विश्व प्रजनन दरमा अभूतपूर्व गिरावट देखा परेको राष्ट्रसङ्घको भनाइ

काठमाडौं । १४,००० मानिसहरूमा गरिएको एक सर्वेक्षणमा सहभागी पाँचमध्ये एकजनाले आफूले चाहेको सङ्ख्यामा बच्चा जन्माएका छैनन् वा पाउने आशा नगरेको बताएका छन
पाँच वर्षीया छोरी जन्मिएदेखि नै नम्रता नाङ्गिया र उनका श्रीमान् अर्को बच्चा जन्माउने विचारलाई लिएर दोधारमा छन्।
तर सधैँ उनीहरूका मनमा एउटै प्रश्न आउँछस् ‘के हामी यो खर्च धान्न सक्छौँ ?’
मुम्बईमा बस्ने उनी औषधि उद्योगमा काम गर्छिन् भने उनका श्रीमान् टायर कम्पनीमा काम गर्छन्।
तर एउटा बच्चा हुर्काउने खर्च नै सुरुमा अधिक छ। स्कुलको खर्च, स्कुल बस, पौडी अभ्यास सिकाउने कुरादेखि डाक्टर कहाँ जान पनि महँगो छ।
नम्रता आफै हुर्किँदैको कुरा भने भिन्न थियो।
‘हामी पहिले स्कुल मात्र जान्थ्यौँ, अतिरिक्त क्रियाकलाप केही थिएन। तर अब तपाईँले आफ्नो बच्चालाई पौडी खेल्न पठाउनुपर्छ, तपाईँले तिनीहरूलाई चित्रकलामा पठाउनुपर्छ, तिनीहरूले अरू के गर्न सक्छन् भनेर हेर्नुपर्छ।’
राष्ट्रसङ्घीय प्रतिवेदनमा के छ ?
संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९यूएनएफपीए०को नयाँ प्रतिवेदन अनुसार नम्रताको अवस्था अहिले विश्वव्यापी रूपमा आम समस्या बन्दै गइरहेको छ।
प्रजनन अधिकारमा काम गर्ने सो राष्ट्रसङ्घीय निकायले प्रजनन क्षमतामा गिरावटका बारेमा हालसम्मकै सबैभन्दा कडा शब्दावली प्रयोग गर्दै करोडौँ मानिसहरूले चाहेको सङ्ख्यामा बच्चाहरू जन्माउन नसक्ने चेतावनी दिएको छ।
जसका लागि उसले अभिभावकहरूले बेहोर्नुपर्ने निकै उच्च खर्च र उपयुक्त पार्टनरको अभावलाई केही कारणका रूपमा उद्धृत गरेको छ।
सर्वेक्षण गरिएका देशहरूमध्ये दक्षिण कोरिया, थाइल्यान्ड, इटली, हङ्गेरी, जर्मनी, स्वीडन, ब्रजिल, मेक्सिको, अमेरिका, भारत, इन्डोनेशिया, मोरक्को, दक्षिण अफ्रिका र नाइजिरियाले विश्वव्यापी जनसङ्ख्याको एक तिहाइ सङ्ख्या ओगटेका छन्।
ती मिश्रित रूपमा कम, मध्यम र उच्च आय भएका देशहरू र कम र उच्च प्रजनन क्षमता भएका देशहरू हुन्।
यूएनएफपिएले युवा वयस्कहरू र प्रजनन क्षमताको उमेर भएका मानिसहरूमाझ सर्वेक्षण गरेको थियो।
‘विश्वमा प्रजनन दरमा अभूतपूर्व गिरावट सुरु भएको छ,’ यूएनएफपिएकी प्रमुख डा नतालिआ कानेम भन्छिन्।
‘सर्वेक्षण गरिएका अधिकांश मानिसहरू दुई वा बढी बच्चाहरू चाहन्छन्। धेरैले आफूले चाहेको परिवार सिर्जना गर्न असमर्थ महसुस गर्नाले प्रजनन दर ठूलो मात्रामा घटिरहेको छ र त्यो वास्तविक सङ्कट हो,’ उनी भन्छिन्।
युरोपमा प्रजनन मनसायका बारेमा अनुसन्धान गरेकी उनले फिनल्याण्डको सरकारलाई जनसङ्ख्या नीतिमा सल्लाह दिन्छन्। ‘समग्रमा हेर्दा प्रजनन दरको आदर्श सङ्ख्याको लक्ष्य नाघिएको भन्दा कम हुने गरेको नै पाइन्छ,’ उनले भनिन्।
युरोपमा यसको लामो अध्ययन गरेकी उनलाई उस्तै प्रवृत्ति विश्वभरि प्रतिबिम्बित भएको देख्नु रोचक लागेको छ।
५० वर्ष भन्दा माथिका (३१ प्रतिशत) उत्तरदाताहरूले आफूले चाहेको भन्दा कम बच्चा जन्माएको बताएकोमा उनी अचम्ममा परिन्।
यस वर्षको अन्त्यतिर ५० देशहरूमा हुने अनुसन्धानको नमूना सर्वेक्षणका रूपमा गरिएको यस अध्ययनको दायरा सीमित छ।
जस्तो, देशहरूबीच उमेर समूहहरूको कुरा गर्दा निष्कर्ष निकाल्नका लागि नमूनाका आकार धेरै साना छन्। तर केही निष्कर्षहरू स्पष्ट छन्।
सर्वेक्षणका क्रममा आर्थिक सीमितताका कारण बच्चा जन्माउन रोकेको बताउनेहरू दक्षिण कोरियामा धेरै पाइएका छन् ।
सबै देशहरूमा औसत ३९ प्रतिशत मानिसहरू आर्थिक सीमितताका कारण बच्चा जन्माउन रोकिएको बताउँछन्।
यसमा सबैभन्दा धेरै दक्षिण कोरियामा ५८ प्रतिशत र कम स्वीडनमा १९ प्रतिशत छ।
औसतमा केवल १२ प्रतिशत मानिसहरूले मात्र बाँझोपन वा गर्भधारण गर्न कठिनाइ रहेको कुरालाई आफूले चाहेको सङ्ख्यामा बच्चा नहुनुको कारण बताएका छन्।
तर थाइल्याण्ड १९ प्रतिशत, अमेरिका १६ प्रतिशत, दक्षिण अफ्रिका १५ प्रतिशत, नाइजिरिया १४ प्रतिशत र भारत १३ प्रतिशत लगायतका देशहरूमा यस्तो सङ्ख्या बढी थियो।
पहिलोपटक ‘संयुक्त राष्ट्रसङ्घ कम प्रजनन क्षमताका मुद्दाहरूमा यसरी केन्द्रित भएको हो,’ हङकङ युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीका प्राध्यापक स्टुअर्ट गिटेल-बेस्टन भन्छन्।
हालसालैसम्म यो निकाय चाहनाभन्दा धेरै बच्चा जन्माउने महिलाहरू र गर्भ निरोधकको ‘अपुग आवश्यकता’मा धेरै केन्द्रित थियो।
तैपनि यूएनएफपिएले कम प्रजनन क्षमताको विषयमा प्रतिक्रिया जनाउँदा सावधानी अपनाउन आग्रह गरिरहेको छ।
‘यतिखेर हामी के देखिरहेका छौँ भने अत्यधिक जनसङ्ख्या वा घट्दो जनसङ्ख्यालाई ठूलै विपत्ति जसरी अतिरञ्जित बनाइन्छ जसले अवास्तविक प्रतिक्रिया निम्त्याउँछ,’ डा कानेम भन्छिन्।
डा. कानेमले औँल्याए अनुसार ४० वर्षअघि चीन, कोरिया, जापान, थाइल्याण्ड र टर्की सबै आफ्नो जनसङ्ख्या धेरै बढ्ता भएकोमा चिन्तित थिए।
सन् २०१५ सम्म आइपुग्दा उनीहरू प्रजनन क्षमता बढाउन चाहन्छन्।
‘सकेसम्म हामी ती देशहरू उग्र चिन्ताका कारण त्यससँग जुझ्ने हठात् नीतिहरू लागु गर्नबाट बचुन् भन्ने प्रयास गर्न चाहन्छौँ,’ प्राध्यापक गिटेल-बेस्टन भन्छन्।
‘हामीले कम प्रजनन क्षमता, वृद्धावस्थाको जनसङ्ख्या, जनसङ्ख्या स्थिरतालाई राष्ट्रवादी, आप्रवासी विरोधी नीतिहरू र लैङ्गिक रूढिवादी नीतिहरू लागु गर्ने बहानाको रूपमा प्रयोग गरिएको देखिरहेका छौँ,’ उनी भन्छन्।
यूएनएफपिएले बालबालिकाका लागि आर्थिक अवस्थाभन्दा पनि ठूलो बाधा समयको अभाव भएको पाएको छ। मुम्बईकी नम्रताको लागि यो सत्य हो।
उनी दैनिक कम्तीमा तीन घण्टा आफ्नो कार्यालय आउजाउ गर्नमा बिताउँछिन्।
घर पुग्दा उनी थाकेकी हुन्छिन् तर आफ्नी छोरीसँग समय बिताउन चाहन्छिन्। उनको परिवारलाई धेरै निद्रा पर्दैन।
‘काम गरेको दिनपछि, तपाईँमा प्रस्ट रूपमा एक आमा हुनुको नाताले आफ्नो बच्चासँग पर्याप्त समय नबिताइरहेकामा ग्लानि महसुस हुन्छ,’ उनी भन्छिन्।
‘त्यसैले हामी केवल एउटै (बच्चा)मा ध्यान केन्द्रित गर्न गइरहेका छौँ।’
बीबीसीको सहयोगमा
क्याटेगोरी : समाचार
प्रतिक्रिया