चिली र अर्जेन्टिनाको तटमा ७.४ म्याग्निच्युडको भूकम्प

चिली र अर्जेन्टिनाको दक्षिणी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भे (यूएसजीएस) का अनुसार भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ । भूकम्पलगत्तै चिलीले हिजो देशको दक्षिणी क्षेत्रमा सुनामीको चेतावनी जारी गरेको छ ।
सुनामीको जोखिम हुनसक्ने भएकाले म्यागालेन्स क्षेत्रको तटीय क्षेत्र खाली गरी सुरक्षित ठाउँमा जान आग्रह गरिएको चिलीको विपत् व्यवस्थापन निकाय सेनाप्रेडले जनाएको छ ।
राष्ट्रपति गेब्रियल बोरिकले पनि आफ्नो एक्स अकाउन्टमा ‘म्यागालेन्स क्षेत्रभरि समुद्र तट खाली गर्न’ आह्वान गर्नुभएको छ । भूकम्पपछि स–साना परकम्प गइरहेका छन् ।
म्यागालेन्स क्षेत्र चिलीको दोस्रो ठूलो तर कम जनसङ्ख्या भएको क्षेत्र हो र यो अर्जेन्टिनाको टिएरा डेल फुएगो प्रान्तसँग जोडिएको छ ।
अर्जेन्टिनाको टिएरा डेल फुएगोको गभर्नरको कार्यालयले भूकम्पको धक्का मुख्यतया उसुइया शहर र टिएरा प्रान्तका अन्य शहरमा महसूस गरिएको उल्लेख गरेको बीबीसीले जनाएको छ ।
भूकम्पका कारण मानवीय र भौतिक भएरनभएको विवरण आइसकेको छैन । चिली भूकम्प अति प्रभावितमध्ये पर्ने देश हो ।
यसअघि सन् १९६० मा दक्षिणी शहर भाल्डिभियामा ९.५ म्याग्निच्युडको भूकम्पबाट कम्तीमा नौ हजार पाँच सय जनाको मृत्यु भएको थियो । यो भूकम्पलाई अहिलेसम्मकै सबैभन्दा शक्तिशाली मानिएको छ ।
त्यस्तै सन् २०१० मा चिलीको मध्य तटीय क्षेत्रमा गएको ८.८ म्याग्निच्युडको भूकम्पमा परी ५ सय २० जानभन्दा धेरैको ज्यान गएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
प्रतिक्रिया