Techie IT
Samayabaddha
शुक्रबार, १९ वैशाख, २०८२

राजीनामा नदिई बालुवाटारबाट फर्किए रास्वपाका मन्त्री


काठमाडौं । राजीनामा बुझाउन बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरु प्रधानमन्त्रीको आग्रहपछि राजीनामा नदिई फर्किएका छन् । मन्त्रीहरु राजीनामा पत्र बोकेरै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । रास्वपाका सभापति तथा सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहितका मन्त्रीहरु राजीनामा नदिइकनै सिंहदरबार फर्किएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले रास्वपासँग सहयोग माग्नुभएको र प्रधानमन्त्रीले विश्वासको मतको सामना गर्ने भनेसँगै आफूहरुले संविधानले दिएको प्रधानमन्त्रीको अधिकारलाई समर्थन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए । उनले छलफलमा प्रधानमन्त्रीले पछिल्लो परिस्थितिको समग्र विश्लेषण गरेका थिए । प्रधानमन्त्रीले आफूले संवैधानिक अधिकारको प्रयोग गर्ने र त्यसमा रास्वापको सहयोग चाहिने बताएपछि छिटो विश्वासको मत लिने व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह गरेको बताए ।

प्रतिनिधि सभाका रास्वपाका प्रमुख सचेतक परियारले अहिलेको परिस्थिति रास्वपाले राम्रो काम गरेको कारणले आएको बताए । सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।

बुधबार नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै मन्त्रीहरुले पनि सामूहिक राजीनामा बुझाएका थिए ।

नेकपा एमालेले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट