भारतसँगको तनावमा मध्यस्थता गर्न इरानका शीर्ष कूटनीतिज्ञ पाकिस्तानमा

इस्लामाबाद, २२ वैशाख । गत महिना काश्मीरको भारतीय नियन्त्रित भागमा पर्यटकहरूमाथि भएको घातक आक्रमणपछि इस्लामाबाद र नयाँदिल्लीबिचको तनावमा मध्यस्थता गर्ने प्रयास गर्न इरानका विदेशमन्त्री सोमबार पाकिस्तानमा पुगेका छन् ।
पाकिस्तानको विदेश मन्त्रालयका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघचीको भ्रमण विवादित काश्मीर क्षेत्रमा पर्यटकहरूमाथि भएको घातक आक्रमणपछि तनाव बढेदेखि कुनै पनि विदेशी महानुभावको पहिलो भ्रमण हो । यो भ्रमण तेहरानले आणविक सशस्त्र छिमेकीहरूबिचको तनाव कम गर्न मद्दत गर्ने प्रस्ताव गरेको केही दिनपछि भएको हो ।
इस्लामाबाद नजिकैको विमानस्थलमा अवतरण गरेपछि वरिष्ठ पाकिस्तानी अधिकारीहरूले अराघचीलाई स्वागत गरेका थिए । उनले आफ्ना पाकिस्तानी समकक्षी इशाक डार, राष्ट्रपति आसिफ अली जर्दारी र प्रधानमन्त्री शाहबाज सरिफलाई भेट्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयले थप विवरण दिएको छैन ।
क्याबिनेट मन्त्री अत्ताउल्लाह तरारले यही वैशाख ९ गते (अप्रिल २२) मा पहलगामको रिसोर्ट सहरमा भएको आक्रमणको प्रतिक्रियामा भारतले पाकिस्तानमा आक्रमण गर्न सक्ने विश्वसनीय खुफिया जानकारी इस्लामाबादसँग रहेको बताउनुभएपछि गत हप्तादेखि पाकिस्तानको सशस्त्र सेना उच्च सतर्कतामा रहेको छ ।
पाकिस्तानले आक्रमणमा कुनै पनि भूमिकालाई अस्वीकार गरेको छ र विश्वसनीय अन्तर्राष्ट्रिय अनुसन्धान गर्न प्रस्ताव गरेको छ । नयाँदिल्लीले अहिलेसम्म यो प्रस्ताव स्वीकार गरेको छैन । संयुक्त राज्य अमेरिकाका अधिकारीहरूसहित धेरै विश्व नेताले दुवै पक्षलाई संयम अपनाउन र थप तनावबाट बच्न आग्रह गरेका छन् ।
काश्मीर भारत र पाकिस्तानबिच विभाजित छ र दुवैले पूर्ण रूपमा दाबी गर्छन् । दुई देशले आफ्नो तीन युद्धमध्ये दुईवटा यस हिमालय क्षेत्रका लागि लडेका छन् र प्राय काश्मीरमा उनीहरूको प्रतिस्पर्धी दाबीका कारण उनीहरूको सम्बन्ध द्वन्द्व, आक्रामक कूटनीति र आपसी शङ्काबाट आकार लिएको छ ।
पछिल्लो झडपले दुई देशलाई एक अर्काका कूटनीतिज्ञ र नागरिकहरूलाई निष्काशन गर्न, साथै हवाई क्षेत्र बन्द गर्न प्रेरित गरेको थियो । राससरएपी
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
प्रतिक्रिया