Techie IT
Samayabaddha
सोमबार, १७ कात्तिक, २०८२

इजरायल र हमासबीच युद्धविराम गर्ने सहमति, विपिन जोशीको रिहा हुने आशा


एजेन्सी । इजरेल र हमासबीच गाजा युद्ध रोक्नेबारे सहमति भएको दुवै पक्षले पुष्टि गरेका छन् ।

युद्ध अन्त्य गर्न आफू सहमत भएको जनाउँदै हमासले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अन्तर्राष्ट्रिय समुदायलाई इजरेललाई यो सम्झौताको अनिवार्य कार्यान्वयन गर्न लगाउन आग्रह गरेको छ ।

इजरेलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यसलाई इजरेलको महान् दिन भनेका छन् र हमासद्वारा बन्धक बनाइएकाहरू छिट्टै रिहा हुने आशा गरेका छन् । बिहीवार बस्ने इजरेली मन्त्रिपरिषद् बैठकले सम्झौता अनुमोदन गरेपछि इजरेलले यसको कार्यान्वयन सुरु गर्ने बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतको अग्रसरतामा विभिन्न पक्षका प्रतिनिधि र मध्यस्थकर्ताहरूबीच इजिप्टमा भएको वार्तामा यस्तो सहमति भएको हो ।

इजरेल र हमासको घोषणाअघि नै ट्रम्पले सामाजिक सञ्जालमा शान्ति सम्झौता भएको दाबी गरेका थिए ।

ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीका अनुसार इजरेली मन्त्रिपरिषद्ले सम्झौता अनुमोदन गरेको २४ घण्टामा उसका सेनाहरू गाजाबाट फिर्ता हुन सक्ने छन् भने त्यसको ७२ घण्टाभित्र इजरेली बन्धकहरूको रिहाइ सुरु हुने सम्भावना छ ।

यसअनुसार आगामी सोमवारदेखि हमासद्वारा बन्धक बनाइएकाहरू रिहा हुन सक्ने तर हमासले सम्भव भएसम्म अझ छिटो गर्ने बताएको ती अधिकारीले जानकारी दिए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतको अग्रसरतामा विभिन्न पक्षका प्रतिनिधि र मध्यस्थकर्ताहरूबीच इजिप्टमा भएको वार्तामा यस्तो सहमति भएको हो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले उक्त सहमतिको पूर्ण कार्यान्वयनमा राष्ट्रसङ्घले सहयोग गर्ने बताएका छन् ।

साथै गाजा पुनर्निर्माणका लागि सहयोग गर्ने उल्लेख गर्दै उनले त्यस क्षेत्रमा मानवीय सहायता पनि बढाउने जानकारी दिए ।

उनले सहमति कार्यान्वयन गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।

यसैबीच गाजामा रहेका प्यालेस्टिनीहरूले सम्झौताको स्वागतमा उत्सव मनाउन थालेको विवरण प्राप्त भएको छ ।

इजरेल र हमासको युद्धविरामसँगै नेपालमा हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी रिहा हुने आशा पलाएको छ ।

गाजा युद्ध सुरु भएकै दिनदेखि हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशीको हिजो एक भिडियो क्लिप सार्वजनिक भएको थियो ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरेलमाथि आक्रमण गर्दा विपिन जोशीका १० जना सहपाठीको मृत्यु भएको थियो ।

मृत्यु हुने सबै सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायमा अध्ययनका क्रममा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरेल पुगेका विद्यार्थी थिए । उनी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट