Techie IT
Samayabaddha
सोमबार, ३० असार, २०८२

प्रधानमन्त्री गएको स्पेन कार्यक्रममा गएर नफर्किएकाहरूबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हालै सम्पन्न स्पेन भ्रमणपछि मानव तस्करीको आशंकासहित अर्काे बहस जन्माएको छ ।

प्रधानमन्त्री गएको कार्यक्रममा विचौलियाहरुले भिजिट भिसामार्फत पैसा असुल गरी मानव तस्करी गरेको अडियो समेत बाहिरिए पछि यसले नयाँ बहस जन्माएको हो ।

यसै सन्दर्भमा गृहमन्त्री रमेश लेखकले उक्त भ्रमणमा प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधिमण्डल बाहेक अन्य को को स्पेन गए र फर्केनन् भन्नेबारे छानबिन गर्न निर्देशन दिएका छन् ।

गृहमन्त्री लेखकले सोमबार बिहान गृह सचिव गोकर्णमणि दुवाडी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापालाई विशेष निर्देशन दिँदै यस विषयमा निष्पक्ष, तथ्यमा आधारित र छरितो अनुसन्धान अघि बढाउन आदेश दिएका हुन् ।

प्रधानमन्त्री ओली १४ असारमा स्पेन भ्रमणमा गएका थिए । उक्त भ्रमणमा सहभागी हुने भनिएका केही व्यक्तिहरू सरकारी प्रतिनिधिमण्डलमा नपर्ने भए पनि उनीहरू कसरी, कुन प्रक्रिया र कुन संस्थामार्फत स्पेन पुगे भन्नेबारे जनचासो बढ्दै गएको छ । यस्ता व्यक्तिहरूको भिसा प्रक्रिया, यात्राको समन्वय तथा आर्थिक लेनदेनका विषयमा केही तथ्यसहितका आशंकाहरु देखा परेका छन् ।

गृहमन्त्री लेखकले भने “प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डल बाहेक स्पेन को–को गए, कुन विधिप्रक्रिया र कुन संस्थामार्फत गए भन्नेबारे मैले छानबिन गर्न निर्देशन दिएको छु । जानका लागि भिजिट भिसाको प्रबन्ध कस्ले ग¥यो भन्नेबारे समेत अनुसन्धान हुनेछ ।”

मन्त्री लेखकको निर्देशनपछि गृह मन्त्रालयले अनुसन्धानलाई उच्च प्राथमिकता दिने निर्णय गरेको छ । अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानव बेचबिखन अनुसन्धान ब्युरोलाई विशेष रूपमा खटाइने बताइएको छ ।

यी निकायहरूले स्पेन गएर उतै बस्न लागेको वा हालसम्म नफर्किएका व्यक्तिहरूको विवरण संकलन गर्नेछन् । साथै, यस्तो प्रक्रिया कसको मिलोमतोमा सम्भव भयो भन्नेबारे पनि अनुसन्धान गरिने बताइएको छ ।

गृहस्रोतका अनुसार भ्रमणका नाममा पैसा असुली गरेर स्पेन लैजाने गिरोह सक्रिय रहेको शंका गरिएको छ । त्यसैले यस्ता गिरोहहरूमाथि मानव तस्करीअन्तर्गत अनुसन्धान गर्न आवश्यक देखिएको हो ।

गृहमन्त्री लेखकले अनुसन्धान निष्कर्षमा आधारित भएर दोषी ठहरिएका व्यक्तिहरूमाथि कडा कारबाही गरिने बताएका छन् ।

यो निर्देशनलाई गृह मन्त्रालय र प्रहरी प्रशासनले अत्यन्त संवेदनशील रूपमा लिएको स्रोतको दाबि छ ।

प्रधानमन्त्रीको आधिकारिक भ्रमणमा यस्ता शंकास्पद गतिविधिहरू जोडिनुले नेपाल सरकारको छविमा गम्भीर असर पार्न सक्छ ।

नेपालमा भिजिट भिसाको दुरुपयोग गरेर विदेशी भूमिमा हराउने प्रवृत्तिले मानव तस्करीको स्वरूप बदलिएको छ भन्ने कुरा स्पष्ट भएको छ ।

यदि सरकारले निष्पक्ष, प्रभावकारी र पारदर्शी अनुसन्धान ग¥यो भने, यो कदम सरकारको प्रतिबद्धता र सुशासनप्रतिको धारणा मजबुत बनाउने एउटा सकारात्मक मोड सावित हुन सक्छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट