नेपालको वैदेशिक व्यापार घाटाको चिन्ताजनक स्थिति !

काठमाडौं । नेपालको वैदेशिक व्यापार घाटा हाल निकै चिन्ताजनक अवस्थामा पुगेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म (९ महिना) मा आयात निर्यात दुवै बढेको देखाएको छ । तर आयात निर्यात बढे पनि गत वर्षको तुलनामा देशको व्यापार घाटा बढेको छ । चालू आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म (१० महिनामा) मुलुकको व्यापार घाटा १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै ७ प्रतिशतले बढी हो । अघिल्लो वर्षको समान अवधिमा व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ थियो ।
नेपालको व्यापार घाटा वर्षेनी बढ्दो क्रममा छ । यस आर्थिक वर्षको १० महिनामा देशले १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको १३ खर्ब ३ अर्ब ३५ करोडको तुलनामा १३.११ प्रतिशतले वृद्धि भएको हो ।
यद्यपि आयत मात्र होइन निर्यात पनि वृद्धि भएको देखिन्छ — ७२.७१ प्रतिशतको दरले बढेर २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ — तर कुल आयातको तुलनामा निर्यात अत्यन्त न्यून छ । अघिल्लो वर्ष यही अवधिमा निर्यात १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ मात्र थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदन अनुसार गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ९२.६ प्रतिशत, ६.७ प्रतिशत २५.८ प्रतिशतले वृद्धि भएको छ।
त्यस्तै, वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, चिया, जुटका सामान, खोटोको निर्यात बढेको छ भने पाम तेल, जिंक शिट, अदुवा, जुश, तयारी पोसाकको निर्यात घटेको छ। नौ महिनामा कुल वस्तु आयात १२.२ प्रतिशतले वृद्धि भई १३०९ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा २.८ प्रतिशतले कमी आएको थियो।
नेपालको व्यापार घाटा वृद्धिको मुख्य कारण आयातमुखी अर्थतन्त्र हो । मुलुकमा उत्पादनमूलक उद्योगको विकास नहुनु, कृषि उत्पादनमा आत्मनिर्भरता नहुनु, उपभोग्य वस्तु तथा औद्योगिक कच्चा पदार्थहरूमा आयातमा निर्भरता, र उच्च उपभोग प्रवृत्तिले आयातलाई तीव्र बनाएको छ । नेपालले पेट्रोलियम पदार्थ, गाडी, मोबाइल फोन, इलेक्ट्रोनिक सामान, औद्योगिक कच्चा पदार्थ र खाद्य वस्तुहरू सबैभन्दा बढी आयात गर्छ । यीमध्ये अधिकांश वस्तुहरू त्यस्ता छन्, जसको नेपालभित्र उत्पादन सम्भव भए पनि पर्याप्त नीतिगत सहयोग नपुग्दा आयातमा निर्भरता घट्न सकेको छैन ।
यसको विपरित निर्यात वस्तुहरूको सूची सीमित छ । नेपालबाट निर्यात हुने प्रमुख वस्तुहरूमा हातबुनाइ सामग्री, तयारी लुगा, कालीन, नुन, जडीबुटी, र कृषि उपज पर्छन् । यस्ता वस्तुहरूको उत्पादन तथा गुणस्तरमा सुधार नगरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सकिने अवस्था छैन । फलतः निर्यात वृद्धिको गति कागजी रूपमा हेर्दा उत्साहजनक देखिए पनि यसले व्यापार घाटा सन्तुलनमा ल्याउने गरी प्रभाव पार्न सकेको छैन ।
व्यापार घाटाको असर
व्यापार घाटा मुलुकको अर्थतन्त्रमा गम्भीर असर पार्ने समस्या हो । निर्यातभन्दा आयात धेरै हुँदा विदेशी मुद्रा सञ्चिति (Foreign currency reserve) घट्ने खतरा हुन्छ । साथै, मुलुकको चालु खाता (Current account) तथा भुक्तानी सन्तुलन (Balance of payments) नकारात्मक बन्ने सम्भावना हुन्छ । व्यापार घाटाले राष्ट्रिय मुद्राको अवमूल्यन गराउन सक्छ, जसको असर मूल्यवृद्धि –महँगी) मा प्रत्यक्ष देखिन्छ ।
यसैगरी, व्यापार घाटा स्थायी रूपमा बढिरहँदा विदेशी ऋण लिनुपर्ने अवस्था आउँछ । सरकारले घाटा बजेट पूर्तिको लागि लिएको सार्वजनिक ऋणको भाग अहिले प्रत्येक नेपालीको टाउकोमा ९० हजारको हाराहारीमा पर्न आउँछ । नेपालले वैदेशिक ऋणमा निर्भरता बढाउँदै लगेको छ, जुन दीर्घकालीन आर्थिक स्थायित्वका लागि चुनौतीपूर्ण हुन्छ । साथै, आयातमुखी प्रवृत्तिले स्वदेशी उत्पादनलाई पन्छ्याउने सम्भावना रहन्छ, जसले रोजगारी सिर्जनामा समेत अवरोध पु¥याउँछ ।
नेपालको व्यापार घाटा घटाउनका लागि रणनीतिक नीति तथा कार्यक्रमहरू लागू गर्नु आवश्यक छ । पहिलो, स्वदेशी उत्पादनको प्रवद्र्धनमा जोड दिनुपर्छ । कृषि, लघु तथा घरेलु उद्योग, पर्यटन, र हस्तकलाका क्षेत्रमा लगानी र प्रविधिको प्रयोगलाई बढाउँदै लग्नुपर्छ । नेपालमा उपलब्ध कच्चा पदार्थ प्रयोग गरेर उत्पादन बढाउने नीति अवलम्बन गर्नुपर्छ ।
दोस्रो, निर्यातमूलक उद्योगहरूलाई कर छुट, अनुदान, तथा अन्तर्राष्ट्रिय प्रमाणीकरणमा सहायता उपलब्ध गराइनु पर्छ । नेपालको हस्तकला, आयुर्वेदिक जडीबुटी, अग्र्यानिक कृषि उत्पादनहरू जस्ता क्षेत्रहरूमा ठूलो सम्भावना छ । यस्ता उत्पादनलाई अन्तर्राष्ट्रिय
बजारमा प्रवद्र्धन गर्ने दीर्घकालीन रणनीति बनाउनुपर्छ ।
तेस्रो, आयात प्रतिस्थापन गर्न सकिने वस्तुहरूको पहिचान गरी तिनको स्वदेशी उत्पादनमा सहयोग पु¥याउनुपर्छ । उदाहरणका लागि, फलफूल, तरकारी, अन्न, लत्ताकपडा, तथा निर्माण सामग्रीजस्ता दैनिक उपभोग्य वस्तुहरू नेपालमै उत्पादन गर्न सकिने भए तापनि तिनको आयात भइरहेको अवस्था हटाउनुपर्छ ।
चौथो, राजस्व तथा भन्सार नीतिलाई निर्यात अनुकूल बनाउन जरुरी छ । अहिले आयातमा बढी कर लगाएर सरकारको आम्दानी बढाउने नीति छ, तर निर्यातलाई बढाउन भने नीतिगत सहयोग पर्याप्त छैन । निर्यातप्रति प्रोत्साहन हुनेगरी भन्सार छूट, सहज प्रक्रिया, तथा ढुवानी सुविधा आवश्यक छ ।
निष्कर्ष
नेपालको व्यापार घाटा मुलुकको आर्थिक क्षेत्रको लागि गम्भीर चुनौती बनेको छ । निर्यात वृद्धिको गति उत्साहजनक देखिए पनि आयातको तीव्र वृद्धिले घाटालाई अझै बढाइरहेको छ । दीर्घकालीन समाधानको खोजीमा नीति निर्माताहरूले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने दिशामा ठोस कदम चाल्नुपर्छ । स्वदेशी उत्पादन प्रवद्र्धन, निर्यात वृद्धि, तथा आयात प्रतिस्थापन गर्न सके मात्र व्यापार घाटा सन्तुलनमा ल्याउन सकिन्छ । आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न व्यापार घाटा नियन्त्रण पहिलो प्राथमिकता हुनुपर्छ ।
क्याटेगोरी : अर्थ, समाचार
प्रतिक्रिया