राष्ट्रिय जनमोर्चाले आगामी चैत्रमा संघीयताविरुद्ध आन्दोलन गर्ने

काठमाडौं, ९माघ । राष्ट्रिय जनमोर्चाले आगामी चैत्र २४ देखि ३० सम्म काठमाडौंमा संघीयताविरुद्ध राजधानीकेन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ । देशमा संघीयता जनताको माग र देशको ऐतिहासिक र राष्ट्रिय आवश्यकताका आधारमा नआएको भन्दै खारेजीको मागसँगै आन्दोलन गर्न लागिएको जनमोर्चाको दावी छ ।
बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले विदेशी शक्तिको दबाबमा संघीयता ल्याइएको दावी गरे । सोहीकारण नेपालले संघीयता धान्न नसक्ने उनको भनाइ छ । संघीयताका कारण देशमा राष्ट्रिय विखण्डन हुने र देशको अखण्डतामा आघात पुग्ने खतरासँगै देशमा जातिवाद बढ्दै जाँदा जातीय वैमनस्यता बढेर गएको उनको दावी छ ।
‘संघीयताको प्रधान पक्ष प्रादेशिक संरचना नै हो । प्रशासकीय रूपमा प्रादेशिक संरचना आवश्यक र सही दुवै छ । तर प्रादेशिक संरचनाको संघीय पक्ष खारेज हुनुपर्छ । अहिले प्रादेशिक संरचनामा खर्च भइरहेको ठूलो धनराशी देशका लागि अनावश्यक आर्थिक बोझ हो,’ उनले भने ।
संघीयता कार्यान्वयनमा भइरहेको खर्चबाट शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउन सकिने उनले तर्क गरे । त्यसबाट देशको विकासमा पनि धेरै मदत पुग्ने उनको भनाइ छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया