Techie IT
Samayabaddha
शुक्रबार, २२ फागुन, २०८२

मध्यपूर्व तनावको असर : नेपालका १८ उडान रद्द, करिब ३ हजार यात्रु प्रभावित


काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानहरू व्यापक रूपमा प्रभावित भएका छन्। इजरायल र इरान बीचको द्वन्द्वले हवाई मार्ग असुरक्षित बन्दा शनिबार मात्रै नेपालका १८ वटा उडान रद्द भएका हुन्। यसबाट करिब तीन हजार यात्रु प्रभावित भएका छन् ।

रद्द हुने उडानमध्ये नेपाल एयरलाइन्स का काठमाडौंबाट दमाम, दोहा र दुबई जाने तीन उडान परेका छन्। ती उडानमा करिब ५०० यात्रु रहेका थिए।

त्यस्तै कतार एयरवेज का चार उडान रद्द हुँदा झन्डै ८०० यात्रु प्रभावित भए। फ्लाइ दुबई का चार उडान रद्द हुँदा करिब ६०० यात्रुले यात्रा स्थगित गर्नुपरेको छ।

यसैगरी एयर अरेबिया का शारजाहतर्फका दुई उडान रद्द हुँदा करिब ३०० यात्रु प्रभावित भए भने हिमालय एयरलाइन्स का दमामतर्फका तीन उडान रद्द हुँदा करिब ५०० यात्रु अलपत्र परे। कुवेत जाने दुई उडान रद्द हुँदा थप ३०० यात्रु प्रभावित भएका छन्।

उडान रद्द भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा यात्रुको भीड लागेको थियो। घन्टौंसम्म प्रतीक्षा गरेपछि धेरै यात्रु घर फर्किन बाध्य भएका थिए।

उता विश्वकै व्यस्तमध्ये एक मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थल समेत अस्थायी रूपमा बन्द भएको जनाइएको छ। खाडी क्षेत्रका विभिन्न विमानस्थलहरू प्रभावित भएपछि त्यसको प्रत्यक्ष असर नेपालका उडानमा परेको हो।

आइतबार पनि कतार, कुवेत, दुबई, शारजाह, अबुधाबी, साउदी अरबका दमाम र रियाद गन्तव्यका उडानहरू प्रभावित हुनसक्ने बताइएको छ। यद्यपि टर्किस एयरलाइन्स का उडान भने नियमित सञ्चालनमा रहेको जनाइएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट