Techie IT
Samayabaddha
बुधबार, ३१ वैशाख, २०८२

अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन, जनार्दन शर्माको शुभकामना


काठमाडौं  / अखिल क्रान्तिकारीको निर्वाचन सम्पन्न भएसँगै विद्यार्थी संगठनको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गरिएको छ । ३२ वर्ष उमेरहदको नीति अवलम्बन गरिएका कारण नयाँ पुस्ताले संगठनको नेतृत्व सम्हाल्ने अवसर पाएको हो ।

पूर्व अर्थमन्त्री तथा माओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ ले निर्वाचन सफल भएकोमा बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनले प्रतिस्पर्धात्मक प्रकृयाबाट चयन भएका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिंदै यसलाई माओवादी आन्दोलनका लागि सकारात्मक संकेतको रूपमा व्याख्या गरेका छन् ।

उनले शुभकामना सन्देशमा पूर्ण लोकतन्त्रको पक्षधर माओवादी पार्टी र जनसंगठनभित्र आन्तरिक लोकतन्त्रलाई अझै सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् । उनले निर्वाचन प्रक्रियालाई स्वच्छ, निष्पक्ष र प्रतिस्पर्धात्मक बनाउन निर्वाचन आयोगको भूमिकालाई सराहना गर्दै भविष्यमा पनि यस्तो प्रक्रिया कायम रहनुपर्ने बताएका छन् ।

यस अवसरमा उनले पराजित उम्मेदवारहरूलाई जनवादको मर्मअनुसार निर्णय स्वीकार गर्न आग्रह गरेका छन् । साथै, हार जीतलाई लिएर कुनै नकारात्मक सोच नराखी संगठनको सुदृढीकरणमा लाग्नुपर्ने उनको धारणा छ ।

शर्माले विद्यार्थी संगठनको नयाँ नेतृत्वलाई शैक्षिक सुधार तथा विद्यार्थी आन्दोलनलाई सशक्त बनाउन सफलताको शुभकामना दिएका छन् ।

 

 

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट