उपाधिसहित स्वदेश फर्कियो यू–१६ क्रिकेट टोली, अपराजित यात्रामा ऐतिहासिक प्रदर्शन

काठमाडौं । मलेसियामा सम्पन्न एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि बोकेर नेपाली यू–१६ राष्ट्रिय टोली आइतबार राति स्वदेश फर्किएको छ । उपाधिसहित स्वदेश फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी तथा समर्थकहरूले भव्य स्वागत गरेका छन् । क्यानका सचिव पारस खड्काले टोलीलाई स्वागत गर्दै टोलीको ऐतिहासिक सफलता प्रशंसायोग्य भएको बताए ।
फाइनलमा रोमाञ्चक जित
बांगीमा भएको उपाधि भिडन्तमा नेपालले सिंगापुरलाई २ विकेटले हराउँदै उपाधि जित्यो । ११४ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा ५८ रनमै ५ तथा ९२ रनमै ८ विकेट गुमाइसकेको नेपाल हारको नजिक पुगेको थियो । तर, जोय थापा र अभय यादवको संयमित साझेदारीले नेपाललाई नाटकीय जित दिलायो ।
नेपालले २९ ओभरमै ८ विकेटको क्षतिमा लक्ष्य पार ग¥यो । जोयले ५३ बलमा अविजित २४ रन र अभयले १२ बलमा अविजित १० रन बनाउँदै टिमलाई संकटबाट उकासे ।
यसअघि, सिंगापुरले टस जितेर पहिले ब्याटिङ गर्दै ४०.५ ओभरमा ११३ रनमै अलआउट भएको थियो । नेपालका लागि अभय यादव र सुशीलबहादुर रावलले समान ३ विकेट लिए भने शुभम खनालले २ र विपिनप्रसाद शर्माले १ विकेट लिए ।
यो खेलको रमाइलो पक्ष भनेको नेपालले प्रतियोगिताभर एक पनि खेल नहार्दै अपराजित रहँदै उपाधि जित्यो । समूह चरणदेखि नै बलियो प्रदर्शन गरेको नेपालले सेमिफाइनलमा आयोजक मलेसियालाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
मलेसियाले दिएको ९१ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमै मात्र १ विकेट गुमाएर पार ग¥यो । परिमार्जन यादवले ३५ बलमा ५९ रन र श्रीवांश बजगाईंले २२ बलमा २३ रन बनाए ।
त्यसअघि, नेपालले टस जितेर फिल्डिङ रोज्दै मलेसियालाई ४३.१ ओभरमा ९० रनमै समेटेको थियो । अभय यादवले १५ रन खर्चेर ४ विकेट र शुभम खनालले १२ रन खर्चेर ३ विकेट लिए ।
रेकर्ड ब्रेकर प्रदर्शन
समूह चरणमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै एकपछि अर्काे टोलीलाई विशाल अन्तरले पराजित ग¥यो ।
भुटानविरुद्ध ३५८ रनको चुनौती पछ्याउने क्रममा भुटान ६० रनमै अलआउट भयो । नेपालले २९८ रनको फराकिलो जित निकाल्यो । यस खेलमा रौनक श्रीवास्तवले १३२ बलमा १६८ रन बनाए, जुन नेपाली यू–१६ खेलाडीका लागि उच्च व्यक्तिगत स्कोर हो ।
इन्डोनेसियाविरुद्ध नेपालले ५ विकेटको क्षतिमा ४२० रन बनायो, जुन प्रतियोगिताको सर्वाधिक स्कोर हो । प्रसिद्द जैसीले १३२ रन र रौनक श्रीवास्तवले ८८ रन जोडे । इन्डोनेसिया ५० रनमै समेटिँदा विपिन प्रसाद शर्माले ६ विकेट लिए ।
यस प्रतियोगिताबाट नेपाली यू–१६ टोलीले भविष्यका लागि क्रिकेट क्षेत्रमा उज्यालो सम्भावना देखाएको छ । बलिङ, ब्याटिङ र समग्र टिम समन्वयको दृष्टिकोणले नेपाली टोली निकै बलियो देखिएको थियो ।
नेपाल क्रिकेट संघले पनि युवा क्रिकेटरहरूको यो सफलतालाई दीर्घकालीन बनाउन उनीहरूलाई उच्चस्तरको प्रशिक्षण तथा अवसर दिनुपर्नेमा जोड दिएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया