मोरङको रतुवामाईस्थित मिर्चाडाँगीमा करेन्ट लाग्दा दुई जना वृद्धाको मृत्यु

काठमाडौं, ३१ वैशाख । मोरङको रतुवामाई नगरपालिका–३ मिर्चाडाँगीमा मंगलबार राति बिहे घरमा करेन्ट लाग्दा दुई जना वृद्धाको मृत्यु भएको छ।
बिहेको कार्यक्रम चलिरहेका बेला अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार करेन्ट लागेर रतुवामाई–३ की ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सूर्यदेवी गनगाईंको मृत्यु भएको हो।
स्थानीय मंगललाल सिंहको छोरा निरजकुमारको विवाहमा नाचगान गरिरहेका बेला उनीहरूलाई करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार विवाह घरमाथि हरियो बाँस गाडेर माइक बाँधिएको थियो। राति करिब ८ बजे आएको हावाहुरीले त्यो बाँस ढलेर हाइटेन्सन लाइनमा ठोक्किएको थियो ।
बाँसले हाइटेन्सन लाइनमा छुँदा बिहे घरमा रहेका तीन महिलालाई करेन्ट लागेको थियो। जसमध्ये दुई जनाको मृत्यु भएको डीएसपी जोशीले बताए। उनका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो।
अस्पतालमा पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी जोशीले दिए। करेन्ट लागेर ३० वर्षीया राधाकुमारी सिंह सामान्य घाइते भएकी छन्। नगर अस्पताल झुर्कियामा उपचारपछि उनी घर फर्किएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया