Techie IT
Samayabaddha
शनिबार, २८ भदौ, २०८२

भारतको उत्तरकाशी बाढी : जाजरकोट, बर्दिया र धादिङका गरी २१ जना सम्पर्कविहीन


काठमाडौं । भारतको उत्तराखण्ड राज्यको उत्तकाशीमा बाढीपहिरोमा परी २१ जना नेपाली हराएका छन् । यही २० साउनमा उत्तरकाशीको धरालीमा खिर गंगा नदीमा एक्कासि आएको बाढीपहिरोले पूरै गाउँ सखाप भएको थियो । भारतीय सञ्चार माध्यमहरूले यो घटनामा पाँच जनाको मृत्यु भएको र सयौँ हराइरहेको बताएका छन् ।

यता नेपालका विभिन्न जिल्लाबाट त्यहाँ काम गर्न पुगेका नेपालीहरू पनि सम्पर्कविहीन भएका छन् । हालसम्म जाजरकोट, बर्दिया, धादिङ र जुम्लका केही व्यक्तिहरू सम्पर्कविहीन भएको खबर प्राप्त भएको छ ।

बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रोशनकुमार कठायतले जिल्लाको मधुवन नगरपालिकाका चार जना सम्पर्कविहीन भएको खबर प्राप्त भएको बताए । उनले हराउनेमध्ये तीन जना एकै परिवारका रहेको जनाए । उनका अनुसार नरेन्द्र खड्का, सरस्वती खड्का, अमृता परियार र सुवास विक सम्पर्कविहीन भएका छन् ।

यस्तै जाजरकोटको कुशे गाउँपालिकाका १३ जना सम्पर्कविहीन भएका छन् । सो गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बाढीपहिरो गएको स्थानमा रहेका एक जना नेपालीले त्यहाँ १३ जना कुशे गाउँपालिकाका नेपाली सम्र्पविहीन भएको खबर गरेको बताएका छन् । बाढीपहिरो गएको स्थान धरालीमा अहिले सम्पर्क हुन नसकेको समेत उनको भनाइ छ ।

यस्तै धादिङका पनि चार जना सम्पर्कविहीन भएका छन् । धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपानेले जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ काफलपानी ठेगाना भएका लालबहादुर तामाङ, छोलामा तामाङ, फेलामा तामाङ र सिंहबहादुर तामाङ सम्पर्कविहीन भएको जानकारी आएको बताएका छन् ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत उत्तरकाशी बाढीपहिरोमा १७ जनाभन्दा धेरै नेपाली परेको बताएका छन् । उनले उनीहरूको उद्धारको लागि दूतावासमार्फत तत्काल कुटनीतिक छलफल भएको जनाएका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट