र मन्त्रालयद्वारा कूटनीतिक पहल सुरु

काठमाडौं । भारतको ओडिसा राज्यमा अवस्थित ‘कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी’ (केआईआईटी) मा अध्ययनरत अर्की नेपाली छात्रा प्रिसा साहको होस्टेल कोठामा मृत भेटिएपछि नेपाल सरकारले गम्भीर चासो व्यक्त गर्दै कूटनीतिक तहबाट पहल थालेको जनाएको जनाएको छ ।
गत बिहीबार राति उनी आफ्नै होस्टेल कोठामा मृत अवस्थामा फेला परेकी थिइन्।
बिटेक पहिलो वर्षमा अध्ययनरत १८ वर्षीय साहको घटनाको प्रारम्भिक जानकारी अनुसार आत्महत्याको आशंका गरिएको छ । यसको वास्तविक कारणबारे अझै पुष्टि भइसकेको छैन। घटनापछि भारतको ओडिसा प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाएको छ।
घटना भएको खबर पाएपछि बिहीवार राति नै प्रीशाका बुवा श्यामबाबु साह भारतको भुवनेश्वरतर्फ लागेको छन् ।
नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले यस विषयमा गम्भीर ध्यान दिँदै तत्काल भारत सरकार, ओडिसा राज्य सरकार, र नयाँ दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्यतथ्य पत्ता लगाउन औपचारिक पहल थालेको जनाएको छ।
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले घटनाबारे विस्तृत जानकारी संकलन भइरहेको बताउँदै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरेकी छन्। उनले भनिन्, “यो दुर्भाग्यपूर्ण घटना हो। हामी घटनाको वास्तविकता पत्ता लगाउन सबै तहबाट गम्भीर रुपमा लागेका छौँ।”
ओडिसा राज्य सरकारले पनि घटनाप्रति दुःख व्यक्त गर्दै छानबिनको आदेश दिएको छ। राज्य सरकारका अनुसार, स्थानीय प्रशासन र प्रहरीले घटनाको अनुसन्धान प्रारम्भ गरिसकेका छन् र रिपोर्टको प्रतीक्षा भइरहेको छ।
केही समयअगाडि नेपाली विद्यार्थी प्रकृति लम्सालको पनि उक्त कलेजको छात्रावासमै मृत्यु भएको थियो।
त्यतिबेला भने विद्यार्थीहरूले सत्यतथ्य छानबिन गर्न माग गर्दै प्रदर्शन गरेपछि कलेजमा स्थिति तनावग्रस्त बनेको थियो।
क्याम्पस प्रशासनले पनि एउटा सूचना जारी गर्दै नेपाली विद्यार्थीहरूलाई बाहिरिन भनेपछि कयौँ नेपाली विद्यार्थीहरू नेपाल फर्किएका थिए। त्यतिबेला प्रिसाा पनि घर फर्किएकी थिइन्। उनी पुन कलेज फर्केर अध्ययन शुरु गरेकी थिइन ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया