Techie IT
Samayabaddha
सोमबार, १६ असार, २०८२

गभर्नर पौडेलको घरजग्गामा भन्दा शेयरमा ठूलो लगानी !


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरणले उनी करोडौं मूल्य बराबरको अचल र चल सम्पत्तिको स्वामी रहेको देखाएको छ।

हालै राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि उनले ऐन अनुसार आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

गभर्नर पौडेलले आफ्नो अचल सम्पत्तिमा दुईवटा घर रहेको उल्लेख गरेका छन् । तीमध्ये एक ललितपुरको सैंबुमा रहेको घरको जग्गाको मूल्य १ करोड ५५ लाख रुपैयाँ रहेको छ भने अर्को नवलपरासीको गैंडाकोटस्थित घरको जग्गा मूल्य ६० लाख रुपैयाँ रहेको छ। यी सम्पत्तिहरू पैतृक र स्वआर्जन स्रोतबाट प्राप्त भएको उल्लेख गरिएको छ।

सुन, हिरा र नगद

गभर्नर पौडेलका नाममा ४५ तोला सुन र १५ लाख रुपैयाँ बराबरको हिराको गहना रहेको उल्लेख छ। उनले सुनलाई पैतृक सम्पत्ति भनेका छन् भने हिरा भने आफ्नै आम्दानीबाट किनेको उल्लेख गरेका छन्।
बैंक खातामा रहेका नगद विवरण पनि उनले स्पष्ट गरेका छन्। उनका नाममा:
• सानिमा बैंकमा – रु १३,२३,१९२
• नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा – रु २,५९,३४४
• सानिमा बैंकको डलर खातामा – ६६.७८ अमेरिकी डलर

श्रीमती शर्माको नाममा:
• सानिमा बैंकमा – रु १२,५४७
• प्रभु बैंकमा – रु ४,७३,८२२
• सानिमा बैंकको डलर खातामा – ४,४४६ अमेरिकी डलर
बैंक खातामा रहेको सबै रकम स्वआर्जन स्रोतबाट आएको उल्लेख गरिएको छ।

करोडौंको सेयर लगानी

गभर्नर पौडेलको नाममा विभिन्न बैंक तथा ऊर्जा कम्पनीमा ठूलो मात्रामा सेयर रहेको सार्वजनिक गरिएको छ। तीमध्ये प्रमुख सेयर लगानीहरू यस्ता छन् :
• सानिमा बैंकमा – रु २,४४,१६,६०० बराबरका २,४४,१७६ कित्ता प्रवर्द्धक सेयर
• सानिमा माइ हाइड्रोपावरमा – रु ९२,५७,९०० बराबरका ९२,५७९ कित्ता सेयर
• सानिमा मिडल तमोर हाइड्रोपावरमा – रु १,८८,००,००० बराबरका १,८८,००० कित्ता सेयर
• ग्लोबेको प्रा.लि.मा – रु ९३,४१,७०० बराबरका १,८६,८३४ कित्ता सेयर
• संयुक्त ऊर्जा हाइड्रोपावरमा – रु ५ करोड बराबरका ५ लाख कित्ता सेयर
• चितवन इनर्जीमा – रु २ करोड ५० लाख बराबरका २ लाख ५० हजार कित्ता सेयर

श्रीमती प्रतिभा शर्माको नाममा पनि ग्लोबेको प्रा.लि.मा ७५ हजार कित्ता सेयर रहेको छ, जसको मूल्य रु ३७,५०,००० बराबर रहेको उल्लेख गरिएको छ।
ऋण छैन, गाडी छ

सम्पत्ति विवरणमा उल्लेख भएअनुसार गभर्नर पौडेलले कसैबाट ऋण लिएकf छैनन्। तर, श्रीमतीको नाममा ४४ लाख रुपैयाँ मूल्य बराबरको सुजुकी कार रहेको उल्लेख छ।

गभर्नर पौडेलको सम्पत्ति विवरणले देखाउँछ कि उनीसँग अचल, चल सम्पत्तिको ठूलो संख्यामा स्वामित्व छ। सम्पत्ति विवरण अनुसार अधिकांश सम्पत्ति उनका श्रीमतीको नाममा दर्ता गरिएको छ, जुन आम चलनभन्दा फरक होइन। यद्यपि सम्पत्ति विवरण पारदर्शितापूर्वक सार्वजनिक गर्नु सार्वजनिक पदमा बस्ने व्यक्तिको उत्तरदायित्व र नैतिकताको एउटा सकारात्मक उदाहरण हो।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट