नेपालमा शिशु मृत्युदर : सुदूरपश्चिम उच्च, बागमती न्यून
काठमाडौं । नेपालमा नवजात शिशु, शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी र बागमती प्रदेशमा सबैभन्दा कम रहेको पाइएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको चौथो नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ अनुसार सुदूरपश्चिममा नवजात शिशु मृत्युदर प्रतिहजार जीवित जन्ममा २६ रहेको छ, भने बागमतीमा यो दर १० मात्र छ।
सर्वेक्षणले देखाएअनुसार नेपालमा प्रतिहजार जीवित जन्ममा औसत २७ शिशुको एक वर्ष नपुग्दै मृत्यु हुने गरेको छ। पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३१ र एक महिनाभित्रका नवजात शिशुको मृत्युदर १७ रहेको छ।
प्रदेशगत रूपमा हेर्दा शिशु मृत्युदर सुदूरपश्चिममा सबैभन्दा बढी प्रतिहजार ३८ र सबैभन्दा कम बागमतीमा १७ रहेको छ। पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरसमेत सुदूरपश्चिममा प्रतिहजार ४८ रहेको छ, जुन सबैभन्दा उच्च हो। सबैभन्दा कम गण्डकी प्रदेशमा प्रतिहजार २० रहेको तथ्यांकले देखाएको छ।
शहरी–ग्रामीण तुलनामा नवजात शिशुको मृत्युदर शहरी क्षेत्रमा प्रतिहजार १६ र ग्रामीण क्षेत्रमा १९ रहेको छ। पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर शहरी क्षेत्रमा ३१ र ग्रामीण क्षेत्रमा ३० रहेको छ।
लैङ्गिक आधारमा हेर्दा नवजात, शिशु र बालमृत्युदर सबैमा बालकको मृत्युदर बालिकाभन्दा केही बढी देखिएको छ। प्रतिहजार जीवित जन्ममा एक महिनाभित्र १८ बालक र १५ बालिकाको मृत्यु हुने गरेको छ।
महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीय स्तरमा अनुगमन, मूल्यांकन र योजना तर्जुमा गर्न यो सर्वेक्षण गरिएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ। सर्वेक्षणका लागि देशभरका ५४० गणना क्षेत्रबाट १२ हजार ९६० परिवार छनोट गरी तथ्यांक संकलन गरिएको थियो।
दीगो विकास लक्ष्यअनुसार नवजात शिशु मृत्युदर प्रतिहजार १२ र पाँच वर्षमुनिको बालमृत्युदर प्रतिहजार २५ भित्र झार्ने लक्ष्य लिइएको छ।
क्याटेगोरी : प्रदेश खबर, समाचार


















प्रतिक्रिया