माओवादी अरुको वैशाखी टेक्ने होइन, बरु अरूलाई टेकाउने पार्टी हो : प्रचण्ड

घोराही, १२ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओेवादी एक्लै निर्वाचन लड्ने बताएका छन् । प्रेस सेन्टर दाङले शनिबार घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै अध्यक्ष प्रचण्डले निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न माओवादी सक्षम रहेको बताएका हुन् । माओवादीले अहिले सत्ताभन्दा पनि जनतालाई प्राथमिकतामा राखेर देशव्यापी रुपमा सुशासन, समृद्धिको अभियान चलाएको भन्दै अध्यक्ष प्रचण्डले अभियानका क्रममा देखिएका जनता शक्ति भएको बताए ।
आगामी निर्वाचनमा कुनै पार्टीसँग सहकार्य वा तालमेल गर्ने अवस्था नरहेको स्पष्ट पार्दै अध्यक्ष प्रचण्डले भने, ‘‘माओवादीलाई एक्लै निर्वाचन लड्न नसक्ने पार्टी भन्ने आरोपलाई चिर्नका लागि एक्लै निर्वाचनमा जान्छ, कसैको साथ लिँदैन । माओवादी अरुको वैशाखी टेक्ने होइन, बरु अरूलाई टेकाउने पार्टी हो ।’’
अध्यक्ष प्रचण्डले माओवादीले एक्लै निर्वाचन लड्नका लागि गएको उपनिर्वाचनबाट अभ्यास सुरु गरिसकेको र उपनिर्वाचनले राम्रो सङकेत गरेको बताए । अध्यक्ष प्रचण्डले माओवादी सत्ता प्राप्तिको पक्षमा नरहेको भन्दै पार्टीको प्राथमिकता सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि भएको बताए । देशमा सुशासन, सामाजिक न्याय र र समृद्धिका लागि माओवादीलाई स्पष्ट बहुमत आवश्यक रहेको बताउनुभएको थियो । माओवादी अरू पार्टी जस्तो नभएको दाबी गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘‘माओवादी सत्ताका लागि मरिहत्ते गर्ने पार्टी होइन फरक पार्टी हो । कामबाट नै त्यो पुष्टि भइरहेको छ । माओवादीले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिलाई मुख्य मुद्दा बनाएर अघि बढेको छ । सत्ताको खेलमा छैन ।’’
क्याटेगोरी : राजनीति
प्रतिक्रिया