Techie IT
Samayabaddha
सोमबार, २९ वैशाख, २०८२

नेपालसँग जलविद्युत्‌को क्षेत्रमा दरिलो सहकार्य गर्न सक्छौं : मुहम्मद युनुस


ढाका । बंगलादेश सरकारका प्रमुख मुहम्मद युनुसले जलविद्युत्‌का क्षेत्रमा आर्थिक सहकार्य गर्न जरूरी रहेको बताएका छन् ।
बंगलादेश भ्रमणमा रहेकी प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँगको भेटमा उनले यस्तो बताएका हुन् ।

युनुसले भने, ‘बंगलादेश, नेपाल, भूटान र भारतको उत्तरपूर्वीमा रहेका सातवटा राज्यबीचको एकीकृत आर्थिक योजना आवश्यक छ, यसबाट हामीले छुट्टाछुट्टै भन्दा सँगै भएर धेरै फाइदा लिन सक्छौँ’, उनले भने ।

नेपाल र बंगलादेशबीच जलविद्युत्को क्षेत्रमा दरिलो सहकार्य गर्न सकिने उनको भनाइ थियो । गत अक्टोबरमा बंगलादेश–नेपाल–भारतमाझ नेपालबाट बंगलादेशमा भारतीय ग्रीडमार्फत ४० मेगावाट विद्युत् ल्याउनका लागि त्रिपक्षीय सहमति भएको थियो ।

उनले बंगलादेशले यस क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तारमा प्रतिबद्धताका साथ काम गरिरहेको पनि उल्लेख गरे । ‘हामीले रङ्गपुरमा सुरु गर्न लागेको एक हजार शय्याको अस्पतालको सेवा नेपाल र भुटानबाट आउने बिरामीका लागि पनि लक्षित छ, क्षेत्रीय सहकार्यबाट स्वास्थ्य क्षेत्रमा समृद्धि हासिल गर्न सकिन्छ’, उनले भने ।

त्यस अवसरमा उपसभामुख इन्दिरा रानाले विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यका लागि नेपालको इच्छुक रहेको उल्लेख गरेकी थिइन् । ‘नेपालका सबै सांसदहरु बंगलादेशसँग नजिक रहेर काम गर्न चाहना राख्नुभएको छ, हामी दुई देशबीचमा आर्थिक सहकार्य र नागरिकस्थरमा सम्बन्ध विस्तारमा गम्भीर छौँ।’

‘बंगलादेश, नेपाल, भूटान र भारतको उत्तरपूर्वीमा रहेका सातवटा राज्यबीचको एकीकृत आर्थिक योजना आवश्यक छ, यसबाट हामीले छुट्टाछुट्टै भन्दा सँगै भएर धेरै फाइदा लिन सक्छौँ’

उनले हाल बंगलादेशका मेडिकल कलेजमा दुई हजार सात सयभन्दा बढी नेपाली विद्यार्थी रहेको उल्लेख गर्दै यहाँको गुणस्तरीय शिक्षाको प्रशंसा गरिन् । साथै उनले यसमार्फत दुई देशबीचमा शैक्षिक सहकार्य पनि गर्न सकिने सम्भावना औँल्याइन् ।

दुवै पक्षबाट भौतिक अन्तरआबद्धताका विषयमा छलफल भएको उपसभामुख रानाको सचिवालयले जनाएको छ । प्रमुख सल्लाहकार युनुसले दुई देशबीच सडक सञ्जाल विस्तारबाट नेपालले उल्लेख्य मात्रामा व्यापारिक लाभ लिन सक्ने धारणा राखे ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट