पूर्वराष्ट्रपतिलाई राजनीतिमा फर्किन नदिन गरिएको प्रयास अस्वभाविक : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विद्या भण्डारीलाई राजनीतिमा फर्किन नदिन गरिएको प्रयास अस्वभाविक भएको टिप्पणी गरेका छन्।
बिहीबार विराटनगर बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरु पुनः राजनीतिमा फर्किएको अन्तर्राष्ट्रिय अभ्यास रहेकाले उनीहरु फर्किनु अनुचित नरहेको बताए।
प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिहरु राजनीतिमा फर्किँदैमा संविधानको औचित्य समाप्त नहुने दाबी गरे। उनले अहिलेको संविधान सर्वोत्कृष्ट रहेपनि संविधान अनुसारको कानुनहरु नबनाइएका कारण संविधान कार्यान्वयनमा समस्या देखिएको बताए।
अध्यक्ष प्रचण्डले पार्टी निर्णय तथा विधि पद्धतिको विरोधमा हुने कुनै पनि कार्य सह्य नहुने बताए।
नेतृत्वको विषयमा पार्टी भित्रैका मान्छेले पत्याएका छैनन् नि भन्ने प्रश्नमा प्रचण्डले जनार्दन शर्मा प्रभाकरले नपत्याउँदैमा आन्दोलन नरोकिने जिकिर गरे। कालापानी, लिपुलेकबारे सोधिएको प्रश्नमा अध्यक्ष प्रचण्डले छिमेकीहरुसँग देखिएको सिमानाको विवादलाई वार्ता र सम्वादबाट टुङ्ग्याउनुपर्नेमा जोड दिए।
क्याटेगोरी : समाचार
प्रतिक्रिया