Techie IT
Samayabaddha
सोमबार, १७ कात्तिक, २०८२

मोहन वैद्यले महासचिव पद गजुरेललाई गरे हस्तान्तरण


काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट राजीनामा दिएका छन् । कार्तिक १ गते शनिबार बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले किरणले दिएको राजीनामा स्वीकृत गरेको हो । स्वास्थ्यका कारण देखाउँदै महासचिव वैद्यले राजीनामा दिएको जनाइएको छ । नयाँ महासचिवमा वरिष्ठ नेता चन्द्रप्रकाश (सीपी) गजुरेललाई नियुक्त गरिएको छ ।

मोहन वैद्य ‘किरण’ त्यस्ता व्यक्ति हुन् जसले २०४३ सालमा घटाइएको सेक्टरकाण्डले पार्टीलाई क्षति पु¥याएको भन्दै नेतृत्वको हिसाबले त्यसको जिम्मा लिएका थिए र सहज ढंगले तत्कालिन बेला पोलिटव्यूरो सदस्य रहेका प्रचण्डलाई नेतृत्व हस्तान्तरण गरेका थिए ।

अहिले वैद्यले पार्टी महासचिव पद सीपी गजुरेललाई हस्तान्तरण गरेका छन् । दमको रोगले पीडित वैद्यले गत जेठबाटै कार्यवाहक जिम्मेवारी गजुरेललाई दिएका थिए । वैद्य अब पार्टीका अभिभावक र मार्गनिर्देशकका रूपमा रहनेछन् ।

माओवादी सशस्त्र युद्धका रणनीतिकार वैद्य सत्ताको मोहभन्दा क्रान्तिको सिद्धान्तमा दृढ रहेका नेता हुन् । उनले सधैं जनविद्रोहको नीति अँगालेका छन् र अहिले पनि क्रान्तिकारी माओवादी पार्टीमार्फत त्यही मार्गमा उभिएका छन् ।

माओवादी मूलधारमा आएपछि आत्मसमर्पण भएको भन्दै उनले २०६९ सालमा अलग पार्टी गठन गरेका थिए । उनले कहिल्यै शान्तिपूर्ण व्यवस्थाबाट परिवर्तन सम्भव नभएको बताउँदै निरन्तर क्रान्तिको पक्ष लिँदै आएका छन् ।

माक्र्सवादी चिन्तक र साहित्यकारका रूपमा पनि परिचित वैद्यका दर्जनौँ पुस्तक प्रकाशित छन् । अहिले उनले संगठनात्मक जिम्मेवारी हस्तान्तरण गरे पनि विचार र मार्गदर्शनको भूमिकामा रहँदै क्रान्तिकारी विचारलाई निरन्तरता दिने संकेत दिएका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट