काठमाडौंका नगरप्रमुख बालेन साहद्वारा कार्यपालिका बैठक आह्वान

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आगामी वर्षको नीति, कार्यक्रम र बजेटको तयारीको लागि कार्यपालिका बैठक आह्वान गरेका छन् । मेयरको सचिवालयका अनुसार कार्यपालिका बैठक असार २८ गते शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।
यस बैठकमार्फत असार मसान्तभित्रै आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट पारित गर्नुपर्ने संवैधानिक बाध्यतालाई ध्यानमा राख्दै तयारी गरिएको हो । मेयर बालेन नेतृत्वको महानगरले असारमै बजेट पारित गरेर योजनाहरू कार्यान्वयनमा लैजान सक्रियता देखाएको छ ।
कार्यपालिका बैठकअघि शुक्रबार दिउँसो १२ बजे ‘बजेट स्रोत अनुमान तथा सीमा निर्धारण समिति’को बैठक बस्ने कार्यक्रम तय भएको छ । उक्त समितिको बैठकले महानगरको आम्दानी र खर्चको यथार्थपरक आँकलन गर्दै बजेटको प्रारूप निर्धारण गर्नेछ । स्रोतको यथोचित व्यवस्थापन र प्राथमिकताका आधारमा कार्यक्रम तय गर्ने रणनीति लिइएको मेयरको सचिवालयले जनाएको छ ।
समितिको सिफारिसको आधारमा कार्यपालिका बैठकमा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित बजेट प्रस्ताव पेश गरिनेछ । त्यसपछि नगर सभाको बैठकमार्फत सो प्रस्ताव पारित गरिने प्रक्रियालाई अघि बढाइने छ ।
शुक्रबारकै कार्यपालिका बैठकमा नगर सभाको मिति तोकिने सम्भावना छ । नगर सभा नै बजेट पारित गर्ने संवैधानिक संरचना हो । त्यसैले कार्यपालिका बैठकले नगर सभा कहिले बोलाउने भन्ने निर्णय पनि गर्नेछ । त्यसपछि नगर सभामार्फत बजेट, नीति र कार्यक्रमलाई औपचारिक मान्यता दिइनेछ ।
संविधान तथा स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक स्थानीय तहले असार मसान्तभित्र आगामी आर्थिक वर्षको बजेट पारित गर्नुपर्छ । गत वर्ष काठमाडौं महानगरले समयमै बजेट प्रस्तुत गरे पनि नगर सभामा छलफल तथा स्वीकृतिका क्रममा केही ढिलाइ भएको थियो । यस वर्ष भने त्यो अवस्था नदोहो¥याउने गरी तयारी भइरहेको बताइएको छ ।
गत वर्ष काठमाडौं महानगरले करिब २५ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो । शिक्षा, पूर्वाधार, स्वास्थ्य, वातावरण तथा प्रविधि जस्ता क्षेत्रलाई प्राथमिकता दिइएको थियो । चालु वर्षको बजेटमा पनि यी क्षेत्रमा निरन्तरता दिइने अनुमान छ । साथै, नयाँ योजनाहरूमा नवप्रवर्तन, स्मार्ट सिटी अवधारणा, सार्वजनिक यातायात सुधार, वातावरणीय सरोकार र डिजिटल सेवा प्रवद्र्धनमा ध्यान केन्द्रित हुने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया