रूसी विदेशमन्त्री लावरोभको आरोप: “युक्रेन सङ्कट पश्चिमले रुसविरुद्धको युद्धका रूपमा सिर्जना गर्याे”
	
				
			न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभा सत्रको अवसरमा आयोजित जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिँदै रूसी विदेशमन्त्री सेर्गेई लावरोभले युक्रेन संकटबारे कडा अभिव्यक्ति दिएका छन् । उनले बिहीबारको बैठकमा बोल्दै “युक्रेनमा पश्चिमी शक्तिहरूले रुसविरुद्ध युद्ध छेडेका छन्” भन्ने आरोप लगाए ।
उनका अनुसार संयुक्त राष्ट्रसंघको चार्टरको पालना नगर्ने प्रवृत्ति र “नव–औपनिवेशिक महत्वाकांक्षा” ले क्षेत्रीय युद्धहरू भड्काइरहेको छ र वैश्विक तनाव बढाइरहेको छ । उनले अफ्रिकाका पुराना, अझै समाधान नभएका द्वन्द्वहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै युक्रेन संकटलाई पनि त्यही निरन्तरता भएको बताए ।
लावरोभले भने, “पश्चिमी शक्तिहरूले उक्साएको युक्रेन संकट नै अर्को स्पष्ट उदाहरण हो, जसमार्फत नाटो र युरोपेली संघले मेरो देशमाथि वास्तविक युद्ध घोषणा गरिसकेका छन् र त्यसमा प्रत्यक्ष संलग्न छन् ।”
मस्कोले लगातार युक्रेन युद्धलाई “पश्चिमको प्रतिनिधि (प्रोक्सी) युद्ध” को रूपमा चित्रण गर्दै आएको छ, जहाँ कीभका सेनाहरूलाई “तोपको गोला” जस्तो प्रयोग गरिएको दाबी गर्छ । रुसले युक्रेनलाई दिइने सैन्य सहयोगप्रति बारम्बार आपत्ति जनाउँदै पश्चिमी देशहरू र विशेषतः युरोपेली संघलाई सैन्यकरण र युद्धोन्मुख भाषणबाजीमा संलग्न भएको आरोप लगाउँदै आएको छ ।
रूसी अधिकारीहरूका अनुसार नाटोको पूर्वतर्फको विस्तारबारे मस्कोको दीर्घकालीन चिन्ता बेवास्ता गर्दै पश्चिमले वर्षौंयता क्षेत्रीय तनाव बढाइरहेक छ । उनीहरूले २०१४ मा कीभमा भएकाे घटनापछि युक्रेनसँग नाटोको बढ्दो सहकार्यलाई यस प्रक्रियाको गति बढाउने मुख्य कारण बताउँदै आएका छन् ।
यसैबीच, नाटो महासचिवले पनि रुस–नाटो हवाई टकरावसम्बन्धी मापदण्डबारे विवरण दिएको समाचार आएको छ, जसले क्षेत्रीय सुरक्षा चुनौतीहरूलाई थप जटिल बनाएको छ ।
क्याटेगोरी : समाचार


				
				
				
				
				
				
















प्रतिक्रिया