नेपाल–जापानबीच कोटेश्वर चोक सुधारका लागि ३१ अर्ब ऋण सम्झौतामा हस्ताक्षर
काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ। अर्थमन्त्री रामेश्वर प्रसाद खनालको उपस्थितिमा अर्थ मन्त्रालयमा आयोजित समारोहमा सम्झौतामा हस्ताक्षर गरिएको हो।
जापानले जाइकामार्फत आयोजनाका लागि ३४.५९ अर्ब जापानी येन (करिब ३१.७६ अर्ब रुपैयाँ) ऋण उपलब्ध गराउनेछ। उक्त ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष तथा वार्षिक ०.२ प्रतिशत ब्याजदर रहनेछ।
आयोजनाअन्तर्गत कोटेश्वर–जडीबुटी खण्डमा अन्डरपास र फ्लाइओभर निर्माण गरिनेछ। यसले काठमाडौं, ललितपुर, भक्तपुर तथा बीपी राजमार्गतर्फ जाने सवारी साधनको चाप घटाउँदै उपत्यकाको ट्राफिक व्यवस्थापनमा महत्वपूर्ण सुधार ल्याउने अपेक्षा गरिएको छ। आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागमार्फत कार्यान्वयन हुनेछ।
सम्झौतामा नेपालतर्फ अर्थ सचिव डा। घनश्याम उपाध्याय र जापानी राजदूत मायदा तोरुले हस्ताक्षर गरे। त्यस्तै, ऋण सम्झौतामा अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका सह–सचिव डा। धनीराम शर्मा र जाइका नेपालका प्रमुख प्रतिनिधि मित्सुजाकी माजुकीले हस्ताक्षर गरेका छन्।
कार्यक्रममा सम्बोधन गर्दै राजदूत मायदा तोरुले कोटेश्वर चोक सुधार परियोजना उपत्यकाको यातायात पूर्वाधार सुधारमा उल्लेख्य टेवा पुर्याउने विश्वास व्यक्त गरे। जसका माध्यमबाट दुवै देशबीचको दीर्घकालीन मित्रता र सहकार्य अझ मजबुत हुने उनको भनाइ थियो।
अर्थमन्त्री खनालले काठमाडौं उपत्यकाका जामयुक्त क्षेत्र सुधार्न जापानसँगको सहकार्य महत्वपूर्ण रहेको भन्दै, परियोजनाले राजधानीको यातायात व्यवस्थापनमा दीर्घकालीन परिवर्तन ल्याउने विश्वास व्यक्त गरे।
समारोहमा अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, जापानी दूतावास र जाइका नेपालका वरिष्ठ अधिकारीको उपस्थिति रहेको थियो।
क्याटेगोरी : समाचार



















प्रतिक्रिया