विशेष अदालतको इच्छाराज तामाङलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतको इच्छाराज तामाङलाई थुनामा राख्न दिएको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ।
न्यायाधीशहरू नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको इजलासले उक्त आदेश सदर गरेको हो। उक्त आदेश सर्वोच्चको शुक्रबारको इजलासले गरेको हो। तामाङले आफू तारेखमा बसी मुद्दा लड्न पाऊ भनेर सर्वोच्च अदालतमा २०८० माघ २५ गते सर्वोच्चमा निवेदन दिएका थिए।
त्यसमा विशेष अदालतले दिएको आदेशमा सर्वोच्चले केही गर्न नपरेको भन्दै सदर गरेको हो।
सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार ‘कानुन बमोजिम’ गर्न आदेश दिएको हो।
‘कानुन बमोजिम गर्नू भनेको पहिले जे आदेश भएको छ। त्यसअनुसार अघि बढ्नु भनेर आदेश भएको हो,’ पाण्डेले भने।
यसअघि विशेष अदालतले सिभिल सेभिङ एण्ड क्रेडिट कोओपोरेटिभ लिमिटेडका सञ्चालक तामाङलाई दोषी ठहर गरी एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ बराबरको जरिवाना गरेको थियो।
त्यस्तै तीन वर्ष कैद सजाय समेत सुनाएको थियो।
विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, सदस्य तेजनारायण सिंह राई र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले २०८० माघ ७ गते तामाङलाई दोषी ठहर गरेको थियो। सोही इजलासले माघ २१ गते सजाय निर्धारण गरेको थियो।
उनीसँगै विशेष अदालतले सिर्जना शाक्य तामाङलाई पनि बिगो रकम एक अर्ब तीन करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बराबरको जरिवाना र एक वर्ष ६ महिना कैद ठहर गरेको थियो।
प्रतिवादी केशवलाल श्रेष्ठको हकमा २५ करोड ६५ लाख ८६ हजारु १२४ रूपैयाँ जरिवाना र एक वर्ष ६ महिना कैद हुने ठहर भएको थियो। इच्छाराज, सिर्जना, केशवलाल, मिना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत गर्ने फैसला भएको थियो।
क्याटेगोरी : समाचार
प्रतिक्रिया