Techie IT
Samayabaddha
बिहीबार, १९ असार, २०८२

कृष्ण सेन ‘इच्छुक’को सम्झनामा समर्पित नयाँ गीत ‘सलाम इच्छुक’ को छायांकन


काठमाडौं । इच्छुकको सम्झनामा समर्पित गीतको छायांकन राज्यद्वारा हत्या गरिएका प्रगतिशील पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘इच्छुक’को सम्झनामा समर्पित नयाँ गीत ‘सलाम इच्छुक’ को छायांकन भएको छ । गीतमा महेश्वर दाहालको शब्द, केशर कालिकोटेको संगीत र रमण थामीको स्वर रहेको छ ।

सामाजिक न्याय, क्रान्तिकारी विचार र मुक्तिको सपना बोकेको इच्छुकको योगदानलाई स्मरण गर्दै यो गीत तयार पारिएको जनाइएको छ ।

गीतकार महेश्वर दाहालले भने, “यो गीत इच्छुकजस्ता अग्रगामी युगदृष्टा पत्रकारप्रतिको श्रद्धा हो । इच्छुकको प्रेरणालाई गीतमार्फत जीवित राख्ने प्रयास गरेका हौं ।”

संगीतकार केशर कालिकोटेले इच्छुकको जीवनबाट प्रभावित भएर सशक्त धुन तयार गरिएको बताए । “यो गीत कुनै साधारण श्रद्धाञ्जली होइन, यो एउटा क्रान्तिकारी चेतनाको प्रतिध्वनि हो,” उनले भने ।

स्वरकार रमण थामीले गीत गाउँदा आफू भावुक भएको बताए । “इच्छुकको योगदानको स्मरण गर्नु भावनात्मक मात्रै होइन, वैचारिक उत्तराधिकारको सम्मान पनि हो,” थामीले भने ।

कृष्ण सेन इच्छुक तत्कालीन जनयुद्धकालमा, २०५९ साल जेठ १३ गते राज्यका सुरक्षाकर्मीहरूले उनलाई पक्राउ गरी यातना दिएर हत्या गरेका थिए । उनको हत्या पछिको समाचारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा ठूलो चर्चा पाएको थियो ।

गीत ‘सलाम इच्छुक’लाई केही दिनभित्रै भिडियोसहित युट्युब र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने तयारी भइरहेको छ ।

जनयुद्धकालका साहित्य संगीतका अगुवा तथा नेता मणि थापाका अनुसार क्रान्तिकारी कवि, पत्रकारिताका प्रतीकका रूपमा रहेका इच्छुकको नाममा सिर्जित यो गीत नयाँ पुस्तालाई विचार र बलिदानको मूल्य सम्झाउने माध्यम बन्ने विश्वास गरिएको छ ।

सेनसँगै लामो समय संगत गरेका साहित्यकार ईश्वरचन्द्र ज्ञवालीले यसले गीत संगीतमा इतिहासको मूल्यांकनमा नयाँ मानक स्थापित गर्न मद्दत गर्ने बताए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट