पूर्वाञ्चल विश्वविद्यालयको कानून संकायमा विद्यार्थीका सात बुँदे मागमा सहमति: विद्यार्थी संघर्षको परिणाम

भक्तपुर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत कानून संकायमा अध्ययनरत विद्यार्थीहरूले उठाएका सात बुँदे मागप्रति विश्वविद्यालय प्रशासन सकारात्मक बनेको छ । विद्यार्थी तथा विद्यार्थी संगठनका प्रतिनिधिहरू र विश्वविद्यालय प्रशासनबीचको वार्ता सफल भएको छ । यसले पछिल्ला दिनहरूमा उत्पन्न असन्तोषलाई सम्बोधन गर्दै समाधानतर्फ अगाडि बढेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन इकाई, सूर्यविनायक–५, कटुन्जे, भक्तपुरमा बैशाख २५ गते सम्पन्न वार्तामा चक्रवर्ती हवी एजुकेसन एकेडेमी (कलेज अफ ल), काठमाडौं स्कुल अफ ल, पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल, विराटनगर र ब्राइट भिजन कलेज अफ ल, विराटनगरका बी.ए. एल.एल.बी. प्रथम वर्षदेखि पाँचौं वर्षसम्म अध्ययनरत विद्यार्थीहरूको तर्फबाट राखिएको मागबारे सहमति कायम भएको हो ।
छलफल विश्वविद्यालयको तर्फबाट सह–परीक्षा नियन्त्रक मेनुका श्रेष्ठको संयोजकत्वमा, उप–प्राध्यापक दीपक कुमार खतिवडा र मुख्य अधिकृत विनय भट्टराईको टोली तथा विद्यार्थी पक्षबाट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य शम्भु पन्त, नेपाल विद्यार्थी संघका अभिनव सिंह राठौर र विद्यार्थी प्रतिनिधि दीर्घ बहादुर रोकाया तथा टोपराम उपाध्यायको सहभागितामा सम्पन्न भयो ।
सहमति भएका मुख्य बुँदाहरूः
१. मौका परीक्षाः बी.ए. एल.एल.बी. अन्तिम वर्षमा अनुत्तीर्ण भएका विद्यार्थीहरूलाई मौका परीक्षा दिने, जसमा २०७६ भर्ना भएका विद्यार्थीहरू समेटिनेछन् ।
२. तीन महिनाभित्र नतिजा प्रकाशनः विशेषतः चौथो र पाँचौं वर्षको नतिजा नेपाल बार काउन्सिलको फारम खुल्नुअघि प्रकाशित गर्ने सुनिश्चितताका लागि संयन्त्र निर्माणको सिफारिस ।
३. शैक्षिक क्यालेन्डर निर्माणः अध्ययनदेखि परीक्षा र नतिजासम्मको सम्पूर्ण प्रक्रिया ११ महिनाभित्र समेटिने नयाँ वार्षिक कार्यप्रणाली लागू गर्न डीन कार्यालयमार्फत क्यालेन्डर निर्माण ।
४. अंक पुनरगणना प्रक्रिया सुधारः पुनरगणनाका लागि निवेदन दिने समय ३५ दिनबाट घटाएर २१ दिन कायम गरिने र ३० दिनभित्र नतिजा प्रकाशित गरिने ।
५. दुवै भाषामा प्रश्नपत्रः परीक्षा प्रश्नपत्रहरू नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध गराउने सिफारिस ।
६. पूर्वकोभिड अवस्था पुनः स्थापन शैक्षिक सत्र, परीक्षा, र नतिजा प्रकाशन प्रक्रियालाई पूर्वकोभिड समयको स्वरूपमा फर्काउने ।
७. दशैंअघि परीक्षा र नतिजाः पाँचौं वर्षसहित अन्य वर्षका परीक्षाहरू पनि दशैंअघि सम्पन्न गराई नतिजा समयमै प्रकाशन गरिने ।
‘आधा गिलास’ पानीको दृष्टिकोण
वार्तामा सहभागी अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य शम्भु पन्तले सहमतिको स्वागत गर्दै प्राप्त उपलब्धिलाई “आधा गिलास पानी” को संज्ञा दिएका छन् । उनका अनुसार निर्णयहरूको प्रभावकारिता तब मात्र हुनेछ जब ती विश्वविद्यालयको प्राज्ञिक परिषदबाट पारित हुन्छन् । “हामी विद्यार्थी नेता भएर होइन, विद्यार्थीहरूको आवाज बनेर अघि बढेका हौं,” पन्तले बताए ।
पन्तले यो आन्दोलन कुनै संगठन विशेषको प्रचारको लागि नभई विद्यार्थी अधिकारका लागि गरिएको साझा प्रयास भएको स्पष्ट पारे । उनले काठमाडौं स्कूल अफ लका सहर्ष पौडेल, चक्रवर्ती कलेजका सुजन मगराती, दीर्घ बहादुर रोकाया, प्रविन्द्र चौलागाईं, पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ लका घनश्याम यादव, मो. राजअली राईन, आरती यादव, निकेश भट्टराई लगायत सम्पूर्ण विद्यार्थीहरूप्रति आभार प्रकट गरे ।
पन्तले वार्ता सफल बनाउन दबाब सृजना गर्ने भूमिकामा रहेका अखिल (क्रान्तिकारी) का निवर्तमान सचिव बालकुमार के.सी., अध्यक्ष विजय प्रकाश सापकोटा, उपाध्यक्ष विराज थापा, सन्दीप पुन, महासचिव रोशन थापा मगर, सचिव अमर मण्डलप्रति समेत विशेष आभार व्यक्त गरे ।
सहमतिको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न विद्यार्थी प्रतिनिधिहरू निगरानी भूमिकामा रहने प्रतिबद्धता गरिएको छ । सहमतिको पालना नभएमा थप चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया