Techie IT
Samayabaddha
आईतबार, २८ मंसीर, २०८२

कार्की आयोगमा अब बयानको पालो उच्च पदस्थहरुको


काठमाडौं । जेनजी विद्रोहको बेला सडकमा उडेको धुलो अझै पूर्ण रूपमा बसेको छैन । जेनजी आन्दोलनको बेला काठमाडौंमा लागेको आगोको धुवाँ त बिस्तारै हराउँदै छ, तर सत्यको खोजी भने अझै बाक्लिँदै गएको छ । आयोगको कक्षमा हरेक दिन एकै प्रश्न उठ्ने गर्छ– “त्यो दुई दिन (भदौ २३ र २४ मा) वास्तवमा के भयो ?” यो प्रश्नले आयोगमा वयान दिनेहरुको तनाव दिनदिनै बढिरहेको छ ।

आयोगको समयसीमा साँघुरिदै जाँदा, देशका ठूला–ठूला पदमा बसेका अधिकारीहरूको बयान लिने क्रम अझै सिध्दिएको छैन । आयोगले बयान लिने पालो उच्च पदस्थअधिकारीहरुको आउँदै गर्दा सम्पूर्ण नेपालीहरुको ध्यान पनि आयोगप्रति तानिएको छ । जसको दिनदिनै बजारमा चर्चा परिपर्चा निम्त्याइरहेको छ ।

यसै क्रममा आज आयोगमा बयानको ढोका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको लागि खुल्दैछ । भदौ २४ को बिहान जसले रानीपोखरीमा नयाँ कमाण्ड सम्हाले, आज उनी त्यही घटनाको बयान गर्न आयोगमा उपस्थित हुँदैछन् ।

यसअघि आयोगले पूर्व आईजिपी चन्द्रकुवेर खापुङ, पूर्व गृहसचिव गोकर्णमणी दुवाडीलाई बयान लिइसकेको छ । बिहीबार सुरु भएको उनीहरूको बयान अझै टुंगिएको छैन । आज पनि उनीहरूलाई बोलाउने तयारी छ ।
उनीहरूको बयान सकिएपछि मात्र घटनाको तथ्य बाहिर आउने अपेक्षा गरिएको छ । तर आयोगले प्राप्त बयान अहिले सार्वजनिक गरेको छैन ।

काठमाडौँका तत्कालीन सिडियो छवि रिजाल, मुख्यसचिव, सशस्त्र प्रहरी आईजिपी राजु अर्याल, नेपाल प्रहरीका ओम राना, एसएसपी राजेश उप्रेति र एसएसपी विश्व अधिकारी धेरैजनाले आयोगमा आफ्नो वयान दिइसकेका छन् ।

आयोगको वयानको लक्ष्य अब ठूला अनुहारतर्फ फर्कँदैछ । तीनजनाको बयान टुंगिएपछि पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका ढोका ढक्ढक्याउने योजना बनेको छ । लेखक त बयान दिन तयार रहेको संकेत दिइसकेका छन्, तर ओली भने नजाने हठ लिएर बसेका छन् । ओलीको यो हठले एमालेभित्र नै मत विभाजन भइरहेको छ । आयोगले भने उनीहरूलाई पत्र पठाउने तयारी गरिरहेको छ ।

असोज ९ मा बनेको आयोगलाई दिइएको तीन महिनाको समय अब अन्तिम किनारामा पुगेको छ । आयोगले लिने बयान पूरा नभए वा प्रतिवेदन तयार नहुने स्थितिमा म्याद थपिने सम्भावना प्रवल छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट