Techie IT
Samayabaddha
सोमबार, २ चैत्र, २०८२

मजदुरको पसिनाको बचत अलपत्र, सहकारी बन्द हुँदा नेतृत्व मौन


काठमाडौं । एयरपोर्ट ढुवानी क्षेत्रमा कार्यरत मजदुरहरूले पसिनाले कमाएर सहकारीमा जम्मा गरेको बचत रकम फिर्ता नपाएपछि चिन्तित बनेका छन्। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द रहेपछि उनीहरूको बचत रकम फिर्ता हुने–नहुने अन्योल बढेको हो।

तत्कालीन माओवादी केन्द्र निकटका धेरै मजदुरहरूले आफ्नै पार्टीसँग सम्बद्ध ट्रेड युनियनका नेताहरूको विश्वासमा भविष्य सुरक्षित हुने अपेक्षासहित उक्त सहकारीमा रकम जम्मा गरेका थिए। वर्षौँको मेहनतबाट संकलन गरेको रकम सुरक्षित रहने विश्वास राखे पनि अहिले भने सहकारी बन्द भएपछि आफ्नो बचत जोखिममा परेको गुनासो उनीहरूले गरेका छन्।

काठमाडौंको सुविधानगर–तीनकुनेस्थित सहकारीको कार्यालयमा अझै साइनबोर्ड टाँगिएको देखिए पनि कार्यालय भने लामो समयदेखि बन्द अवस्थामा रहेको बताइएको छ। कार्यालय बन्द भएपछि बचत फिर्ता पाउने आशा झन् कमजोर बन्दै गएको मजदुरहरूको भनाइ छ।

यस विषयमा सहकारीका प्रमुख कार्यकारी अधिकृत रमेश थापासँग प्रतिक्रिया माग्दा उनले संस्थाका हर्ताकर्ता तथा ट्रेड युनियन नेता प्रकाश श्रेष्ठसँग नै जानकारी लिन आग्रह गरे। सहकारी सञ्चालन र व्यवस्थापनसम्बन्धी विषयमा श्रेष्ठ नै जिम्मेवार रहेको भन्दै उनले थप टिप्पणी गर्न चाहेनन्। यद्यपि, पटक–पटक सम्पर्क गर्न खोज्दा श्रेष्ठ भने सम्पर्कमा आउन चाहेनन्।

बचत रकम फिर्ता पाउने आशामा मजदुरहरूले वर्षमान पुन र गणेशमान पुनलाई समेत बारम्बार गुहारिरहेको बताएका छन्। सहकारी सञ्चालनमा उनीहरूको पहुँच पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्म रहेको दाबी गर्दै मजदुरहरू एकपटक प्रचण्डलाई नै भेट्ने तयारीमा रहेको बताइएको छ।

सहकारी बन्द भएसँगै बचत रकम फिर्ता हुनेमा अन्योल बढ्दा धेरै मजदुर आर्थिक चिन्तामा परेका छन्। उनीहरूका अनुसार सुरक्षित भविष्यको आशामा सहकारीमा राखिएको रकम अहिले भने बन्द कार्यालयको ढोकाभित्र थुनिएको जस्तो महसुस भइरहेको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट