जेन जी आन्दोलनपछि पहिलोपटक कांग्रेस पदाधिकारी बैठक बस्दै !
काठमाडौं । जेन जी आन्दोलनको ठिक एक महिनापछि नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक आज बस्दैछ । वैठक हिमालय होटलमा बस्ने भनिए पनि पार्टी कार्यालय सानेपामा बस्ने तय भएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा नै बस्ने र बैठकमा सामसामयिक राजनीतिक विषयमा छलफल हुने सहमहामन्त्री जीवन परियारले जानकारी दिए।
बैठकमा यही असोज २६ गते बस्ने कांग्रेस केन्द्रीय कार्यसमितिका सम्भावित कार्यसूचिलगायत विषयसमेतमा छलफल हुने उनले बताए। गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनपछि पार्टीको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक पहिलो पटक बस्न लागेको हो ।
प्रदर्शनका क्रममा भदौ २४ गते कांग्रेस पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका धर्मपत्नी एवं तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि उनकै निवासमा साङ्घातिक हमला र कुटपिट हुनुका साथै घरमा आगजनी भएको थियो ।
स्वास्थ्यलाभपछि आराम गरिरहेका सभापति देउवा आजको बैठकमा उपस्थित नहुने र असोज २६ गतेको केन्द्रीय समितिको बैठकमा भने उपस्थित हुनुहुने पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।
प्रदर्शनका क्रममा कांग्रेसको केन्द्रीय कार्यालयलगायत पार्टीका विभिन्न जिल्ला कार्यालयलगायत विभिन्न नेताका घरमासमेतमा आगजनी र तोडफोड भएको थियो । उक्त प्रदर्शन पछि पार्टीभित्र नेतृत्व परिवर्तनका विषयमा बहस सुरु भएको छ ।
जेन जी आन्दोलन र त्यसपछिको राजनीतिक परिघटनाका सम्बन्धमा कांग्रेसका विभिन्न नेताहरुको धारणा आइरहे पनि नेपाली कांग्रेसको आधिकारिक धारणा बैठक पछि मात्र आउनेछ । घरमा समेत लुटपाट, आगजनी र तोडफोड भएपछि अस्पतालबाट निस्केपछि उनी भाडाको घरमा बस्दै आएका छन् । सीमित नेतासँग मात्र भेट गरेका सभापति देउवाले यही असोज २६ गतेका लागि डाकिएको केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न आज पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका हुन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले देउवालाई पदबाट हटाउन विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरिरहेका छन् ।
महामन्त्री गगन थापानिकट केन्द्रीय सदस्य मधु आचार्यका अनुसार बुधबारसम्म ४०५ भन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् । उनको दाबी अनुसार शुक्रबारसम्म ५० प्रतिशतभन्दा बढीको हस्ताक्षर संकलन गरी दर्ता गर्ने तयारी छ ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया