Techie IT
Samayabaddha
बिहीबार, २४ पुस, २०८२

राष्ट्रिय सभा निर्वाचनः काँग्रेस ९, एमाले ८ र लोसपालाई १ सिटमा उम्मेद्वारी दर्ता


काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संयुक्त रूपमा प्रतिष्पर्धा गर्ने भएका छन् । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तीन दलबिच तालमेल गरी निर्वाचनमा जाने निर्णय गरेअनुसार उम्मेद्वारी दर्ता भएको बताइएको छ । यद्यपि यस गठबन्धनको निर्णयप्रति नेपाली कांग्रेसका महामन्त्री द्वय गगन थापा र विश्वप्रकास शर्माको सहमति नरहेको जनाइएको छ ।
काँग्रेसले पाएको ९ सिटमध्ये कोशी प्रदेशबाट सुनिल थापा उम्मेदवार छन् । मधेस प्रदेशतर्फ दलित र अल्पसंख्यक समूहका लागि काँग्रेसले उम्मेदवारी दिएको छ ।

अल्पसंख्यकतर्फ रञ्जित कर्ण र दलिततर्फ रौतहटका धमेन्द्र पासवानलाई अघि सारिएको छ । वागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट चन्द्रबहादुर केसी र वासुदेव जंगली, कर्णाली प्रदेशबाट ललितजंग शाही तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपासँग सहमती हुन नसकेपछि काँग्रेस र एमालेले लोसपासँग तालमेल गर्दै निर्वाचनमा जाने निर्णय गरेको हो ।

राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमालेले ८ जना उम्मेदवारी दर्ता गराएको छ । कांग्रेस र जसपा नेपालसँगको भागबण्डा सहमतिअनुसार एमालेले ८ सिटमा उम्मेदवारी दिएको छ ।

जसअनुसार एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेललाई उम्मेदवार बनाएको छ । यस्तै मधेस प्रदेशबाट रेखा झा, बागमतीबाट प्रेम दंगाल र गण्डकी प्रदेशमा सम्झना देवकोटाले उम्मेदवारी दिएका छन् ।

यसैगरी एमालेले लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लिला भण्डारीलाई उम्मेदवार बनाउएको हो । उम्मेदवारहरुले आज पौष २३ गते नै उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेस र एमाले गठबन्धनबाट बाहिरिएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले छुट्टै उम्मेदवार खडा गरेको छ । नेकपाले मतभार अनुसार कम्तीमा चार सिटको दाबी गरेको थियो । तर त्यसमा सहमति हुन नसकेपछि सातै प्रदेशमा उम्मेदवारी दिएको छ ।

नेकपा स्रोतका अनुसार कोशी प्रदेशमा दलिततर्फ खेमराज सुन्दास, महिलातर्फ नमिता न्यौपाने र अन्यतर्फ दामोदर घिमिरे छानिएका छन् ।

लुम्बिनीमा अन्यतर्फ बृहस्पति अधिकारी, अपांगतातर्फ सर्जन विक र महिलातर्फ दुर्गा भण्डारीको उम्मेदवारी टुंगो लागेको छ ।

यस्तै कर्णालीमा अन्यतर्फ बुद्धि प्रसाद शर्मा र महिलातर्फ अञ्जु महतराको नाम टुंगो लागेको छ ।

सुदूरपश्चिममा अन्यतर्फ टिकाराम जैशी र महिलातर्फ रोजी बस्नेत सुनार, बागमतीमा अन्यतर्फ प्रेम सापकोटा, सरोज कुमारी झा (महिला) र मधेसमा दलित कोटाबाट शम्भु पासवान, अल्पसंख्यकबाट रामनन्दन प्रसाद, अन्यबाट लक्ष्मण पौडेल र मधेसी कोटाबाट समी कुमारी अग्रवाल र गण्डकीमा अन्यतर्फ कपिल लामाले उम्मेद्वारी दिएका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट