Techie IT
Samayabaddha
मंगलबार, १८ कात्तिक, २०८२

माओवादी केन्द्रको सातौँ पूर्ण बैठक सम्पन्न, महाधिवेशन मंसिरमा हुने


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सातौँ पूर्ण बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ।

बैठकले पार्टीको केन्द्रीय समितिलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने निर्णय गरेको छ । त्यस्तै, पार्टीका पदाधिकारीहरूलाई नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने निर्णय पनि बैठकले गरेको छ । माओवादी केन्द्रको महाधिवेशन आगामी मंसिरकाे अन्त्यमा गर्ने तयारी रहेको बैठकपछि जानकारी दिइयो ।

बैठकमा पार्टीभित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय गरिएको छ । यससँगै पार्टीभित्रको पारदर्शिता र जवाफदेहितालाई थप मजबुत बनाउने उद्देश्यले आयोगलाई विशेष अधिकार दिने तयारी भइरहेको छ ।

नेपोटिज्म नियन्त्रणका लागि छुट्टै कार्यविधि बनाउने र नेताका पारिवारिक सदस्यहरूका बारेमा स्पष्ट नीति बनाउने निर्णय पनि बैठकले गरेको छ । संस्कार, कार्यशैली र चालचलनसम्बन्धी नीति तयार पारेर अनुशासन कायम गरिने बैठकमा बताइएको छ ।

संगठनलाई व्यापक बनाउने क्रममा पार्टीले सबै कमिटीमा विविध विचारका व्यक्तिहरूलाई सहभागी गराउने र युवाहरूमाथि प्राथमिकता दिने निर्णय गरेको छ । यससँगै आईटी (सूचना प्रविधि) कामलाई उच्च प्राथमिकतामा राखेर पार्टी गतिविधिमा प्रविधिको प्रयोग बढाइनेछ ।

बैठकले अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत प्रस्ताव पारित गर्दै वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेका विचारलाई समेत समेटेर महाधिवेशनसम्म निरन्तर छलफल गर्ने निर्णय गरेको छ ।

त्यस्तै, पार्टीले विभिन्न विचार मिल्ने राजनीतिक शक्तिहरूसँग एकता गर्ने तयारी पनि अघि बढाउने निर्णय गरेको छ ।

माओवादी केन्द्रका अनुसार यी सबै निर्णयहरू कार्यान्वयनका लागि छिट्टै कार्ययोजना बनाइनेछ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट