Techie IT
Samayabaddha
मंगलबार, १८ कात्तिक, २०८२

इलामका विभिन्न ठाउँमा पहिरो जाँदा २८ जनाको मृत्यु


काठमाडौं । इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । शनिबार राति गएको पहिरोमा परी इलाम नगरपालिका–६ घोसमा मात्रै ६ जनाको ज्यान गएको छ ।

यस्तै, देउमाई नगरपालिकामा २, सन्दकपुर गाउँपालिकामा ३, माइजोगमाई गाउँपालिकामा ८, माङसेबुङ गाउँपालिका–१ पाटीगाउँमा ३, फाकफोकथुम गाउँपालिका-१ रातमाटेमा १ र सूर्योदय-१ मानेभञ्ज्याङमा ५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

विभिन्न स्थानमा गएको पहिरोले इलाममा मात्रै १२ जनाभन्दा धेरै बेपत्ता भएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । उनका अनुसार पहिरोले दर्जनौं घरमा क्षति पुर्‍याएको छ ।

यसैबीच, माङसेबुङ गाउँपालिका–१, गजुरमुखीमा पहिरोका कारण गम्भीर घाइते दुईजनाको हवाई उद्धार गरिएको छ । नेपाली सेनाको इटहरी बेसबाट परिचालित हेलिकोप्टरले एक गर्भवती र एक पुरुषको उद्धार गरेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बताए ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार सुर्याेदय नगरपालिकामा मानेभञ्ज्याङ्गस्थित राजु क्षेत्रीको घर पहिरोले पुर्दा ५ जनाको मृत्यु भएको छ । घर भत्किएको ठाउँबाट ४ जनाको शव निकालिएको थियो भने घाइते १ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

कोशी प्रदेशका विभिन्न क्षेत्र जलमग्न भएका छन् । अझै केही दिन वर्षा हुने सम्भावना भएका कारण बाढी, पहिरो र डुबानको समस्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा घर भित्र रहेका ६ जनाको मृत्यु भएको छ । सो स्थानमा सशस्त्र प्रहरीको श्रीअन्तु गणबाट उद्धार टोली खटिएको थियो ।

सो स्थानमा मानेभन्ज्याङबाट सशस्त्र प्रहरी नायव निरीक्ष सुरेन्द्र डोटेलको कमाण्डमा ७ जनाको टोली खटिएको थियो ।

यसैगरी इलामको देउमाई नगरपालिका–५ घुसेनीस्थित दीपक लिम्बुको घर पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् । १ जनालाई सकुशल उद्धार गरिएको छ ।

यसैगरी माङसेबुङ गाउँपालिका–५ स्थित पार्टीगाउँमा मदन लिम्बुको घर पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ ।

फाकफोकथुम गाउँपालिका–३ रातोमाटे बस्ने ३२ वर्षीय सुरेश लिम्बुको पनि पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट