प्राईभेट मेडिकल कलेजमा सिट बढाउने निर्णयप्रति चिकित्सा शिक्षा संघर्ष अभियानको आपत्ति

काठमाडौं – चिकित्सा शिक्षा आयोगले प्राईभेट मेडिकल कलेजमा एमबिबिएस सिट १०० बाट १३० पुर्याउने निर्णय गरेको छ। आयोगको यस कदमले चिकित्सा क्षेत्रमा अन्योलता थपिएको भन्दै चिकित्सा शिक्षा संघर्ष अभियानले आपत्ति जनाएको छ।
संघर्ष अभियानका संयोजक मनिष भट्टराई, महासचिव सौगात पाण्डे र सदस्य धन बहादुर तामाङद्वारा जारी विज्ञप्तिमा सरकारले गुणस्तरभन्दा बढी संख्यामा सिट बढाउनु अनुचित भएको उल्लेख छ। उनीहरूले केही स्कॉलरशिप सिट बढ्नु सकारात्मक भए पनि, पहिल्यै विद्यार्थी नपुगेका फैकल्टीमा थप कोटा बढाइएकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, “५०–६० लाख खर्च गरेर ४०–५० हजार तलबमा चिकित्सक काम गर्न बाध्य छन्, त्यस्तै १०–१५ लाख खर्च गरेर १५–२० हजार तलबमा नर्सिङ पेसामा जागिर गर्न बाध्य छन्। यसरी श्रमशोषण बढ्दै गएर अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी जागिर र भविष्यको सुरक्षाको अभावमा विदेश पलायन हुन बाध्य भएका छन्।”
अभियानका अनुसार, मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रलाई गुणस्तरमा सुधार गर्ने सट्टा केही मेडिकल बिचौलियाहरु ले व्यवसायिक लाभको अखडामा परिणत गरेका छन्। विज्ञप्तिमा सरकारमा बसेका सत्ताधारीहरुसमेत मेडिकल बिचौलियासँग ‘कमिसन’को स्वार्थमा लागेका आरोप लगाइएको छ।
‘अबैज्ञानिक ढङ्गले अनियन्त्रित रूपमा सिट बढाउँदै लैजाने हो भने निकट भविष्यमा स्वास्थ्य क्षेत्रकै जनशक्ति बेरोजगार, श्रमशोषित र विदेश पलायनको शिकार हुने निश्चित छ,’ विज्ञप्तिमा भनिएको छ।
संघर्ष अभियानले बिचौलियाको चंगुलबाट चिकित्सा शिक्षा बचाउन, सरकारी मेडिकल कलेजमा लगानी बढाउन, गुणस्तरमा ध्यान दिन र सामान्य वर्गको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकारले विशेष पहल गर्नुपर्ने माग गरेको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया