Techie IT
Samayabaddha
बुधबार, २१ जेठ, २०८२

भारतमा कोभिडका संख्या बढ्दै


नयाँ दिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) फेरि फैलिन थालेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार, देशभर सक्रिय कोरोना भाइरस बिरामीहरूको संख्या ३ हजार ९६१ पुगेको छ ।

बिरामीको संख्या बढेसँगै पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु समेत भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । मर्ने मध्ये एक जना दिल्लीका हुन् भने अरू तमिलनाडु, महाराष्ट्र र केरलाका हुन् ।
यसरी, कोरोना भाइरसको ताजा प्रकोप देखिन थालेयता भारतभरमा ३२ जना सङ्क्रमितले ज्यान गुमाएका छन ।

यसैबीच दिल्लीमा २२ वर्षीया युवतीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको समाचारमा उल्लेख छ । स्वास्थ्य विभागका अनुसार, ती युवतीलाई पहिले नै क्षयरोग, फोक्सोको रोग र श्वासप्रश्वास नलीको सङ्क्रमण जस्ता गम्भीर रोग थिए । अस्पतालमा उपचारको क्रममा मृत्यु उनको मृत्यु भएको बताइएको छ ।

लक्षणहरू देखिएमा विद्यालय नपठाउन अपील

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढेसँगै विद्यालयहरुले अभिभावकहरूलाई आफ्ना बच्चाहरूलाई रुघाखोकी, खोकी, ज्वरो वा कोभिडका लक्षणहरु देखिए बालबालिकालाई विद्यालय नपठाउन अनुरोध गरेको छ ।
भारतमा पछिल्लो समय कोभिडबाट ज्यान गुमाउनेको संख्या बढिरहेको छ । अस्ति आइतबार मात्रै भारतमा कोभिडबाट ४ जनाले ज्यान गुमाएका छन् ।

पछिल्लो पटक सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा भएको छ । जहाँ ६ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कर्नाटकको मैसूरमा गत शुक्रबार ६३ वर्षीय एक पुरुषको मृत्यु भयो । यो राज्यमा कोरोनाका कारण तेस्रो मृत्यु हो ।

यसबाहेक केरला, राजस्थान, उत्तर प्रदेश र मध्य प्रदेशमा कुल १३ जना बिरामीको मृत्यु भएको छ । स्वास्थ्य विभागले मे ३१ मा दिल्ली, गुजरात, पञ्जाब र तमिलनाडुमा एक–एक जनाको मृत्युको पुष्टि गरेको छ ।

केरलामा सबैभन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितको हिसाबले महाराष्ट्र दोस्रो स्थानमा छ ।

शुक्रबार महाराष्ट्रमा ८४ नयाँ संक्रमित थपिएका थिए । त्यहाँ ६८१ बिरामी छन् । दुई राज्यमा देशभरका संक्रमितमध्ये ६० प्रतिशत संक्रमित रहेका छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/जीवन शैली

प्रतिक्रिया


ताजा अपडेट