विपिन जोशीको शव आज दिउँसो काठमाडौं आइपुग्ने
नेपाली सेनाले संयोजनमा घरसम्म पु-याउने
भोलि महाकाली नदीकिनारामा अन्त्येष्टि गरिँदै
हमास समूहको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको शव आज दिउँसो काठमाडौं आइपुग्ने भएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, मध्यान्ह २ः३० बजेसम्म उनको शव काठमाडौं आइपुग्ने सूची छ । जोशीको शव नेपाली सेनाको संयोजनमा सकभर आजै गृहनगर कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–३ विचपुरी, माल्लिकार्जुनटोल पठाइने छ ।
पारिवारिक स्रोतका अनुसार, उनको अन्त्येष्टि भने भोलि मंगलवारमात्रै हुनेछ । प्रधानमन्त्री सुशीला कार्कीले जोशीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) आइपुग्नासाथ त्यहाँ नै पुगेर श्रद्धाञ्जलि व्यक्त गर्ने कार्यक्रम रहेकाले गृहनगर पुर्याउन र आजै अन्त्येष्टि गर्न विलम्व हुनेछ । भोलि महाकाली नदीकिनारामा अन्त्येष्टि गरिने बताइएको छ ।
यसअघि जोशीको शव नेपाल पठाइनुअघि इजरायलमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिएको थियो । बेन गुरिओन विमानस्थलमा आयोजना गरिएको कार्यक्रममा इजरायल सरकारका प्रतिनिधि, तेल अभिभस्थित नेपाली राजदूतावासका अधिकारी, इजरेलमा कार्यरत नेपाली र हमास समूहद्वारा बन्धक बनाइएका व्यक्तिका परिवारका प्रतिनिधिहरूसहितको उपस्थिति थियो ।
इजरायल पुगेको तीन साता नबित्दै सन् २०२३ को अक्टोबर ७ मा हमास समूहको भीषण हमलाका क्रममा बन्धक बनाइएका विपिन जोशीको भिडिओ सार्वजनिक भएपछि उनी जीवितै रहेको आस परिवारजनले अन्तिम समयसम्म पालेका हुन् । सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी पनि मारिएका थिए । त्यतिबेला पनि इजरायल सरकारले नै सबै शव नेपाल पठाइदिएको थियो ।
अक्टोबर २०२३ को घटनामा मृत्यु हुने सबै नेपाली सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान संकायमा अध्ययनका क्रममा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विद्यार्थी हुन् । कञ्चनपुरका विपिन जोशी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए । कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो । अरू ४ जना घाइते भएका थिए भने जोशी सम्पर्कविहीन भएका हुन् । अन्य दुईजना भने सकुशल रहे ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया