नारायणी नदीले खतराको तह पार गर्दा नवलपरासी आसपासका क्षेत्रमा जोखिम ! देशका ३७ जिल्लामा सतर्ककता अपनाउन आग्रह

काठमाडौं । नवलपरासी, चितवन आसपासमा ठूलो पानी परेसँगै नारायणी नदीमा जलसतहले खतराको तह पार गरेको छ । नवलपरासीको डण्डा र दुम्कौली आसपासका क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
महाशाखाले ३ दिन कोशी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने अनुमान गरेको छ । तर बाढी घटबढ भइरहने तथा नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तह आसपास रहने सम्भावना देखिएकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
काठमाडौं सहित ३७ जिल्लामा बाढीको जोखिम
आज पाँचथर, तेह्रथुम, ओखलढुंगा, ताप्लेजुङ, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीमा आसपास भई वहने अधिकांश ससाना नदीहरूमा बहाब बढ्ने अनुमान गरेको छ ।
यसैगरी, खोटाङ, काभ्रे, मकवानपुर, काठमाडौं, गोरखा, तनहु, लमजुङ, कास्की, स्याङजा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुरपूर्व, नवलपुरपश्चिम, अर्घाखाँची, पाल्पा, रुपन्देही, बाँके, दाङ, प्युठान, जाजरकोट, बैतडी, दार्चुला, बझाङ, डोटी र डडेलधुरा आसपासका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक महाशाखाले अनुरोध गरेको हो ।
यीमध्ये बाढी महाशाखाले १८ जिल्लालाई भने पहेँलो रङ अर्थात् एल्लो वारेन्ट दिएको छ। यो सूचीमा भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, गोरखा, तनहु, लमजुङ, कास्की, स्याङजा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुरपूर्व, पाल्पा र रुपन्देही छन् ।
गएराति मध्यम वर्षा भएको काठमाडौं उपत्यकामा बिहान पानी पर्नेक्रम रोकिएको छ । आज दिउँसो पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । सबै प्रदेशहरूका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया