बागमती प्रदेशमा कांग्रेसभित्र किचलो ः मुख्यमन्त्री लामा आफ्नै पार्टीबाट अविश्वासको घेरामा !

काठमाडौं । बागमती प्रदेशमा सत्तारूढ नेपाली कांग्रेसभित्र गम्भीर राजनीतिक संकट देखा परेको छ । कांग्रेसकै मुख्यमन्त्री बहादुरसिंह लामा तामाङ आफ्नै पार्टीका सांसदहरूबाट अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । लामालाई सत्ताच्युत गर्ने योजनासहित २१ जना प्रदेश सांसदहरूले कांग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।
मुख्यमन्त्री लामाविरुद्धको यो कदम नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको नेतृत्वमा अघि बढाइएको हो । प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरूमध्ये बानियाँसहित शिवराज अधिकारी, कन्चन चन्द्र बादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, विनु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, माया श्रेष्ठ, उर्मिला नेपाल, शान्ता ढकाल, प्रभात तामाङ, छिरिङ्ग दोर्जे लामा, मिना पराजुली, याङ्किला शेर्पा, मिनकृष्ण महर्जन, विमल ठकुरी, मधु कुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने र सुना परियार छन् ।
यो समूहले मुख्यमन्त्री परिवर्तन गरी सभापति बानियाँलाई नयाँ संसदीय दलको नेता बनाएर मुख्यमन्त्री बनाउने तयारी गरिरहेको छ ।
विपक्षको दबाबमा परेका मुख्यमन्त्री लामा भने सांसदहरू फकाउने अभियानमा सक्रिय देखिन्छन् । बानियाँ समूहका सांसदहरूका अनुसार अहिले मुख्यमन्त्रीसँग १६ सांसदहरूको साथ छ । तर बहुमतका लागि कम्तीमा १९ सांसदहरूको समर्थन आवश्यक पर्छ ।
सांसद सुरजचन्द्र लामिछानेका अनुसार तामाङले अहिले अविश्वास प्रस्तावलाई ‘फेस गर्ने’ तयारी गरेको आफूहरुले बुझेको जानकारी दिए । “म फेस गर्छु त भनिरहनुभएको छ । तर प्रक्रिया के हो ?’ भन्दै लामिछानेले प्रश्न उठाएका छन् ।
बानिया पक्षमा हस्ताक्षर गरेका सांसदहरुले मुख्यमन्त्री तामाङ अहिले पार्टी सभापति शेरबहादुर देउवासँग पनि भेटघाट गर्न पनि नमानेको आरोप लगाएका छन् । बानियाँ पक्षका नेताहरूका अनुसार देउवाले पटक–पटक बोलाउँदा पनि तामाङ सम्पर्कमा नआएको बताए । “उहाँ भागिरहेको अवस्थामा हुनुहुन्छ” बानियाँ पक्षका सांसद लामिछानेले बताए ।
हालको बागमती प्रदेश सभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । तर, त्यसभित्रै दुई धार देखिएपछि सत्ता समीकरणमा फेरबदल हुने देखिएको छ । यदि बानियाँ समूहले पूर्ण २१ मत कायम राख्न सकेमा मुख्यमन्त्री तामाङको पद जोगिने सम्भावना न्यून देखिन्छ ।
यद्यपि, तामाङले आफ्नो पक्षमा रहेका १६ सांसदहरूमध्ये केही बानियाँ समूहबाट फिर्ता गराएर संख्यामा हेरफेर गर्न खोजिरहेको बुझिएको छ । यस्तो अवस्थामा अविश्वास प्रस्तावमाथिको मत विभाजन निर्णायक हुनेछ ।
पार्टीभित्रैबाट उठेको अविश्वास प्रस्ताव, पार्टी सभापतिको निर्देशनलाई अवज्ञा, र सांसदहरूबीचको फुटले नेपाली कांग्रेस बागमतीमा गुटबन्दीको स्पष्ट झल्को दिएको छ ।
लामा र बानियाँ दुबै जना संस्थापन पक्षका नेता हुन् । प्रदेशसभा सदस्य निर्वाचित भए लगतै लामा र बानियाँ दुबैले संसदीय दलको नेता बन्न होडबाजी गरेका थिए ।
प्रतिनिधिसभा सदस्यको टिकटका दावेदार लामा मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशसभामा झरेर नुवाकोट २ को २ बाट निर्वाचित भएका थिए ।
अघिल्लोपटक दलको नेता भइसकेका बानियाँ यो पटक मुख्यमन्त्री बन्नको लागि मकवानपुर २ को २ बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।
बागमती प्रदेशमा नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन सरकार छ ।
नेकपा एमाले वागमती प्रदेश सभाका संसदीय तथा दलका नेता जगन्नाथ थपलियाले काँग्रेसका सांसदहरुबाटै आफ्नै पार्टीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रश्ताव दर्ता भएको र यसबारे काँग्रेस नै छिटो निष्कर्षमा पुग्नुपर्ने बताए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया