भारतमा प्रतिबन्धित पतञ्जली घिउ नेपालमा छ्याप्छ्याप्ती
काठमाडौं । भारतमा बाबा रामदेवको पतञ्जली ब्रान्डले फेरि एकपटक विवाद निम्त्याएको छ । उत्तराखण्डको पिथौरागढमा सरकारी प्रयोगशालामा गरिएको परीक्षणमा पतञ्जलीको ‘शुद्ध’ देसी घिउ नै असफल भयो । परीक्षणमै फेल भएपछि भारतीय प्रशासनले पतञ्जली कम्पनी र त्यस घिउ बेच्ने व्यापारीलाई जरिवाना पनि लगाइसकेको छ ।
तर, समस्या भारतमै सीमित छैन । यसको प्रत्यक्ष असर नेपालमा पनि छ । किनकि नेपालमा पतञ्जलीका घिउ, तेल, मसला, चूर्ण, औषधि भन्ने बित्तिकै ‘आयुर्वेदिक’, ‘स्वस्थकर’ र ‘शुद्ध’ भनेर हजारौँ उपभोक्ताले आँखामै पट्टी बाँधेर खरीद–बिक्री गर्छन् । यही कारणले आज एउटा ठूलो प्रश्न उठेको छ,
भारतमै असुरक्षित ठहरिएको वस्तु नेपालमा किन छ्याप्छ्याप्ती बेचिँदैछ ?
नेपालको बजारमा आज जुनसुकै पसलमा गए पनि पतञ्जलीको घिउ सजिलै भेटिन्छ । भारतीय सीमाबाट ठूलो मात्रामा भित्रिने यस्ता वस्तुहरू सुपरमार्केटदेखि लिएर गाउँका किराना पसलसम्म खुल्ला रूपमा विक्री हुन्छन् ।
उपभोक्ताले ‘आयुर्वेदिक’ भन्नेबित्तिकै शुद्धता मान्ने बानीका कारण यी उत्पादनहरू झनै लोकप्रिय भएका छन् । तर, भारतमै सरकारी परीक्षणमा असफल भएको घिउ नेपालमा ‘शुद्ध’ भनेर बेचिनु उपभोक्ता सुरक्षा क्षेत्रमा गम्भीर कमजोरी हो ।
नेपालमा खाद्य वस्तुको परीक्षण गर्ने सरकारी निकायको क्षमता सीमित छ । कागजमै कडाइ देखिए पनि व्यवहारमा बजार अनुगमन कमजोर छ । व्यापारीले थोकमा ल्याएको वस्तु परीक्षण नभई नै बजारमा पुग्ने गर्दछ ।
यसैले प्रश्न फेरि उठ्छ खानेकुरा शुद्ध छ वा छैन ? यसमा कसले ध्यान दिने ?
असुरक्षित घिउ खाँदा स्वास्थ्यमा गम्भीर असर
विज्ञहरूका अनुसार अशुद्ध वा मिसावट भएको घिउले दीर्घकालीन गम्भीर रोग निम्त्याउन सक्छ ।
- क्यान्सरको जोखिम
- मुटु र धमनीको समस्या
- पाचन समस्या
- प्रतिरक्षा क्षमता कमजोर
- कलेजो र मिर्गौलामा क्षति
नेपालमा पछिल्ला वर्षमा मुटुरोग र क्यान्सरका दर बढिरहेका तथ्यांक हेर्दा पनि खाद्य मिसावट एक प्रमुख कारणका रूपमा छ । भारतको परीक्षणले पतञ्जली घिउमा समस्या देखाएको छ भने नेपालमा यसलाई उपभोक्ताले दैनिक खानाको रूपमा प्रयोग गर्नु सीधै स्वास्थ्यसँग खेलवाड हो । भारतमा परीक्षण फेल भएपछि स्थानीय प्रशासनले तत्काल जरिवाना लगायो । तर, नेपालमा त्यही वस्तु परीक्षण नभई खुलेआम बेचिनुले दुई कुराको संकेत गर्छ,
- नेपालमा बजार नियमन कमजोर छ
- उपभोक्ताको स्वास्थ्य राज्यको प्राथमिकतामै छैन ।
नेपालले पालेको ‘ब्रान्डप्रतिको विश्वास’ धेरै महँगो पर्न सक्छ । ‘स्वदेशी’, ‘आयुर्वेदिक’, ‘योग गुरुको उत्पादन’ जस्ता प्रचारले विज्ञानमाथि पर्दा लगाइएको छ ।
यही भ्रमकै कारण नेपालमा अहिले पनि धेरै उपभोक्ता महँगो मूल्य तिरेर पतञ्जलिको घिउ किनिरहेका छन् । तर आजको घटना त्यस विश्वासमाथि ठूलो चोट हो ।
सरकारले किन कडाइ गर्नुपर्छ ?
पहिलो, भारतकै सरकारी निकायले परीक्षण गरेर असुरक्षित भनेको सामग्री नेपालमा जस्ताकै तस्तै बेचिनु उपभोक्ता अधिकारको उल्लङ्घन हो ।
दोस्रो, नेपालमा सीमामा कडाइ छैन । धेरै वस्तु भन्सारमै परीक्षण नहुँदै बजारमा पुग्छ ।
तेस्रो, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रक विभागमा जनशक्ति सीमित छ । वार्षिक छानबिन क्षमता बजारको आकार अनुसार धेरै थोरै छ ।
चौथो, मिसावट वा कम गुणस्तरको उत्पादन खाएर उपभोक्ताले भोग्नुपर्ने स्वास्थ्य जोखिम ठूलो छ तर क्षतिपूर्ति वा न्यायको व्यवस्था कमजोर छ ।
यसैले, सरकारले तत्काल पतञ्जली घिउ लगायत उच्च जोखिम भएका सबै विदेशी उत्पादनको परीक्षण अनिवार्य बनाउनुपर्छ ।
परीक्षण नहुन्जेल अस्थायी प्रतिबन्ध लगाउनु नै उपभोक्ता सुरक्षाको उपाय हो ।
उपभोक्ताले कसरी सावधानी अपनाउने ?
विशेषज्ञका अनुसार केही घरेलु तरिकाले घिउको शुद्धता प्राथमिक रूपमा बुझ्न सकिन्छ,
- पानीमा एक चम्चा घिउ राख्दा सतहमा तैरिए शुद्ध हुने सम्भावना बढी
- उमालेर फ्रिजमा राख्दा एकै किसिमको तह बने शुद्धताको संकेत
तर, यी उपायहरूले मात्र पक्का प्रमाण दिन सक्दैनन् । वैज्ञानिक प्रयोगशाला परीक्षण नै अन्तिम आधार हो ।
पतञ्जली घिउ परीक्षण फेल हुनु एउटा उत्पादक कम्पनीको मात्र समस्या होइन । हामीले खाने कुरा विज्ञानले सुरक्षित ठह¥याएको हो कि ब्रान्डले हल्ला मच्चाएर बेचिरहेको हो ?
उपभोक्ताकै स्वास्थ्य पहिलो हो भने, सरकारले पतञ्जली घिउ लगायत सबै विवादित उत्पादनहरू प्रतिबन्ध लगाउनुपर्छ । उपभोक्ता स्वास्थ्य कुनै प्रयोगशाला होइन । एकपटक गल्ती भयो भने नतिजा आजीवन भोग्नुपर्छ ।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया