Techie IT
Samayabaddha
शनिबार, २७ वैशाख, २०८२

कांग्रेसको ध्यानाकर्षण: सभापति देउवाको नक्कली प्रेस विज्ञप्ति प्रकरणमा दोषीलाई कारबाहीको माग


काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरसमेत भएको नक्कली प्रेस विज्ञप्ति सार्वजनिक भएको भन्दै गम्भीर आपत्ति जनाएको छ। कांग्रेसले यो प्रकरणलाई गठबन्धन सरकारबारे अन्योल सिर्जना गर्ने र जनतालाई भ्रमित बनाउने कुत्सित मनसायबाट गरिएको दुष्प्रयास भनेको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी ‘गम्भीर ध्यानाकर्षण’ विज्ञप्तिमा नक्कली प्रेस विज्ञप्ति सार्वजनिक भएको घटनाले नेपाली राजनीतिलाई तरङ्गित बनाउन खोजिएको र गठबन्धन सरकारबारे भ्रम छर्ने उद्देश्य राखिएको आरोप लगाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “नेपाली कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सञ्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। यस्तो गलत काममा संलग्न दोषीलाई खोजेर कानूनी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरिन्छ।”

कांग्रेसले हतास मनस्थितिबाट गरिएको यस्तो कार्यको निन्दा गर्दै गैरकानूनी क्रियाकलापमा संलग्न जो कसैलाई कानूनी दायरामा ल्याउन जोडदार माग गरेको छ। साथै, यस्ता भ्रमित गतिविधिबाट प्रभावित नहुन सबैलाई आग्रहसमेत गरेको छ।

सामाजिक सञ्जालमा देखिएको नक्कली प्रेस विज्ञप्तिले गठबन्धनभित्र खलल पुर्‍याउने उद्देश्यले अफवाह फैलाउने प्रयास भएको कांग्रेसको ठहर छ। पार्टीले यस्ता कार्यको तुरुन्त छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायलाई आह्वान गरेको छ।

कांग्रेसले जारी विज्ञप्तिमा उल्लेख छ, “यस्ता गैरजिम्मेवार र भ्रामक गतिविधिले लोकतान्त्रिक प्रक्रियामा नकारात्मक प्रभाव पार्न सक्छ। त्यसैले सबैले यस्ता भ्रमबाट सचेत रहनुपर्छ।”

कांग्रेसले यस घटनालाई गम्भीरतापूर्वक लिँदै जनतालाई सत्यतथ्य जानकारी दिन पनि प्रतिबद्धता व्यक्त गरेको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट