Techie IT
Samayabaddha
आईतबार, १ असार, २०८२

चे को ९७ औं जन्मोत्सव: अखिल क्रान्तिकारीद्वारा स्मरण


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीद्वारा विश्व कम्यु्निस्ट आन्दोलनको क्रान्तिकारी योद्धा चे ग्वेभाराको स्मरण गरेको छ । जुन १४ तारिख चे को ९७ औँ जन्मजयन्तीको अबसरमा अखिल क्रान्तिकारीको प्रशिक्षण विभागले अनामनगरस्थित ईच्छुक प्रतिष्ठानमा “घुमन्तेदेखि योद्धासम्म” विषयक अन्तरक्रिया कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका सचिव राम कार्कीले कृष्ण सेन र चे को जीवन नै कविता र किताबको संग्रह बनेको यथार्थता उजागर गरे । सचिव कार्कीले चे उच्च मध्यम वर्गीय परिवारमा जन्मे पनि आफ्नो जीवनलाई कसरी श्रम सँगसँगै जोडेर लगेका थिए भन्ने कुरा अहिलेका नेपाली क्रान्तिकारी युवाले सिक्नुपर्ने दर्शाए । सचिव कार्कीले चे को जीवनकालमा उनले फोटो ग्राफी, कारखानामा बोरा उठाउने देखि लिएर बन्दुकसम्म बोकी उत्पीडित वर्गको लागि लडेर अजम्बरी जीवन बाँचेको स्मरण गराए ।

पूर्व मन्त्री समेत भइसकेका माओवादी सचिव कार्कीले कार्यक्रममा सहभागी अखिल क्रान्तिकारीका विद्यार्थीहरुलाई आफ्ना वर्तमानलाई अतितबाट मुक्त गराएर क्रान्तिको क्रान्तीकरण गर्न सक्नुपर्ने सुझाव दिए ।

वैचारिक नेताको रुपमा चिनिने कार्कीले नेकपा माओवादीमा धेरै सिट जित्दा पार्टीमा तानाशाह प्रवृत्ति हावी भएको, अहिले पार्टीभित्र अराजकता देखिएको यथार्थतालाई प्रष्ट पार्ने काम गरे । कम्युनिस्ट पार्टीमा हुने झैझगडा, किचलोको मुख्य कारण पारदर्शिताको अभाव भएको उनको दावि छ ।

उनले क्रान्तिकारी बन्नलाई मुख्यतः आर्थिक लोभबाट मुक्त हुन पर्ने बताए । कार्कीले क्रान्तिकारी पंक्तिहरुले चे ग्वेभारा र भगतसिंह जस्तै अध्ययनशिल बन्न आग्रह गरे । क्रान्तिकारी बनिरहन संगत पनि महत्वपूर्ण हुने कार्कीको तर्क थियो ।

कार्यक्रमका अर्का वक्ता एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनाले क्रान्तिको, परिवर्तनको कुरा गर्न नरुचाउने र आलोचना सहन गर्न नसक्ने व्यक्ति कहिल्यै क्रान्तिकारी बन्न नसक्ने बताइन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको सार्वजनिक आलोचना गरेर निलम्बनमा परेकी नेतृ तिमिल्सेनाले अहिले जुन राजनीति परिवर्तन भए पनि नेताको चरित्र, विश्व विद्यालयको ०६३ पछिको अवस्था, सार्वजनिक संस्थाको अवस्थामा कुनै परिवर्तन भयो त भन्दै सबैले गम्भीर भएर समीक्षा गर्न आग्रह गरिन् ।

त्यस्तै पूर्व विद्यार्थी नेता रोहित बास्तोलाले चे ले क्युबामा लडेको लडाई अमेरिकी एकाधिकार विरुद्ध, वहुराष्ट्रिय कम्पनीको विरुद्ध र औद्योगिक पूँजीवादको विरुद्ध थियो भन्ने कुरा स्पष्ट गरे । नेता वास्तोलाले ग्वाटेमालामा हिल्दा गाडियासँगको भेटपछि चे लाई मार्क्सवादप्रति अध्ययन गर्न उर्जा मिलेको र त्यसपश्चात फिडेल क्यास्ट्रोसँग भेट भएको कुराको स्मरण गराए । चे एक अन्तर्राष्ट्रिवादी, आदर्शवादी र क्रान्तिको भोको भएको नेता रोहितले बताए ।

चेग्वेभाराको जन्म १९२८ जुन १४ मा अर्जेनटिनाको रोजारियो शहरमा भएको थियो । उनी पेशाले डाक्टर भए पनि आफ्नो जीवन क्रान्तिकारी सिपाहीको रुपमा व्यतित गरे । क्युवाको लडाई सम्पन्न भएपछि चेग्वेभाराले त्यहाँका सरकारी उच्चपदहरु प्राप्त गरेपनि त्यसलाई त्यागेर अ‍फ्रिकी देश कङगो र बोलिभियामा समेत क्रान्ति गर्न अग्रसरता देखाए । चे को बोलिभियामा ३९ वर्षको उमेरमा क्रूरतापूर्वक हत्या भएको थियो ।

अखिल (क्रान्तिकारी) का अध्यक्ष विजय सापकोटाको अध्यक्षतामा र उपाध्यक्ष तथा प्रशिक्षण विभाग प्रमुख विराज थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट