नेपालमा अन्तर्राष्ट्रिय हवाई टिकट दक्षिण एसियामै महङ्गो, नेपालको पर्यटन क्षेत्र प्रभावित

काठमाडौं, २५ वैशाख । नेपालमा अन्तर्राष्ट्रिय हवाई टिकट दक्षिण एसियामै सबैभन्दा महङ्गो छ । नेपालबाट अन्तर्राष्ट्रिय उडानको टिकट मूल्य दक्षिण एसियाली देशहरु भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स भन्दा दुई तीन गुणा बढी छ । यसका लागि धेरै कारणहरु रहेका छन् । नेपालको आर्थिक नीति, भौगोलिक चुनौती, राजनीतिक प्रभाव, कम अन्तर्राष्ट्रिय हवाई कम्पनीको उपस्थिति, ठूला ठूला जाहाजको अवतरण हुने विमानस्थलको अभावलगायतका कारणले टिकटको मूल्य अधिक भएको हो ।
टिकटमा लाग्ने कर, ग्राउण्ड ह्याण्डिलिङ शुल्क अधिक, बीमा, फ्युलको मूल्य बढी, विमानस्थलको उडान समयमा बेलाबेलामा आइरहने अवरोध तथा नियन्त्रण, टिकटको मूल्यमा नियमनको कानूनी आधारको अभाव, प्राविधिक गुणस्तरमा कमीलगायतका कारणले गर्दा नेपालको उडड्यन क्षेत्र महङ्गो भएको छ । यसले नेपालको आर्थिक क्षेत्रको विकासका लागि मुख्य आधारको रुपमा रहेको पर्यटन उद्योग समस्यामा परेको छ ।
दक्षिण एसियाली देशहरुमा अन्तर्राष्ट्रिय टिकट मूल्यको तुलनात्मक विवरण :
रुपन्देहीका विजय अधिकारी १२ अप्रिलमा बेल्जियम जानुपर्ने थियो । उड्नु भन्दा एक हप्ता अगाडि उनले नेपालबाट टिकट काट्ने तयारी गरे । तर, टिकट निकै महङ्गो भएका कारणले गर्दा उनले काठमाडौंमा चिनेका एक साथीलाई सम्पर्क गरे । उनका साथीले कोलकाताबाट जान सुझाव दिए । विजयले आफूसँगै जानुपर्ने आफ्ना साथी बसन्त शर्मालाई कोलकाताबाट जानका लागि आग्रह गरे । बसन्तले उनको आग्रहलाई अस्वीकार गरे । १२ अप्रिलमा विजय कतार एयरमार्फत कोलकाता–ब्रसेल्स–कोलकाताका लागि उडे । उनले जम्मा नेपाली रुपैयाँ ८१ हजार ५ सय रुपैयाँ खर्च गर्नु पर्यो । त्यहाँ पुग्नका लागि उनले झापाको भद्रपुर विमानस्थलसम्म ५ हजार ५ सय रुपैयाँ, भद्रपुरबाट बागडोगरा एयरपोर्टसम्म ३ हजार रुपैयाँ र त्यहाँबाट ५ हजार नेपाली रुपैयाँ खर्च गर्नु पर्यो । फर्किदा पनि उनले त्यहीँ रुट प्रयोग गरेर काठमाडौं आउने छन् ।
नेपाली एक लाख रुपैयाँमा विजय काठमाडौंबाट ब्रसेल्ससम्म पुगेर काठमाडौं आइपुग्ने छन् । तर, बसन्तले भने दुई लाख ३० हजार रुपैयाँ खर्चिएर कतार एयरको काठमाडौं–ब्रसेल्स–काठमाडौं टिकट लिए । त्यो पनि कतारमा १९ घन्टासम्म ट्रान्जिट परेर । काठमाडौंबाट विदेश जाने र विदेशबाट काठमाडौं आउने यात्रुका आर्थिक समस्या छिमेकी मुलुक भारतसँग तुलना गर्दा आधा भन्दा धेरै नै फरक पर्ने गरेको छ ।
कोलकाता, मुम्बई र नयाँ दिल्ली हुँदै विदेश जाने र भारत हुँदै विदेशबाट नेपाल आउनेको संख्या अहिले ह्वात्तै बढेको छ । खाडीमा कामका लागि पुगेका श्रमिकहरुले हवाई टिकटको सबैभन्दा ठूलो मारमा परेका छन् । आफ्नो खर्चमा आउनु पर्ने अवस्थामा एक वर्षको आम्दानी नै हवाई टिकटमा खर्च गर्नु परेको पीडा श्रमिकहरुले गरिरहेका छन् । भारतको नयाँ दिल्ली, कोलकाता र मुम्बई नेपाली यात्रुका लागि मुख्य ट्रान्जिट ठाउँ बन्न पुगेका छन् । भारतका एयर इन्डिया, इन्डिगोलगायतका एयरलाइन्सले नेपाल भारत यात्रु ओसारिरहेका छन् । नेपाल वायुसेवा निगमको सीमित उडानले नेपाली यात्रुलाई धान्न सकेको छैन ।
सन् २०२३ र २०२४ को तथ्याङ्कका आधारमा अन्तर्राष्ट्रिय टिकट मूल्य :
माथिको तथ्याङ्कलाई हेर्दा नेपाल र दक्षिण एसियाली देशको टिकटको मूल्य धेरै फरक देख्न सकिन्छ । नेपालबाट संयुक्त अरब इमिरेट्सको दुबईको टिकट भारतमा भन्दा ५० देखि १०० प्रतिशत बढी छ । बैंकक जाने टिकट बंगलादेश भन्दा ३० देखि ५० प्रतिशतसम्म महङ्गो छ । कतारको टिकट पाकिस्तान भन्दा दुई देखि साढे दुई गुणा बढी छ । काठमाडौंबाट तेस्रो मुलुक जानेहरुको अवस्था उस्तै छ । अमेरिका, युरोप र अफ्रिकी महादेशमा काठमाडौंबाटै जाँदा आउँदा नेपालीले भारतमा भन्दा लाखौँ रुपैयाँ बढी तिर्नु परेको छ । युरोपेली संघले नेपाली हवाई क्षेत्रलाई कालोसूचीमा राखेका कारणले पनि नेपालमा पश्चिमा व्यावसायिक जहाजले उडान तथा अवतरण गर्दैनन् । भारतको राजधानी नयाँ दिल्ली, मुम्बई, कोलकातालगायतका सहरमा भने फिनल्याण्ड, नेदरल्याण्ड्स, जर्मनी, बेलायत, फ्रान्स, स्वीट्जरल्याण्डलगायतका देशका राष्ट्रिय ध्वाजाबहाक हवाई कम्पनीले निरन्तर व्यवसायिक उडान गरिरहेका छन् । यो सूचीबाट नेपाल हटाउन सकिएमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाल सम्भावित सूचीमा पर्न सक्ने थियो ।
नेपालमा अन्तर्राष्ट्रिय टिकट महङ्गो हुनुका प्रमुख कारणहरु :
नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानको टिकट महङ्गो हुनुका पछाडि विभिन्न कारण रहेका छन् । नेपालको उडड्यन क्षेत्र युरोपेली संघको कालोसूचीमा पर्नु, नेपालमा हवाई इन्धनको मूल्यमा अस्वाभाविक वृद्धि, ग्राउण्ड ह्याण्डिलिङ शुल्क, टिकटमा लगाइने अतिरिक्त करलगायतका कारणले टिकटको मूल्यमा वृद्धि भएको छ । भौतिक पूर्वाधार विकासमा समस्या, सीमित प्रतिस्पर्धा, नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवाको कमजोर उपस्थितिलगायतका कारणले पनि समस्या भएको छ । नेपाल सरकारले पर्यटन प्रवर्धनमा ठूलो लगानी गरेपनि आधारभूत कुरामा ध्यान नदिँदा समस्या भएको पर्यटन व्यवसायीहरुले बताएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेले अन्तर्राष्ट्रिय विमानबाट हुने उडानका लागि टिकटको मूल्य निर्धारण पक्रियामा प्राधिकरणको सीमित भूमिका रहने बताएका छन् । उनी भन्छन्, ‘अन्तर्राष्ट्रिय टिकटको मूल्यको नियमन गर्ने अधिकार प्राधिकरणको क्षेत्राधिकारभित्र पर्दैन । यसको कारण खुलाबजार प्रतिस्पर्धा र विश्वव्यापी उडड्यन नीति हो । जसअनुसार टिकटको मूल्य माग र आपूर्तिका आधारमा तय हुन्छ । प्राधिकरण एक नियामक निकाय भए पनि, टिकटको मूल्य निर्धारण गर्ने विशेष कानूनी अधिकार हामीसँग छैन । ’
प्राधिकरणले अधिकतम भाडादरको सम्झौता भने ४२ देशसँग गरेको छ । तर, यसले पनि मूल्य नियन्त्रणमा कुनै भूमिका खेलेको छैन । पाण्डे भन्छन, ‘प्राधिकरणले विमान सेवा प्रदायक देशहरुसँग अधिकतम भाडादरको सम्झौता मात्र गर्न सक्छ । यसअनुसार एयरलाइन्सले सम्झौता भएअनुसार भन्दा अधिकतम दर भन्दा बढीमा टिकट बिक्री गर्न पाउँदैनन् । प्राधिकरण ४२ देशसँग यस्तो सम्झौता गरेको छ । तर, धेरै अन्तर्राष्ट्रिय उडानहरु एक भन्दा बढी देश हुँदै गन्तव्यसम्म पुग्ने हुँदा यो पनि प्रक्रियाको नियमन गर्न जटिलता छ ।’
नेपालको नीजि क्षेत्रले सरकारले पर्यटन क्षेत्रलाई देशको आर्थिक आधारको रुपमा प्रस्तुत गरे पनि त्यसअनुसारको काम नगर्दा समस्या भएको जनाएको छ । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा०का महासचिव युविका भण्डारीले नेपालको हवाई टिकटको मूल्य बढ्दा पर्यटन क्षेत्रमा ठूलो समस्या निम्तिने बताउँछिन् । उनी भन्छिन्, ‘नेपालको पर्यटन क्षेत्रमा हवाई सेवाको महत्वपूर्ण भूमिका छ । तर, नेपालबाट विदेश जाने वा विदेशबाट नेपाल आउने हवाई टिकटको मूल्य अन्य देशको तुलनामा धेरै महँगो छ । यसले नेपाली यात्रुहरु मात्र होइन, विदेशी पर्यटकहरूलाई पनि प्रभावित गरेको छ ।’ धेरै कारणहरुको सम्बोधन नगरेसम्म हवाई टिकटको मूल्य घट्ने अवस्था देखिदैन् । भण्डारी भन्छिन्, ‘नेपालमा ठूला विमानहरू अवतरण गर्न सक्ने आधुनिक अन्तर्राष्ट्रिय विमानस्थलको अभाव छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्र नेपालको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल हो, जुन धेरै ठूला विमानहरूको लागि अपर्याप्त छ । यसले गर्दा साना विमानहरू मात्र नेपालमा उडान गर्न सक्छन्, जसले यात्रु ओसारपोसार गर्न अधिक लागत लगाउँछ । ठूला विमानहरू प्रयोग गर्न सकिएमा प्रति यात्रु लागत घट्ने थियो । ग्राउण्ड ह्यान्डलिङ्ग सेवा, फ्यूलको मूल्य र अन्य शुल्कहरु अन्य देशहरूको तुलनामा धेरै छ । विमान कम्पनीहरूले यी शुल्क यात्रुबाट नै उठाउनु पर्छ, जसले टिकटको मूल्य बढाउँछ ।’
१. इयूको कालोसूचीमा नेपाल
नेपालको उडड्यन क्षेत्रलाई युरोपेली युनियनले उडान सुरक्षा चासोको कालोसूचीमा राखेको छ । सन् २०१३ देखि नेपाल कालोसूचीमा परेपछि नेपाली वायुसेवा कम्पनीले युरोपमा उडानको अनुमति पाउँदैनन् । युरोपेली संघमा आवद्ध देशका जहाज कम्पनीले पनि नेपालमा व्यवसायिक उडान गर्न पाउँदैनन् । उडान सम्बन्धि अन्तर्राष्ट्रिय नियमनकारी निकाय अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन आइकाओको सुरक्षा चासोलाई नेपालले सम्बोधन नगरेका कारण नेपाल समस्यामा पर्दै आएको छ ।
नेपाल सरकारले हरेक वर्ष हवाई उडान सुरक्षामा नेपालले राम्रो प्रगति गरेको बताए पनि यो सूचीबाट मुक्त हुन सकेको छैन । नेपालका वायुसेवा कम्पनीभित्रको व्यवस्थापन, उडान सुरक्षामा बेलाबेला हुने लापरबाही, नियमनकारी निकायको भूमिका, भौतिक पूर्वाधारलगायतका विषयमा आइकाओले चासो व्यक्त गरेको छ । बेलाबेलामा हुने हवाई दुर्घटनाले अन्तर्राष्ट्रिय बजारमा पनि नेपालमा उडान प्रभाव पार्ने गरेको छ । विभिन्न इन्डिकेटरमध्ये नेपालको उडान सुरक्षामा कमजोर नम्बर आएको छ । पहिले जर्मनीको लुफथान्सालगायतका एयरलाइन्सले नेपालमा उडान गरेकामा अहिले इयूका कुनै पनि देशबाट नेपालमा व्यवसायिक उडान हुन सकेको छैन ।
२. इन्धनको मूल्य र करको बोझ
नेपालमा हवाई टिकटको मूल्य धेरै हुनुका पछाडिका धेरै कारण मध्ये इन्धनको मूल्य र करको बोझ हो । नेपालमा अहिले हवाई इन्धनको मूल्य प्रतिलिटर १८० देखि २०० रुपैयाँसम्म छ । भारतमा १२० रुपैयाँदेखि १४० रुपैयाँ र बंगलादेशमा १३० रुपैयाँ रहेको छ । यसको प्रत्यक्ष मार हवाई टिकटमा पर्छ । नेपाल सरकारले भ्याट, ऊर्जा कर, आयात शुल्कलगायत गरेर इन्धनमा मात्रै झण्डै ३० प्रतिशत कर लिने गरेको छ । त्यस्तै हवाई टिकटमा पनि विमानस्थल शुल्क, सुरक्षा शुल्क र भ्याट लगाएका कारणले समस्या भएको पर्यटन व्यवसायी बताउँछन् ।
३. सीमित प्रतिस्पर्धा
नेपालको आकाशमा सीमित अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीको उपस्थिति रहेको छ । कतार एयरवेज, फ्लाइ दुबई, एयर अरेबियालगायतका एयरलाइन्सले नियमित उडान गर्छन । अन्य देशका विमान कम्पनीले पनि नेपालमा उडान गर्दै आइरहेका छन् । संसारमै संजालकोरुपमा रहेको इमिरेट्स एयरले नेपालको ग्राउण्डमा ठूलो जहाज अवतरणमा समस्या भएको कारण देखाएर फ्लाइ दुबईमार्फत यात्रुलाई सेवा दिइरहेको छ । नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र बुद्ध एयरले पनि सीमित हवाई उडान गरिरहेका छन् । भारतका इन्डिगो, एयर इन्डिया, विस्तारा, स्पाइसजेटले पनि नेपालले नियमित उडान गरिरहेकाले नेपाली यात्रुलाई भारतको रुट प्रयोगमा सजिलो भइरहेको छ । कोभिड पहिलेको अवस्थामा चिनियाँ हवाई कम्पनीको उपस्थिति बलियो रहेकामा अहिले भने कमजोर बनेको छ ।
४. भौगोलिक चुनौती र हवाई दुर्घटना
नेपालमा भौगोलिक चुनौतीका कारण पनि हवाई उडानमा समस्या उत्पन्न हुने गरेको छ । बेला बेला भइरहने हवाई दुर्घटनाले नेपालको हवाई क्षेत्र असुरक्षित भएको प्रचार हुने गरेको छ । जसले गर्दा नेपालमा थप उडानका लागि विदेशी कम्पनी आकर्षित हुँदैनन् । मौसममा आउने विभिन्न समस्याले पनि प्रभाव पार्ने गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे झण्डै साढे दुई किलोमिटरको मात्र रहेको छ । जसले गर्दा बोइङ ७७७ जस्ता जहाज अवतरण तथा उडानमा समस्या हुने गरेको छ ।
५. सिजनल उडानमा कृत्रिम मूल्यवृद्धि
नेपालमा हवाई टिकटको मूल्य बढ्नुमा नेपाली रुपैयाँको अवमूल्यन पनि एक हो । सन् २०१५ मा १ अमेरिकी डलरको मूल्य १०० रुपैयाँ रहेकामा अहिले १ सय ३७ रुपैयाँ पुगेको छ । विदेशी एयरलाइन्सले नेपाली रुपैयाँमा टिकट बेच्दा अधिक मूल्य लगाउने गरेका छन् । त्यस्तै नेपालमा सेप्टेम्बरदेखि नोभेम्बरसम्म पर्यटकीय सिजनकोरुपमा लिने गरिन्छ । मार्चदेखि मे महिनासम्म प्रवासी नेपालीहरु फर्किने समय भएकाले एयरलाइन्सले कृत्रिम मूल्यवृद्धि गरेर टिकटको मूल्यमा १०० देखि २०० प्रतिशतसम्म बढाउने गरेका छन् ।
दक्षिण एसियाली अन्य देशमा किन सस्तो छ हवाई टिकट ?
भारत – भारतले एभियसन फ्युलमा सहुलियत प्रदान गर्दै आइरहेको छ । अन्तर्राष्ट्रिय विमान कम्पनीलाई प्रोत्साहन गर्न र प्रतिस्पर्धा भित्र्याउनका लागि उसले उक्त नीति अवलम्बन गरेको हो । भारतका ३० भन्दा धेरै घरेलु तथा अन्तर्राष्ट्रिय एयरलाइन्सले विश्व बजारमा प्रतिस्पर्धा गरेका छन् । त्यती नै संख्यामा विदेशी अन्तर्राष्ट्रिय एयरलाइन्सले भारतमा उडान भर्दै आइरहेका छन् । दिल्ली, कोलकाता, मुम्बई, बेंगलुरुलगायतका विमानस्थलमा ए ३८० जस्ता ठूला जहाजले उडान गर्छन । जसका कारण टिकटको मूल्य सस्तो भएको छ ।
बंगलादेश– बंगलादेश सरकारले आफ्नो देशबाट अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीलाई विभिन्न प्रकारका छुटहरु ल्याएर सहयोग गरिरहेको छ । पछिल्लो समय बंगलादेशले बिमान बंगालाले विभिन्न अन्तर्राष्ट्रिय उडानमा आफ्नो उपस्थिति बढाउँदै लगेको छ । इन्धनको मूल्य पनि कम छ । बंगलादेशले हवाई इन्धनको ठूलो हिस्सा आफैँले उत्पादन गर्ने गरेको छ ।
पाकिस्तान– आर्थिकरुपले समस्यामा परेको पाकिस्तानले विमानस्थल शुल्क नेपालमा भन्दा धेरै कम मात्रै लगाउने गरेको छ । करण प्रणाली नेपाल भन्दा धेरै उदार भएका कारणले पनि हवाई टिकटको मूल्य कम भएको छ । युरोपलगायत एसियाका विभिन्न देशमा पिआइएले सिधा उडान गर्छ । जसले बजारलाई थप प्रतिस्पर्धा बढाएको छ ।
मूल्य घटाउन सरकारको प्रभावकारी काम आवश्यक :
पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको छ । विदेशी पर्यटकहरू नेपाल आउन महँगो टिकटले निरुत्साहित गरिरहेको छ । नेपाली यात्रुको पनि आर्थिक बोझ बढेको छ । विदेश जाने नेपालीहरूले बढी मूल्य तिर्नु पर्दा नेपाली रकम बाहिरिएको छ । त्यस्तै विदेशी मुद्राको बहिर्गमन पनि भइरहेको छ । नेपालबाट धेरै रकम विदेशी एयरलाइन्सहरूलाई जान्छ ।
अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार गर्न आवश्यक देखिएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर्ने र निजगढमा नयाँ विमानस्थल निर्माण गर्ने काम तत्काल अगाडि बढाउन आवश्यक रहेको छ । नेपाल एयरलाइन्सलाई सुदृढ बनाउने गरी सरकारले विदेशी साझेदारीबाट नयाँ विमानहरू खरिद गर्ने र सेवा सुधार्ने गर्दा पर्यटन क्षेत्रलाईसमेत लाभ पुग्छ ।
त्यस्तै नेपालमा विदेशी एयरलाइन्सलाई नेपालमा उडान अनुमति दिने र उडान गर्नका लागि प्रोत्साहन गर्न आवश्यक छ । कर नीतिमा पनि सुधार आवशयक देखिएको छ । हवाई टिकटमा लाग्ने अतिरिक्त करहरू घटाउने र फ्युलको मूल्य नियन्त्रणमा पनि सरकारले काम गर्नुपर्छ । त्यस्तै टिकटमा लाग्ने करलाई पनि सरकारले हटाउनु पर्छ ।
नेपालमा हवाई टिकट महँगो हुनु विभिन्न संरचनात्मक र नीतिगत समस्याहरूको परिणाम हो । यसलाई समाधान गर्न सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय साझेदारहरूको समन्वय आवश्यक छ ।
सन् २०१३ देखि युरोपेली संघले नेपालको हवाई उडड्यन क्षेत्रलाई कालोसूचीमा राखेको छ । जसले गर्दा नेपाल वायु सेवा निगमले युरोपमा सिधा उडान गर्न सक्दैन । इयूमा आवद्ध देशबाट पनि नेपालमा उडान हुँदैन । यसले अन्तर्राष्ट्रिय बजारमा नेपालको उपस्थिति खुम्चाउँदै गएको छ । त्यसैले सरकारले यसमा पनि प्राभावकारी कदम चाल्न जरुरी रहेको हवाई क्षेत्रका विज्ञहरुले बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज अवतरण गर्न नसक्ने भएकाले अहिलेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई थप बिस्तार गर्ने र बारामा ठूलो खालको अन्तर्राष्ट्रिय विमानस्थल बनाउनेलगायतका अल्पकालिन र दीर्घकालीन कार्यक्रम सरकारले बनाउनु पर्छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रुट सुविधाका लागि भारतसँग निरन्तर पहल गर्ने र अन्तर्राष्ट्रिय साझेदार भित्र्याएर भए पनि नेपाल वायुसेवा निगमलाई थप बलियो बनाउन आवश्यक छ । जसले अन्तर्राष्ट्रिय ठूला ट्रान्जिटरुटमा नेपाली यात्रु र पर्यटकलाई जोड्न सहयोग गर्छ ।
क्याटेगोरी : जनमञ्च, समाचार
प्रतिक्रिया