प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवलाई तत्काल पदमुक्त गरियोस्ः रक्षा बम
काठमाडौं । नेपाल जेन-जी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्न माग गरेकी छन्।
सामाजिक सञ्जालमार्फत् उनले श्रेष्ठलाई पदमुक्त गरेर नातावाद र कृपावादलाई प्रोत्साहन हुने गरि श्रेष्ठले दिलाएका पारिवारिक नियुक्तिहरू तुरुन्तै खारेज गर्न पनि मग गरेकी छन्।
नेपाल जेन-जी फ्रन्टले पनि श्रेष्ठलाई तत्काल बर्खास्त गर्न सरकारसमक्ष पाँच माग राखेको छ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव तत्काल बर्खास्त गर्नसहित नेपाल जेन(जी फ्रन्टले राख्यो ५ माग
‘जेनजी विद्रोह रकमको भ्रष्टाचार बिरूद्ध मात्र नभई नैतिक भ्रष्टाचार, नातावाद, कृपावाद बिरूद्ध पनि थियो। भाद्र २३ मा हामीले सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा नारा लगाएका थियौँ,’ बमले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘तर नागरिक सरकारको प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिवले नातावाद र कृपावाद अंगालेर नैतिक भ्रष्टाचार गर्दै जसरी श्रीमतीसहित अन्य नातेदारलाई जेनजी विद्रोहकै बलमा जागिर लगाउने काम गरेका छन्, त्यो सरासर गलत भएको छ।’
उनले संवेदनशील समयमा देशलाई लोकतान्त्रिक निकास दिनको लागि बनेको नागरिक सरकारले यतिखेर चौतर्फी आक्रमणको सामना गरिरहेको पनि उल्लेख गरेकी छन्।
‘यस्तो संवेदनशील अवस्थामा बनेको सरकारको फाईदा उठाउँदै, नातावाद कृपावादलाई हावी गराउन खोज्ने प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव जस्ता मानिसहरूको स्वार्थका कारण, परिवर्तनको लागि बगेको रगतको अपमान भएको छ,’ उनले भनेकी छन्, ‘भदौ २३ मा ‘पारदर्शिता र जवाफदेहिता’ हाम्रो मूल माग मध्यको एक थियो। नागरिक सरकार पारदर्शी बन्दै नागरिकप्रति जवाफदेही हुनैपर्छ। आदर्श कुमार श्रेष्ठलाई तत्काल पदमुक्त गर्दै, नातावाद र कृपावादलाई प्रोत्साहन गरि उनले दिलाएका पारिवारिक नियुक्तिहरू तुरुन्तै खारेज गरियोस।नागरिक सरकार सीमित व्यक्तिहरूको चंगुलमा फस्नुहुदैन।सरकार बेलैमा सचेत होओस्।’
क्याटेगोरी : समाचार


















प्रतिक्रिया