Techie IT
Samayabaddha
शनिबार, ७ असार, २०८२

विनयी खोलाको बाढीले बस बगाउँदा यात्रुहरुमा मनोवैज्ञानिक त्रास !


बुटवल । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–४ स्थित विनयी खोलामा आएको आकस्मिक बाढीले ३८ जना यात्रु बोकेको बस हिजो राति बगाउँदा पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । तत्काल उद्धारमा जुट्दा घटनामा कुनै मानवीय क्षति हुन पाएन, तर यात्रुहरूका सामान बगाएको छ साथै उनीहरुमा फैलिएको त्रासले पारेको मनौवैज्ञानिक असरको क्षति अनुमान गर्न सकिंदैन । अहिले क्षेत्रीय यातायात प्रणाली अस्तव्यस्त बनेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहीबार राति करिब ११ बजेतिर भे १ ख ४०८५ नम्बरको यात्रुबाहक बस विनयी खोलामा फसेर बाढीले बगाएको हो । बस काठमाडौंबाट बर्दियातर्फ गइरहेको थियो र त्यसमा ३८ जना यात्रु सवार थिए ।

प्रहरीका सूचना अधिकारी डीएसपी मधु नेपालका अनुसार बस खोलामा फसेपछि तत्काल उद्धार कार्य सुरु गरिएको थियो । जोखिम मोलेर राति नै स्थानीय बासिन्दा, सुरक्षाकर्र्मी र उद्धार टोलीको सहयोगमा सबै यात्रुहरूलाई सकुशल उद्धार गरिएको हो ।
बाढीले बगाएको बस शुक्रबार बिहान मात्रै करिब एक किलोमिटर तल फेला परेको प्रहरीले जानकारी दिएको छ । बसको अगाडिको भाग खोलाको किनारमा अड्किएको अवस्थामा भेटिएको हो।

विनयी खोलामाथि स्थायी पुल निर्माण नहुँदा अहिलेसम्म डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको छ । वर्षात्को समयमा बारम्बार बाढी आउँदा डाइभर्सन बग्ने र त्यसले यातायात ठप्प पार्ने समस्या पुरानो भए पनि समाधानमा भने ठोस प्रगति हुन सकेको छैन ।

वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको अनुरोध

यातायात अवरुद्ध हुने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय नवलपुरले बिहीबार साँझ नै सूचना जारी गर्दै यात्रु तथा चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको थियो । तर सो सूचनापछि पनि केही सवारी साधन सोही डाइभर्सनमार्फत गुड्ने प्रयास गर्दा जोखिममा परेका हुन् ।

डीएसपी नेपालका अनुसार डाइभर्सनको अवस्था अत्यन्तै कमजोर रहेकाले पूर्ण पुनःनिर्माण नगरेसम्म यातायात सञ्चालन असम्भव छ । स्थानीय तह, सडक डिभिजन र प्रहरीको समन्वयमा तत्काल अस्थायी समाधानका उपाय खोज्ने प्रयास भइरहेको जनाइएको छ ।

स्थानीयवासीका अनुसार हरेक वर्ष विनयी खोलामा यस्तै दुर्घटना हुने गरेका छन् तर सम्बन्धित निकायले समस्या दीर्घकालीन रूपमा समाधान गर्न तत्परता देखाएको छैन । हजोको घटनाबाट सचेत हुँदै सम्बन्धित निकायले दीर्घकालीन समाधानमा ध्यान केन्द्रित गरोस् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट