Techie IT
Samayabaddha
सोमबार, १७ कात्तिक, २०८२

भेनेजुएलाकी भूमिगत विपक्षी नेत्री मारिआ कोरिना मचाडोलाई नोबेल शान्ति पुरस्कार !


यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी विपक्षी नेत्री मारिआ कोरिना मचाडोलाई प्रदान गरिने भएको छ । नर्वेली नोबेल समितिले उनलाई “शान्तिप्रति प्रतिबद्ध र प्रजातन्त्रका लागि निडर संघर्ष गर्ने नेतृ” भन्दै यो वर्षको प्रतिष्ठित पुरस्कारका लागि छनोट गरेको हो । मचाडो हाल भूमिगत जीवन बिताइरहेकी छिन्, किनभने उनले भेनेजुएलामा निकोलस मदुरोको शासनविरुद्ध उठेका आन्दोलनहरूमा अग्रपङ्तिमा रहेर नेतृत्व गरेकी थिइन् ।

नोबेल समितिले पुरस्कार घोषणा गरेपछि मचाडोले आफू “छक्क परेको” प्रतिक्रिया दिएकी छन् । समितिले उनलाई फोन गरेर पुरस्कारको जानकारी गराउँदाको भिडियो पनि सार्वजनिक गरेको छ, जसमा मचाडोले पाँच पटक “ओ माइ गड” भन्दै भावुक प्रतिक्रिया दिएकी देखिन्छिन् । उनले भनिन्, “यो मेरो मात्र होइन, पूरै भेनेजुएलाली समाजको उपलब्धि हो ।” उनका नजिकका सहयोगीहरूले पनि यो पुरस्कारलाई “देशको स्वतन्त्रताको लागि आशाको किरण” भनेका छन् ।

मचाडो विगत लामो समयदेखि भेनेजुएलामा वामपन्थी विचारधाराको सरकारलाई निरंकुशताको आरोप लगाउँदै प्रजातान्त्रिक शासन पुनःस्थापनाका लागि सक्रिय छिन् । गत वर्ष उनी राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्न चाहन्थिन्, तर अदालतले उनलाई निर्वाचन लड्न प्रतिबन्ध लगायो । त्यसपछि उनी भूमिगत हुन बाध्य भइन् । जनवरीमा भएको एउटा विरोध प्रदर्शनमा उनी केही समयका लागि सार्वजनिक रूपमा देखा परेकी थिइन्, तर त्यतिबेला प्रहरीले उनलाई पक्राउ गरेको थियो । केही समयपछि उनलाई रिहा गरिए पनि त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् ।

५८ वर्षकी मचाडो भेनेजुएलाको प्रमुख विपक्षी नेतृको रूपमा चिनिन्छिन् । उनी निकोलस मदुरोको शासनविरुद्धको आन्दोलनमा अग्रणी भूमिका खेल्दै आएकी छन् । भेनेजुएलामा तेलका विशाल भण्डारहरू भए पनि आर्थिक संकट, मुद्रास्फीति, र मानवअधिकार उल्लङ्घनका कारण जनजीवन अत्यन्त कठिन बनेको विपक्षीहरुको आरोप छ । यस्तै परिस्थितिमा मचाडोले शान्तिपूर्ण विरोधका माध्यमबाट शासन परिवर्तन र लोकतन्त्रको पुनःस्थापनाको माग गर्दै जनतालाई माधुरो विरुद्ध एकजुट पारेकी थिइन् ।

नोबेल समितिका अध्यक्ष योर्गन भ्याट्न फ्रुएड्नसका अनुसार मचाडोले अल्फ्रेड नोबेलको मूल भावना पूरा गरेकी छिन् । उनले भने, “मचाडोले देशको प्रतिपक्षलाई एकजुट पारेकी छन् र शान्तिपूर्ण साधनहरू प्रयोग गरेर प्रजातन्त्रतर्फको यात्रामा अग्रसर भएकी छिन् । उनले ‘प्रजातन्त्रका साधनहरू नै शान्तिका साधन हुन्’ भन्ने सन्देश दिएको प्रमाणित गरेकी छन् ।”

नोबेल शान्ति पुरस्कारको इतिहासमा यो १०६ औँ पटक पुरस्कार घोषणा भएको हो । सन् १९०१ देखि अहिलेसम्म ११२ व्यक्ति र ३१ संस्था यो सम्मान पाइसकेका छन् । मचाडो नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने २० औँ महिला बनेकी छिन् ।
मचाडोलाई सम्मान दिने निर्णयपछि अन्तर्राष्ट्रिय राजनीति पनि तातेको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नाम पनि यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि चर्चामा रहेको थियो । ट्रम्पले आफ्नो कार्यकालमा विभिन्न युद्ध अन्त्य गराएको र शान्ति सम्झौता गराएको दाबी गर्दै आएका थिए । तर समितिले मचाडोको पक्षमा निर्णय गरेपछि ह्वाइट हाउसले तीव्र असन्तुष्टि व्यक्त गरेको छ ।

ह्वाइट हाउसका प्रवक्ता स्टीभन चङले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा लेखे, “नोबेल समितिले शान्तिको सट्टा राजनीति रोजेको देखिन्छ ।” उनले ट्रम्पले युद्धहरू अन्त्य गराइरहेको, सम्झौताहरू गराइरहेको र मानिसहरूको जीवन जोगाइरहेको भन्दै समितिको निर्णयप्रति व्यङ्ग्य गरेका छन् । पत्रकार सम्मेलनमा समितिलाई ट्रम्प वा अन्य अन्तर्राष्ट्रिय पक्षबाट दबाब परेको हो कि भन्ने प्रश्न पनि उठाइएको थियो । तर अध्यक्ष फ्रुएड्नसले समितिले कहिल्यै पनि बाह्य दबाबमा निर्णय नगर्ने बताए ।

शान्ति पुरास्कारसँग जोडिएको भेनेजुएलाको राजनीतिक

दक्षिण अमेरिकी देश भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरोले २०२४ को जुलाईमा भएको आम निर्वाचनमा तेस्रो कार्यकालको लागि विजयी भएका छन् । निकोलस मादुरोले चुनाव जितेपछि विपक्षीले यो नतिजा अस्वीकार गर्दै आइरहेका छन् । भेनेजुएलामा पश्चिमा राष्ट्रहरुको उक्साहटमा दिनहुँ विरोध प्रदर्शन हुँदै आइरहेको छ ।

प्रदर्शनकारीहरुले मादुरोभन्दा अगाडिका राष्ट्रपति ह्युगो चाभेजका धेरै मूर्तिहरू ढालेका छन् ।

ह्युगो चाभेजले एक दशकभन्दा बढी समय भेनेजुएलाको नेतृत्व गरे र निकोलस मादुरोलाई आफ्नो उत्तराधिकारीको रूपमा नियुक्त गरे । मदुरो विगत ११ वर्षदेखि सत्तामा छन् । हालैको निर्वाचनमा विजयी भएपछि मादुरो २०३० सम्म सत्तामा रहनेछन् ।

भेनेजुएलामा विशाल तेलको भण्डार छ । यसै भण्डारमा अमेरिकाले लामो समयदेखि आँखा गाडिरहेको छ । त्यसैले अमेरिका र पश्चिमी मुलुकले भेनेजुएलामा एक किसिमको नाकाबन्दी लगाउँदै आएको छ ।

विपक्षी दलहरूले निकोलस मादुरोलाई हटाउन गोन्जालेजसँग एकता गरेका थिए ।

मचाडो भेनेजुएलामा विपक्षी गठबन्धनका वरिष्ठ नेता हुन् । तर, सर्वाेच्चको प्रतिबन्धका कारण उनले चुनाव लड्न पाएनन् । यसपछि उनले गोन्जालेजलाई आफ्नो समर्थन दिएकी थिइन् ।

संयुक्त राष्ट्र संघ र युरोपेली संघ लगायत धेरै देशले भेनेजुएलामा माधुरोको जितलाई पारदर्शी नभएको आरोप लगाउँदै आएका छन् ।

निकोलस मादुरोलाई चीन, रुस र क्युवाजस्ता राष्ट्रहरूको भने समर्थन रहँदै आएको छ । उनले राष्ट्रपतिलाई लगातार तेस्रो जित हासिल गरेकोमा बधाई दिएका थिए ।

निकोलस मदुरो तेस्रो पटक राष्ट्रपति बनेपछि अमेरिका लगायत पश्चिमा देशहरुलाई टाउको दुखाईको विषय बन्दै आएको छ ।

मचाडोले पुरस्कार पाएको थाहा पाएपछि माधुरोको प्रतिस्पर्धामा निर्वाचन उठेका गन्जालिजले लेखे, “यो भेनेजुएलाको पहिलो नोबेल हो, र यो हाम्रो स्वतन्त्रताको सुरुवात हो ।”

नोबेल शान्ति पुरस्कार विश्वकै सबैभन्दा प्रतिष्ठित मानिन्छ । यो पुरस्कारले अहिंसा, मानवअधिकार र विश्वशान्तिका क्षेत्रमा असाधारण योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्छ । सन् १९९५ मा ८६ वर्षका जोसेफ रटब्ल्याटले परमाणु अस्त्र विरोधी अभियानका लागि यो सम्मान पाएका थिए भने, सबैभन्दा कम उमेरमा यो पुरस्कार पाउने व्यक्ति पाकिस्तानकी मलाला युसुफ्जाई हुन्, जो पुरस्कार प्राप्त गर्दा १७ वर्षकी थिइन् ।

गत वर्ष जापानी संस्था निहन हिडन्क्योले यो सम्मान प्राप्त गरेको थियो । उक्त संस्था दोस्रो विश्वयुद्धमा हिरोशिमा र नागासाकीमा परमाणु बमबाट बाँचेकाहरूको संगठन हो । तिनीहरूले विश्वलाई आणविक हतियारमुक्त बनाउन सन्देश फैलाएका थिए ।

नोबेल पुरस्कारले मचाडोलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मानित बनाएको भए पनि, उनको राजनीतिक र व्यक्तिगत यात्रा अझै कठिन छ । उनी भूमिगत रहँदा पनि आफ्ना समर्थकहरूलाई प्रजातन्त्रको लागि अहिंसात्मक रूपमा एकजुट रहन आग्रह गरिरहेकी छन् ।

उनको लक्ष्य केवल सत्ता परिवर्तन होइन, बरु भेनेजुएलामा वामपन्थी विचारधाराको सरकारलाईलाई सदाको निम्ति विदाई गर्न प्रजातन्त्र शासन प्रणाली स्थापना गर्नु रहेको छ ।

नोबेल समितिको यो निर्णयले विश्वभरका मानवअधिकारवादी र लोकतन्त्र समर्थक समुदायमा उत्साह जगाएको छ । तर, सत्तारूढ पक्ष र मदुरो समर्थकहरूले यसलाई “पश्चिमी राष्ट्रहरूको राजनीतिक हस्तक्षेप” भनेर व्याख्या गरेका छन् ।
मारिआ कोरिना मचाडोको नोबेल शान्ति पुरस्कार उनलाई व्यक्तिगत रुपमा होइन कि भेनेजुएलाका लाखौँ नागरिकहरूको समर्थनमा बनेको माधुरो सरकारको विरुद्धमा रहेको कतिपयको बुझाई छ । माधुरोको निरङ्कुश शासन, आर्थिक संकट र राजनीतिक दमनबीच पनि मचाडोले शान्तिपूर्ण विरोध र लोकतन्त्रको मार्ग छोडिनन् । उनले विश्वलाई सन्देश दिएकी छन् — “शान्ति र प्रजातन्त्र विरोधी शक्तिको सामना गर्ने सबैभन्दा बलियो अस्त्र अहिंसा र सत्य हो ।”

निष्कर्ष

नोबेल शान्ति पुरस्कार विश्वकै प्रतिष्ठित सम्मान हो, तर यसको निर्णय प्रक्रिया र राजनीतिक प्रभावबारे सधैं विवाद उठ्दै आएको छ । यो पुरस्कारको उद्देश्य विश्वशान्ति, मानवअधिकार र लोकतन्त्रको पक्षमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्नु हो, तर कतिपय अवस्थामा पुरस्कारले वास्तवमा शान्ति भन्दा बढी राजनीतिक संकेत दिने आरोप लाग्ने गरेको छ ।

भेनेजुएलाकी विपक्षी नेत्री मारिआ कोरिना मचाडोलाई यस वर्षको शान्ति पुरस्कार दिइनु पनि त्यस्तै विवादको केन्द्रमा आएको छ । नोबेल समितिले उनलाई “शान्तिपूर्ण संघर्षको प्रतीक” भनेको छ, तर उनका आलोचकहरू भन्छन् — यो निर्णयले भेनेजुएलाको आन्तरिक राजनीतिमा पश्चिमी राष्ट्रहरूको हस्तक्षेप झल्काउँछ । कतिपयले यसलाई अमेरिकी प्रभाव र “निरङ्कुश शासनविरुद्धको भू–राजनीतिक सन्देश”को रूपमा व्याख्या गरेका छन् ।

नोबेल पुरस्कार चयन प्रक्रिया पारदर्शी छैन भन्ने पनि अर्काे आलोचना हो । कसरी, कुन मापदण्डमा, र कसले निर्णय गर्छ भन्ने विषय स्पष्ट छैन । विगतमा अमेरिकन राष्ट्रपति बाराक ओबामालाई शान्ति पुरस्कार दिइँदा पनि विश्वभर आलोचना भएको थियो, किनभने उनले त्यसबेला सैन्य अभियान चलाइरहेका थिए । त्यसैगरी, यस वर्ष डोनाल्ड ट्रम्पको नाम चर्चामा रहँदा र अन्ततः मचाडोलाई पुरस्कार दिइँदा पनि पुरस्कारको राजनीतिक चरित्रप्रति प्रश्न उठेको छ ।

समग्रमा हेर्दा, नोबेल शान्ति पुरस्कारले कहिलेकाहीँ सही सन्देश दिन्छ—जस्तै अहिंसाको समर्थन र मानवअधिकारको रक्षा । तर, यसको निर्णय कहिलेकाहीँ यथार्थपरक भन्दा प्रतीकात्मक र राजनीतिक बन्ने गर्छ । यदि समितिले विश्वशान्तिको वास्तविक योगदानलाई आधार मानेर निष्पक्ष निर्णय गर्न सके मात्र यो पुरस्कारको विश्वसनीयता दीर्घकालीन रूपमा टिक्न सक्छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट